कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक पृष्ठभूमिभन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सोच्न सकिँदैन : महासचिव गुरुङ

काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । 

राजनीतिक पृष्ठभूमिभन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सोच्न सकिँदैन : महासचिव गुरुङ

मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाइ छ ।

संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पारे । राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदलभित्र कहीँकतै पनि कुरा नउठेको महासचिव गुरुङको दाबी छ ।

महासचिव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क समेत गर्नु गरे । ‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत यो कुरा सुनिराखिएको छ, आइराखेको छ । अव सुनेकै कुरा ठीक हो भने यो सोच, यो भिजन अहिलेको सिस्टमअनुकूलको भिजन होइन, दृष्टिकोण होइन । मल्टीपार्टी डेमोक्रेसीमा समाजमा रहेका विचारको आधारमा पार्टीहरु बन्छन् । त्यसकारणले विचारको आधारमा गर्ने भनेको नै सबैभन्दा वैज्ञानिक खालको विचार हो । सही पद्धति पनि हो । त्यसकारणले राजनीतिक पृष्ठभूमि, राजनीतिक विचारधारा, राजनीतिक मूल्य, मान्यता, आर्दशको आधारमा राइज भएका नेताहरुबाट नै मुलुकको अगुवा गर्न सक्छ, मुलुकको नेतृत्व गर्न सक्छ । राज्यका अंगहरुको नेतृत्व गर्न सक्छ भन्ने कुरा हो । यसको तात्पर्य दलका नेताहरुमा, राजनीतिक नेतृत्वहरुमा सीमारहित हुन्छन भन्ने होइन । सीमाहरु पनि हुन सक्छ । कमीकमजोरीहरु पनि हुन सक्छ । ती कमीकमजोरीका बाबजुद्त पनि अहिलेको सन्दर्भमा दलहरुको नेताहरुको विकल्प छैन । दलहरुको विकल्प छैन । दलीय प्रणालीको विकल्प छैन,’ उनले भने ।

महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताए । तर संसद्मा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनको भनाइ छ ।

माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकीरसमेत उनको छ । महासचिव गुरुङले मुलुकसामू चुनौती रहेकाले त्यसको सामना हुनेगरी सबै दलहरुले सहकार्य गरेर अघि बढ्नपर्ने अवस्था रहेको पनि बताए ।

सम्बन्धित समाचार

प्रकाशित : पुस १, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?