३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपति चयनको विषय महत्त्वपूर्ण : कांग्रेस महामन्त्री शर्मा

'अब बन्ने प्रधानमन्त्री २ वर्षका लागि मात्रै हो । लुकाउने अवस्था छैन । हामीले एक्लै विजय हासिल गरेका होइनौं, सबै दल हामीसँग छन्'

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने आफ्नो चाहना नरहेको बताएका छन् ।

प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपति चयनको विषय महत्त्वपूर्ण : कांग्रेस महामन्त्री शर्मा

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकांक्षा नरहेको स्पष्ट पारे । उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरू धेरै रहेकाले मन्त्री बन्न अरुलाई सहयोग गर्ने पनि बताएका थिए ।

महामन्त्री शर्माले सरकारमा मन्त्री बन्ने भन्दा पनि दूर दराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले कुनैबेला संसद्‍मा एक्लै दुईतिहाइ सिट जितेको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमति भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए ।

यस क्रममा उनले आफू अहिले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने पनि बताए । ‘सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकांक्षा राख्छन्, अनौठो कुरा होइन । अरु साथीहरुले राखिरहँदा त्यसमा म कुनै आलोचना गर्न पनि चाहन्न । तर विश्वप्रकाश शर्माले के बिर्सिनु हुँदैन भन्दा १ वर्ष मात्रै पुगेको छ, महामन्त्री भएको । अहिले मैले पार्टीमा गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । दूरदराजका साथीहरुको भावना बमोजिम काम गर्न बाँकी छ । सबै साथीले सरकारमा जानुपर्छ भन्ने होइन । एक्लै दुई तिहाइ ल्याएको कांग्रेस अहिले सबै मिलेर लड्दा पनि जम्मा ५७ सिट मात्रै ल्याइरहेको अवस्थामा चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला यो होइन । मैले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्नेदेखि लिएर ध्यान दिन उचित हुन्छ । सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्छ,’ महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा पनि राष्ट्रपति को बन्ने भन्ने धेरै महत्त्वपूर्ण रहेको बताए । अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने नाममा बिथोलिन दिन नहुने बताएका थिए ।

‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्त्वपूर्ण छ, त्योभन्दा धेरै महत्त्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ ? दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्था नै छैन । हामीले एक्लै विजय हासिल गरेका होइनौं, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु हुँदैन । भत्किन दिनु हुँदैन । मेरो मस्तिष्कमा राष्ट्रपति को बन्नुपर्छ भन्ने बारेमा त्यस्तो अनुहार छैन । तर राष्ट्रपति भवनमा आउँदै गर्दा के बिर्सिनु हुँदैन भने राष्ट्रपति भवनमा हामीले व्यक्ति होइन, प्रवृत्ति लिएर जाने हो । त्यो प्रवृत्ति राजतन्त्रकालीन भन्दा भिन्न हुनुपर्छ । तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसावले पनि फरक प्रस्तुति हुन सकोस् । राष्ट्रपतिमा कांग्रेसले पनि सहजतापूर्वक लिनसक्ने, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने नेतृत्व होस् । राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानिकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्नुपर्छ । अहिलेको राष्ट्रपतिले संविधान उल्लंघन गर्नुभयो,’ महामन्त्री शर्माले भनेका थिए ।

प्रकाशित : पुस २, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?