कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४
संयुक्त सैन्य अभ्यास

कोभिड-१९ पछि भारत र अमेरिकासँग पुनः सुरु, चीनसँग कहिले ?

काठमाडौँ — पछिल्लो १३ वर्षदेखि नियमित हुँदै आएको नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यासको १६ औं संस्करण रुपन्देहीमा शुक्रबारबाट सुरु भएको छ । उक्त अभ्यास दुई साता चल्नेछ । भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा दुई देशका सेनाबीच सन् २०२१ को सेटेम्बरमा कोभिड-१९ महामारीपछि पहिलो पटक भएको थियो । २०६७ सालबाट नेपाल र भारतले वार्षिक रुपमा आलोपालो गरी संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।

कोभिड-१९ पछि भारत र अमेरिकासँग पुनः सुरु, चीनसँग कहिले ?

त्यस्तै सन् २००३ देखि नेपाल–अमेरिकाबीच संयुक्त रुपमा हुँदै आए पनि कोभिड-१९ का कारण रोकिएको सैन्य अभ्यास गत वर्षबाट सुरु भएर २ पटक भइसकेको छ । कोरोनापछि सन् २०२१ नोभेम्बरमा दुई देशका सेनाबीच संयुक्त अभ्यास सम्पन्न भइसकेको छ भने पछिल्लो पटक सन् २०२२ को अगस्ट–सेटेम्बरमा दुई मुलुकबीच ३९ औं संयुक्त सैन्य अभ्यास भयो ।

तर‚ चीनले शून्य कोभिड-१९ नीति अवलम्बन गरेपछि हालसम्म नेपाल–चीन संयुक्त सैन्य अभ्यास सुरु हुन सकेको छैन । नेपालले सन् २०१७ मा चीनको जनमुक्ति सेनासँग नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास थालेको थियो । भारत र अमेरिकासँग सैन्य अभ्यास गरेकाले गर्दा नेपालले चीनसँग पनि संयुक्त अभ्यास थाल्यो‚ जसको पहिलो संस्करण नेपालमा भयो भने दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भएको थियो । तर‚ तेस्रो संस्करण कोरोना संक्रमणका कारण रोकिएको छ ।

सैनिक स्रोतका अनुसार नेपालले कोभिड-१९ संक्रमणमा कमी आएपछि भारत, अमेरिकासँगै चीनसँग पनि संयुक्त सैन्य अभ्यास गर्नका लागि आग्रह गरे पनि चीनले हालसम्म त्यसबारे आफ्नो प्रस्ट जवाफ पठाइसकेको छैन । नेपाली सेनाले काठमाडौंस्थित चिनियाँ दूतावासका सैनिक सहचारीलाई समेत पटक–पटक सैन्य अभ्यास गर्ने सम्बन्धमा जानकारी गराए पनि चीनबाट स्पस्ट जवाफ भने आएको छैन ।

नेपाली सेनाका अनुसार विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्योपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयहरू सैन्य अभ्यासमा समावेश हुन्छन् । सेनाहरूबीचमा संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा अभ्यास गर्ने गर्छन् । संयुक्त अभ्यासमा नेपाली सेना र अन्य मुलुकका सेनाहरूबीचमा सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदान-प्रदान हुन्छन् ।

अमेरिकी सेनाको विशेष फोर्स र नेपाली सेनाको महावीर बटालियनबीच सन् २०१५ को सेप्टेम्बरदेखि ‘ब्यालेन्स नेल’ नाममा संयुक्त अभ्यास सुरु भएको हो । सेनाका अनुसार ब्यालेन्स नेलको संयुक्त अभ्यास शृंखलामा भ्रमण आदान-प्रदान र प्रशिक्षण कार्यक्रमहरू सन् १९९० पछि नै दुई मुलुकबीच हुन थालेको हो । त्यसमा पनि विशेष गरी सन् २००३ मा नेपालमा माओवादी द्वन्द्वको उत्कर्ष भएको समयमा नेपाली सेनाको महावीर बटालियन र अमेरिकी सेनाबीच संयुक्त अभ्यास भएको थियो ।

नेपाली सेनाले सन् २००३ पछि ३० भन्दा बढी अमेरिकी सेनासँग र अमेरिकी हवाई फोर्ससँग संयुक्त अभ्यास गरिसकेको छ ।

प्रकाशित : पुस ४, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×