सुर्खेत — वीरेन्द्रनगरको एक सुविधासम्पन्न होटलमा मंगलबार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष भेला भएर लैंगिक हिंसा निवारणका विषयमा छलफल गर्दै थिए । त्यसैबेला सामाजिक सञ्जालमा एउटा विभत्स दृश्य भाइरल बन्यो ।
दृश्य थियो– पञ्चपुरी नगरपालिका– ३ तोक्माका अम्मरबहादुर आलेमगरले आफ्नी ३० वर्षीया श्रीमति मिना आलेको टाउको काटी प्लास्टिकको झोलामा राखेर बाटोमा हिँडिरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला कर्णालीमा यस्तै घटना धमाधम सार्वजनिक भइरहेका छन् । अभियान सुरु भएयता २८ वटा घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका डीएसपी सुरज कार्कीले पत्नीको टाउको काटेर बजारतर्फ जाँदै गरेका अम्मरलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको बताए । उनका अनुसार सात वर्ष मलेसियामा बसेर घर फर्केका अम्मरले पत्नीसँग सामान्य विवाद भएपछि हँसियाले टाउको काटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अम्मरले प्रहरीमा दिएको बयानमा आफूले ७ वर्षसम्म मलेसियामा कमाएको पैसा श्रीमतिले दुरुपयोग गरेकाले हत्या गरेको प्रहरी समक्ष बताएका छन् । घटना भाइरल भएपछि होटलहरुमा सीमित लैगिंक हिंसाविरुद्धका गोष्ठीहरू गाउँ गाउँमा लैजानुपर्ने भन्दै सुर्खेतकै मैना थापाले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिएकी छन् । दैलेखकी हेमा खड्काले पनि जहिलेसम्म महिला पुरुषलाई समान व्यवहार गरिँदैन र समाजमा हेरिँदैन तबसम्म यस्ता घटना घटिरहने बताइन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा १० जिल्लामा १ हजार १ सय १३ वटा मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले यस्ता घटना घट्न नदिन जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । गत वर्ष रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ कुरेलमा जेठाजुको छोराले आफ्नै काकी मनकला खत्रीलाई खुर्पा प्रहार गरी हत्या गरेका थिए । सामान्य विवादकै कारण उनले खुर्पा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ ।
मिना र सुकीको घटना मिल्दोजुल्दो
गत फागुन २४ गते नारी दिवसका दिन सुकी बडुवाल श्रीमानको अत्याचार सहन नसकेर कर्णालीको भंगालोमा ५ सन्तानसहित हाम फालिन् । ३५ वर्षीया सुकी बडुवाल उनका छोरीहरू १४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी र छोरा १० वर्षीय ललितलाई साथमा लिएर उनी कर्णालीमा हाम फालिन् । पाँचै जना डोरीले बाँधेकै अवस्थामा माछा मार्ने जालमा भेटिएका थिए ।सुकीका भतिजा कमल थापाले श्रीमानले नै मर्न बाध्य गराएको बताए । माइतीहरुले नै पहिलाको जस्तै मिलेर बस्न भन्दै घर पठाउँदा उनको ज्यान गएको उनले बताए । उनका अनुसार श्रीमान् मानसिंह बडुवालले मदिराले मातिएर श्रीमति र छोराछोरीलाई दैनिक कुटपिट गरेको कारण ज्यान गएको गाउँलेहरू बताउँछन् ।
गत वर्ष नै दैलेखको भैरवी गाउँपालिका–५ गैरीसल्लकी २६ वर्षीया हस्तना नेपाली ४ महिनाको सुत्करी अवस्थामै श्रीमानले जलाइदिए । श्रीमानको निरन्तर कुटपिट र यातनाबाट उनको सुत्केरी अवस्थामै आधा शरिर पूरै जल्यो । अहिले उनी अपांग जीवन बिताइरहेकी छन् । उनका श्रीमानको अगुल्टो प्रहार गर्दा उनको ढाड र दाइने गाला पूरै जलेको छ ।
महिला हिंसाका कार्यक्रम दिवस र गोष्ठीमै सीमित
सरकारी स्तरबाट जति महिला हिंसाविरुद्धमा अभियान र दिवस चलाए पनि कर्णाली प्रदेशमा घरेलु हिंसाका घटनाले विकाराल रुप लिन थालेको छ । कर्णाली प्रदेश प्रहरीको दुई वर्षको तथ्यांक हेर्ने हो भने घरेलु हिंसाका कारण २ सय ३१ जनाको ज्यान गएको छ । एकातिर घरेलु हिंसाका कारण महिलाको ज्यान धमाधम गएको छ भने प्रदेश सरकारका कार्यक्रमहरुमा वर्षेनि ठूलो रकम खर्च भइरहेको छ ।
सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसासम्बन्धी १६ दिने अभियान सञ्चालन गर्ने भन्दै कर्णालीका सबै जिल्लामा १/१ लाख रुपैयाँका दरले रकम विनियोजन गरेको छ । प्रदेशस्तरीय कार्यक्रममा भने खर्चका आधारमा रकम छुट्याइने बताइएको छ । सरकारी कार्यक्रमहरू वर्षेनि सञ्चालन भइरहे पनि व्यवहारिक रुपमा यस्ता कार्यक्रम प्रभावहीन बन्दै गएको स्थानीय अगुवा सविता शर्माले बताइन् ।
‘गोष्ठी तथा सेमिनार सञ्चालन गरेर मात्रै महिला हिंसा अन्त्य हुँदैन,’ उनले भनिन्, ‘वर्षमा एक दिन हस्ताक्षर गरेर महिला हिंसा अन्त्य गर्छौं भन्दा समस्या झन् विकाराल बन्दै गयो ।’ कर्णालीमा बालविवाह, लिंग परीक्षण गरी भ्रुण हत्या, दाइजो प्रथा, बहुविवाह, बहुपति प्रथालगायतले पनि महिला हिंसा बढाइरहेको उनको भनाइ छ ।
प्रकाशित : पुस २, २०७९ १९:२५