एकीकृत समाजवादीका अध्यक्ष नेपाल डिस्चार्ज

रासस

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार डिस्चार्ज भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार देखिन थालेपछि नेता नेपाल बिहीबार पुस ७ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथग्रहण समारोहमा सहभागी हुनाका साथै हिजै बेलुका प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए ।

प्रकाशित : पुस ८, २०७९ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्

बारामा गोली प्रहारबाट एक भारतीयको मृत्यु

कान्तिपुर संवाददाता

बारा — बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ  । मृत्यु हुनेमा भारत विहार जिल्ला मोतिहारी छौडादानो बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । 

शुक्रबार साँझ बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नम्बर नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले शिवपुजनलाई बोलाई चिया पसलमा गोली हानि फरार भएको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते शिवपुजनलाई प्रहरीको सहयोगमा अस्पताल पुर्‍याएको प्रहरी उपरीक्षक बोगटीले बताए । शिवपुजनको निधन न्युरो अस्पताल भएको प्रहरीले जनाएको छ ।

मृतक शिवपुजन बिहीबार बरियापुर आफन्तकहाँ आएको प्रहरीले जनाएको छ । शिवपुजनसँग रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्नको खोजतलास तीव्र पारिएको उपरीक्षक बोगटीले भने ।

प्रकाशित : पुस ८, २०७९ २२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×