कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

राष्ट्रसंघीय महासभामा रुसी प्रस्ताव पक्षमा नेपालको मतदान

काठमाडौँ — नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा रुसले राखेको प्रस्तावको पक्षमा मतदान गरेको छ । रुसले नाजीवादीलाई गौरवान्वित गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा राखेको प्रस्तावमाथि गत राति मतदान भएको थियो ।

राष्ट्रसंघीय महासभामा रुसी प्रस्ताव पक्षमा नेपालको मतदान

प्रस्ताव पक्षमा नेपालसहित १ सय २० देशले मतदान गरेका छन् । अमेरिका, क्यानाडा, बेलायत, युक्रेन, फ्रान्स, इजरायल, नेदरल्यान्ड्स, नर्वे, जर्मनीसहित ५० वटा पश्चिमा देशहरुले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

दक्षिण एशियाबाट नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तानले प्रस्तावको पक्षमा मतदान गरेका छन् । अफगानिस्तान भने मतदान प्रक्रियामा अनुपस्थित रह्यो । त्यसैगरी इक्वेडर, म्यान्मार, पलाउ, पानामा, पपुवान्युगिनी, स्विट्जरल्यान्ड, समाओ मतदान प्रक्रियामा अनुपस्थित रहे ।

रुसले अघि सारेको प्रस्तावमा अहिलेको जातीवाद, अन्य जातीय भेदभाव, विदेशीलाई घृणा गर्ने र अन्य सम्बन्धित असहिष्णुतालाई बढावा दिन नाजीवाद, नवनाजीवाद र अन्य अभ्यासलाई गौरवान्वित गराउने कार्यलाई नियन्त्रण गर्ने प्रस्ताव रहेको छ ।

रुसले युक्रेनमाथि नवनाजीवादी भएको र पूर्वी क्षेत्रमा बस्दै रुसी मुल नागरिकमाथि भेदभाव गर्दै आरोप लगाउने गरेको छ । रुसले युक्रेनमाथिको आक्रमणको एउटा प्रमुख कारणको रुपमा प्रस्तुत गर्दै आएको छ । किभमाथि जातिवादी भएको आरोप मास्कोले लगाउँदै आएको छ । नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा आउने प्रस्तावको पक्षमा मतदान गर्ने गरेको छ ।

रुसले सन् २०१२ देखि प्रत्येक वर्ष महासभामा यो प्रस्ताव ल्याउने गरेको छ । गत डिसेम्बरमा भएको प्रस्तावको मतदानमा अमेरिका र युक्रेनले मात्रै विपक्षमा मतदान गरेका थिए ।

प्रकाशित : पुस २, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?