कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रचण्डको सत्तारोहण अपेक्षित थिएन : शेखर कोइराला

'सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौं ।'

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले संसद्‍बाट नयाँ सरकारको नेतृत्वमा पुष्पकमल दाहालको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति दृष्टिकोण सार्वजनिक गर्दै नेता कोइरालाले संसदीय व्यवस्थामा यस्ता घटना असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने बताएका हुन् ।

प्रचण्डको सत्तारोहण अपेक्षित थिएन : शेखर कोइराला

प्रधानमन्त्री दाहाललाई बधाई दिँदै कोइरालाले भनेका छन्, 'संसद् नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।'

नेता कोइरालाले कांग्रेस नेतृत्वको गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदांगिएको बताएका छन् । कांग्रेस ठूलो दल भएर पनि विपक्षमा पुगेको उल्लेख गर्दै उनले भनेका छन्, 'गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदांगिएको छ । हामीबीच रहेको सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।'

पार्टीको गल्ती कमजोरीका कारण संघदेखि प्रदेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था आएको पनि नेता कोइरालाको भनाइ छ । नेता कोइराला भन्छन्, 'कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन । सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौं ।'

प्रकाशित : पुस ११, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?