राष्ट्रिय औषधि नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय औषधि नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई

प्रशान्त माली

काठमाडौँ — सरकारले जनताको हित र राष्ट्रको स्वार्थ केन्द्रमा राखेर तर्जुमा गर्नुपर्ने नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिएको छ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय औषधि नीतिको मस्यौदाको जिम्मा नेपालस्थित अमेरिकी गैरसरकारी संस्था मेडिसिन्स, टेक्नोलोजिज एन्ड फर्मास्युटिकल सर्भिसेस् (एमट्याप्स) लाई दिएको हो । 

‍सरकारले राष्ट्रिय औषधि नीति २०५१ र औषधि ऐन २०३५ संशोधन गरेर यसको दायरा बढाउने तयारी थालेको छ । नागरिक समाज, सरोकारवाला तथा विशेषज्ञसँग छलफल, कानुन कार्यान्वयनको अवस्थासमेत विश्लेषण गरी निर्माण गर्नुपर्ने नीति सुटुक्क एउटा संस्थालाई दिएको भन्दै आलोचना भएको छ । यसले स्वदेशी औषधि उत्पादकलाई प्रोत्साहन गर्नेभन्दा पनि विदेशी कम्पनीमाथिको परनिर्भरता बढाउने सरोकारवालाको चिन्ता छ ।

स्वास्थ्य मन्त्रालयले औषधि नीति तयार पार्ने जिम्मा गैरसरकारी संस्थालाई दिनु कानुनविपरीत पनि छ । कानुन तर्जुमा दिग्दर्शन २०६६ को दफा १ (३) मा उल्लेख भएअनुसार नीति निर्माण गर्ने निर्णय मूलतः राजनीतिक प्रकृतिको अधिकार हो ।

मुलुकको शासन सञ्चालन क्रममा नीति निर्माण र स्वीकृत गर्ने राजनीतिक प्रकृतिको अधिकार सरकारमा रहने उल्लेख छ । तर, औषधि नीति तयार पार्ने भनी स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलको अध्यक्षतामा ५ जना र मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको अध्यक्षतामा ७ जनाको प्राविधिक कार्यसमिति गठन गरिएको छ । तैपनि मस्यौदा तयार पार्ने जिम्मेवारी एमट्याप्सलाई दिइएको हो ।

जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले सरकार आफैंले स्वार्थको परित्याग, जनतालाई केन्द्रबिन्दुमा राखेर निर्माण गर्नुपर्ने बताए । ‘त्यस्तो कानुनको पालना र कार्यान्वयनमा सहजता तथा कानुनी शासनको उद्देश्य प्राप्त हुन्छ,’ उनले भने ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले भने मस्यौदा तयार पार्न मन्त्रालयमा समिति भत्ता खान र विदेश भ्रमण गर्नका लागि मात्र बनाइएको आरोप लगाए । ‘मुलुकको औषधिसम्बन्धी वास्तविक समस्याको पहिचान, विगतको अनुभव, वर्तमानको आवश्यकता र भविष्यको सोचाइका आधारमा मन्त्रालय आफैंले तर्जुमा गर्नुपर्छ,’ उनले भने, ‘यो नीति औषधि ऐन बनाउने मार्गदर्शन पनि हो ।’

स्वास्थ्य मन्त्रालयले भने औषधि क्षेत्रको वृत्तिविकास गर्न नीति ल्याउन खोजेको बताएका छन् । स्वास्थ्य सचिव डा.पोखरेलले मस्यौदा अरूले तयार पारे पनि अन्तिम रूप दिने आफूहरू नै भएको तर्क गरे । ‘हामीसँग जनशक्ति अभाव पनि छ,’ उनले भने, ‘यसरी नीति अरूलाई बनाउन दिएको यो पहिलो पटक होइन ।’

उनका अनुसार औषधिको समुचित प्रयोग कसरी बढाउन सकिन्छ भनेर वर्क आउट भइरहेको छ । ‘हाम्रो अबको मुख्य योजना भनेको औषधि नीति ल्याउने र औषधि ऐन संशोधन गर्ने हो,’ उनले भने । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.लोहनीले यसबारेमा केही प्रतिक्रिया दिन चाहेनन् ।

नीति तयार पार्न सरोकारवाला पक्षसँग पनि कुनै छलफल गरिएको छैन । यता, लामो समयदेखि औषधिहरूको मूल्य निर्धारण हुन सकेको छैन । हालसम्म १ सय १७ थरीका औषधिको मात्रै मूल्य निर्धारण भएको छ । बजारमा एक हजारभन्दा बढी प्रकारका औषधि छन् ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले बढ्दो सहभागितामा नीति निर्माण गर्नुपर्नेमा आफूलाई कुनै जानकारी नगराएको भनी गुनासो गरे । ‘प्रत्यक्ष सरोकारवाला राख्ने पक्ष भएकाले हाम्रो महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।

प्रकाशित : पुस १३, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

आवासीय चिकित्सक तनावमा

कामको चाप खेप्न बाध्य आवासीय चिकित्सकहरु पाँच महिनादेखि निर्वाह भत्ता नपाउँदा थप समस्यामा
प्रशान्त माली

काठमाडौँ — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा रहेका आवासीय चिकित्सक किरण श्रेष्ठको मंसिर २१ मा निधन भयो । मृत्युका विभिन्न कारणमध्ये कामको चाप मुख्य रहेको भन्दै प्रतिष्ठानका आवासीय चिकित्सक अहिले १० बुँदे माग राखेर आन्दोलनमा छन् । आवासीय चिकित्सक बिरामीको सेवामा अहोरात्र खटिनुपर्ने, सेवा प्रवाहकै क्रममा विभिन्न रोग लाग्ने र आकस्मिक मृत्यु हुने जोखिम उत्तिकै रहेको उनीहरूको भनाइ छ ।

देशभरका प्रतिष्ठान, मेडिकल कलेज र अस्पतालमा कार्यरत आवासीय चिकित्सकको कामको चापका कारण भएको शारीरिक तथा मानसिक स्वास्थ्यलाई मध्यनजर गरेर वैज्ञानिक तवरले ड्युटी समय निर्धारण गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटीका प्रस्तावित अध्यक्ष डा. हिमलाल भण्डारीले समयमा माग पूरा नगरे अस्पतालमा हडताल गर्न बाध्य हुने बताए । ‘अहिलेसम्म शान्तिपूर्ण ढंगबाट विरोध जनाउँदै आएका छौं, अति नै गरे आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प पार्न बाध्य हुनेछौं,’ उनले भने, ‘चिकित्सकहरू ३२ देखि ३६ घण्टासम्म निरन्तर खटिनुपर्छ । महिनामा दुई साता शनिबार त ड्युटी नै परेको हुन्छ ।’

मृतकको नाममा प्रतिष्ठानको पुस्तकालयको नामकरण गर्नुपर्ने, ड्युटी क्रममै निधन भएमा राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने सरह सेवासुविधा र जीवन बिमा गर्नुपर्नेलगायत माग उनीहरूले अघि सारेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले कामको चापका कारण मृत्यु भएको भन्ने आवासीय चिकित्सकको भनाई झुटो भएको बताए ।

‘मृतक डा. श्रेष्ठमा पहिल्यै मुटुको समस्या थियो । हृदयघातका कारण मृत्यु भएको हो,’ उनले भने, ‘कहींबाट पुष्टि गरेमा हामी जवाफ दिन तयार छौं ।’ उनका अनुसार स्नातकोत्तर मेडिकल शिक्षा (एमडी/एमएस कार्यक्रम) २०१७ मा व्यवस्था भएअनुसार स्नातकोत्तर आवासीय चिकित्सकले नियमित ड्युटीबाहेक सातामा दुई पटक २४/२४ घण्टाका दरले खटिनुपर्छ । ‘हामीले नियममा भएको ड्युटी मात्र लगाएका हौं,’ उनले भने, ‘नत्र कोर्स सक्काउन गाह्रो हुन्छ ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त स्वास्थ्य संस्थामा काम गर्ने वातावरण कस्तो हुनुपर्छ भन्नेबारे समीक्षा जरुरी भइसकेको बताउँछन् । ‘ड्युटीको कुरा घण्टाले मात्र निर्धारण गर्ने होइन । त्यहाँ बिरामीको चाप, काम गर्ने वातारण र जनशक्तिले पनि निधारण गर्छ,’ उनले भने, ‘तनावपूर्ण काम गर्नुपर्ने स्थितिको सन्दर्भमा ड्युटी आवरलाई मात्र सूचक मान्न सकिन्न ।’

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले कति ड्युटी गर्ने भन्ने कुरा पाठ्यक्रममै व्यवस्था हुने बताए । ‘ड्युटी कति लगाउने/नलगाउने भन्नेबारे हामी बोल्दैनौं,’ उनले भने । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मजदुर संगठनले सन् २०१६ मा विश्वव्यापी गरेको अध्ययनअनुसार कामको चाप (सातामा ५५ घण्टाभन्दा बढी) का कारण मुटुसम्बन्धी रोग लागेर ७ लाख ४५ हजार जनाको मृत्यु भएको थियो । युरोपियन युनियनको नियमअनुसार सातामा एक दिन बिदा र ४८ घण्टा मात्र ड्युटीमा खटाउनुपर्ने प्रावधान छ । तर, ९६ घण्टासम्म काममा खटिनुपर्ने आवासीय चिकित्सकहरूको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कुन्जन शेर्पा स्नातकोत्तर मेडिकल शिक्षा २०१७ मा व्यवस्था भएको ड्युटी समय वैज्ञानिक नभएको बताउँछन् । ‘मानसिक तनावका बेला गुणस्तरीय उपचार गर्न मात्र नभई उत्कृष्ट सल्लाह दिन पनि सकिँदैन,’ उनले भने, ‘चिकित्सक झर्किने कारण यसैले गर्दा हो ।’

कामको चाप खेपिरहेका आवासीय चिकित्सक निर्वाह भत्ता समयमा नपाउँदा थप तनावमा परेका छन् । अर्थ मन्त्रालयले हालै भत्ता वितरण गर्न बजेट स्वीकृत गरिसकेको बताए पनि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले अझै पाएका छैनन् । उनीहरूले साउनयता ५ महिनाको भत्ता पाउन बाँकी छ । महाराजगन्ज क्याम्पसमा एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच पर्ने पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययरत आवासीय चिकित्सक एक सय १६ जना छन् ।

महाराजगन्ज मेडिकल क्याम्पसले आयोगबाट भत्ताबापत चालू आर्थिक वर्षको मंसिरसम्म मात्रै ३९ करोड ८७ हजार रुपैयाँ लिन बाँकी छ । प्रशासनिक खर्चबापत आयोगले वार्षिक रुपमा दिने ४ करोड ६४ लाख रुपैयाँ पनि बाँकी छ । प्राडा गोविन्द केसीले गर्दा आवासीय चिकित्सकले २०७६/७७ बाट निर्वाह भत्ता पाउने व्यवस्था भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उस्तै समस्या छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा अध्ययनरत आवासीय चिकित्सकले त झन् ८ महिनादेखि भत्ता पाएका छैनन् ।

आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमन आर्चायले समयमा भत्ता उपलब्ध नगराएमा सेवा ठप्प पार्ने चेतावनी दिए । ‘अस्पतालमा सबभन्दा बढी जनशक्ति आवासीय चिकित्सक नै हुन् । २४ घण्टा खटिनु पर्छ, अन्य अस्पतालमा काम गर्न पाइँदैन,’ उनले भने, ‘समयमा रकम नपाउँदा परिवारका सदस्य बिरामी पर्दा वा कतै जानुपर्दा समस्या हुने गरेको छ ।’

आयोगका उपाध्यक्ष गिरीले साताभित्र भत्ता वितरण गरिसक्ने बताए । लामो समयसम्म बजेट नपाउँदा आवासीय चिकित्सकलाई तालिम, शैक्षिक कार्यक्रम र शिक्षकलाई भत्ता दिन पनि समस्या हुने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार डा. सुर्यप्रसाद संग्रौला बताउँछन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक प्राडाभरतबहादुर खत्रीले राम्रोसँग काम गर्ने वातावरण नै नभएको बताए । ‘कहिले बिमाको त कहिले कोभिडको रकम नपाएर हैरानी खेप्नुपर्‍यो । अहिले आवासीय चिकित्सकको समयमा रकम पाउन समस्या छ,’ उनले भने ।

प्रकाशित : पुस ७, २०७९ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×