स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान पुन- समाचार - कान्तिपुर समाचार

स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान पुन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन चीनमा उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् ।  स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् ।

उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा तारन्तार बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको छ । उपचारमा जानुअघि पुनको शरीरमा जन्डिस (बिलरुबिन) को मात्रा २७ विन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्यान्ड र पछि चीनमा उपचार गरिएको थियो । चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका छन् । स्वस्थ मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म ठीक मानिन्छ । उक्त मात्रा त्यसभन्दा माथि हुँदा मानिसमा जन्डिस रोग लाग्ने गर्छ । पुनमा भने बिलरुबिनको मात्रा कम्तिमा १० देखि १२ सम्म हुने गरेको छ ।

प्रकाशित : पुस ५, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

देउवा संसदीय दलको नेतामा उम्मेदवार होइन, प्रस्तावक बन्नुपर्छ : महामन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकका रूपमा आफूले हेर्न चाहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकका रूपमा हेर्न चाहेको बताएका हुन् ।

देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा काम गरे पनि पटक-पटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामको चर्चा हुन नसकेको महामन्त्री शर्माको भनाइ छ । प्रधानमन्त्री हुँदा देउवाले मुक्त कमैया, दलित, महिला, जनजातिलगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको उनले बताए । शर्माले प्रधानमन्त्री देउवासमक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रस्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताए ।

प्रकाशित : पुस ५, २०७९ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×