कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि कोभिड !

सतर्कता अपनाउन र स्वास्थ्य संस्था आवश्यक तयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह
अतुल मिश्र

काठमाडौँ — चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ डेस्क र स्वास्थ्य संस्थाले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कतालगायत आवश्यक तयारीका लागि सतर्क गराएको हो । 

फेरि कोभिड !

संक्रमण देखिएका मुलुकसँग समन्वय गर्दै निगरानी बढाउन सुरु गरिएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि, चीनलगायत मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सव–भेरिएन्ट ‘बीएफ–७’ नेपालमा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

चीनमा ओमिक्रोनको सब–भेरिएन्ट ‘बीएफ–७’ का कारण नयाँ लहर आएको जनाउँदै धुलिखेल अस्पतालका जिनोम सिक्वेन्स् ल्याबका प्रमुख डा.राजीव श्रेष्ठ भन्छन्, ‘यो भेरिएन्ट भारतको गुजरात र उडिसा राज्यमा पछिल्लो ६ महिनामा ४ जनामा पुष्टि भइसकेको छ ।’ सेल होस्ट एन्ड माइक्रोब जर्नलमा हालै प्रकाशित एक रिपोर्टअनुसार मुख्य भेरिएन्टको दाँजोमा ‘बीएफ–७’, सब–भेरिएन्टमा ४.४ गुणा बढीे ‘न्युट्रलाइजेसन रेसिस्टेन्ट’ क्षमता पाइएको छ । जसका कारण खोप वा प्राकृतिक संक्रमणबाट मानिसको शरीरमा विकसित कोरोनाविरुद्घको एन्टिबडीले ‘बीएफ–७’ लाई नष्ट गर्न कम सक्षम देखिएको छ । यसको संक्रमणबाट जोगिन बुस्टर डोजमा लिन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

‘न्युट्रलाइजेसन एन्टिबडी बढाउन बुस्टर डोज लिनु आवश्यक छ । त्यसैले अर्को कुनै भेरिएन्ट आयो भनेर त्रसित हुनुभन्दा पनि खोपमै जोड दिनुपर्छ,’ डा. श्रेष्ठले भने, ‘कोभिडविरुद्घको तेस्रो मात्रा धेरैले लिएका छैनन् ।’ चीनले आफ्नो मुलुकमा उत्पादित खोप मात्र उपयोग गरेको र त्यसको प्रभावकारिता ५० प्रतिशतभन्दा कम देखिएको डा. श्रेष्ठ बताउँछन् । ‘हामी कहँ उपयोग भएका अधिकांश खोपको प्रभावकारिता उच्च छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ करोड ३७ लाख ३६ हजार ४ सय मात्रा चीनमा उत्पादित भेरोसेल भित्रिएको छ । त्यसमध्ये ४२ लाख ८० हजार ९ सय ९६ मात्रा मौज्दात छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी तथा महामारी शाखाका प्रमुख डा. अभियान गौतमले बुस्टर डोज लगाउनेको संख्या कम भएकाले संक्रमणको जोखिम कायम रहेको बताए । ‘खोपको विकल्प छैन, यी सबै भेरिएन्टमा खोपले काम गर्छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७९ लाख ७२ हजार ७ सय ९१ जनाले मात्र खोपको अतिरिक्त मात्रा लिएका छन् । त्यस्तै कुल जनसंख्याको ७६.५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले खोपको पूर्ण मात्रा लिएका छन् । एक मात्रा खोप लगाउनेको संख्या २ करोड ३२ लाख ८ हजार ४ सय ८३ छ । यो कुल जनख्याको ७९.५ प्रतिशत हो । मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता ५ करोड ३५ लाख ६ हजार २३ सय ७ मात्रा खोप लगाइसकिएको छ ।

देशभर बिहीबार एन्टिजेन र पीसीआर गरी १ हजार १ सय ९० नमुना परीक्षण गर्दा एक जनामा मात्र संक्रमण देखिएको छ । १५ जना सक्रिय संक्रमित छन् । नेपालमा मुख्य रूपले ओमिक्रोनकै विभिन्न सब–भेरिएन्ट देखिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिङमा ओमिक्रोनका सब–भेरिएन्टहरू ‘बीए–२’, बीए–२.७५, बीए–२.७५.१, बीए–२.७५.२, बीए–२.७५.३, बीए–२.७५.५, बीए–२.७५.६, बीए–२.७६, बीए–५.२, बीए–५.२.१, बीएम–१, बीएम–१.१.३, बीएन–१.३, बीक्यू–१.१, बीक्यू–१.२, बीवाई–१, र एक्सबीबी पुष्टि भएका छन् ।

प्रकाशित : पुस ८, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?