कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश संसदीय दल नेता बन्न दौडधुप

गठबन्धनबाट मुख्यमन्त्री बन्ने, त्यो सम्भव नभए सुविधाका लागि दलको नेता बन्ने कसरतमा प्रदेश सांसद
कलेन्द्र सेजुवाल

काठमाडौँ — प्रदेशमा सत्ता समीकरणको स्पष्ट चित्र नआउँदै मुख्यमन्त्रीका आकांक्षीले संसदीय दलको नेता बन्न दौडधुप सुरु गरेका छन् । बहुमत जुटे मुख्यमन्त्री बन्न सकिने, त्यो सम्भव नभए संसदीय दल नेताको सुविधा लिने मनसायका साथ उनीहरूले सम्बन्धित दलभित्र कसरत थालेका हुन् । 

प्रदेश संसदीय दल नेता बन्न दौडधुप

प्रदेश १ मा कांग्रेसका तीन समूहले संसदीय दलको नेतामा दाबी गरिरहेका छन् । शेखर कोइराला समूहबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की अघि सरेका छन् । संस्थापन समूहबाट केन्द्रीय सदस्य अमृत अर्याल अगाडि देखिन्छन् । प्रदेश १ मा राम्रै प्रभाव भएको कृष्णप्रसाद सिटौला समूहबाट पार्टीका प्रदेश सभापति उद्धव थापा पनि दलको नेता बन्ने दौडमा छन् ।

प्रदेशसभामा कांग्रेसका २९ सांसदमध्ये संस्थापन र कोइराला समूहका १०/१० जना र सिटौला समूहका ८ जना छन् । एक जना कतै पनि खुलेका छैनन् । कोइराला समूहले प्रदेश १ लाई आफ्नो प्रतिष्ठाका रूपमा लिने गरेको छ । सिटौला भने विसर्जनको अवस्थामा पुगेको आफ्नो समूहलाई प्रदेश १ बाटै पुनर्जागृत गर्ने प्रयत्नमा छन् ।

४० सिटसहित प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको एमालेमा स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो चुनौती बनेका छन् । कार्कीका अनुसार उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रदेशसभामा चुनाव लड्न पठाएका थिए । मेन्याङ्बोले भने मुख्यमन्त्रीको चाहनासहित दलको नेतामा दाबी गरेका छन् । १३ सिट रहेको माओवादी केन्द्रमा इन्द्रबहादुर आङ्बो, ६ सिट रहेको राप्रपामा भक्ति सिटौला र ४ सिट रहेको एकीकृत समाजवादीमा हालका मुख्यमन्त्री राजेन्द्र राई संसदीय दलको नेता बन्न अघि सरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव र रामसरोज यादव संसदीय दल नेताका लागि दाबेदार हुन् । पार्टीका प्रदेश सभापति कृष्णप्रसाद संस्थापन समूह र रामसरोज पूर्वउपसभापति विमलेन्द्र निधिनिकट छन् । अघिल्लो प्रदेशसभामा निधिको पहलमा रामसरोज संसदीय दलको नेतामा निर्विरोध चयन भएका थिए । उतिबेला देउवा–निधि गुटगत सम्बन्धका कारण निधिले भनेको अकाट्यजस्तै हुन्थ्यो । पार्टीको १४ औं महाधिवेशनपछि भने निधि देउवा समूहमा छैनन् । त्यसैले रामसरोजलाई सहजै संसदीय दलको नेता बन्न कठिन हुने कांग्रेसका एक प्रदेश सांसदले बताए । ‘सर्वसम्मतको प्रयास गर्दा कृष्णजीकै सम्भावना देख्छु, चुनाव भयो भने कसले जित्छ भन्न सकिँदैन,’ उनले भने ।

मधेसमा एमाले संसदीय दलको नेतामा रामचन्द्र मण्डलको सम्भावना बलियो छ । माओवादी केन्द्रमा रहेका उनी नेकपा विभाजनपछि एमालेतिर लागेका हुन् । जसपा संसदीय दलमा हालका मुख्यन्त्री लालबाबु राउतलाई टक्कर दिने कोही देखिएका छैनन् । बहालवाला मन्त्रीद्वय विजय यादव र शैलेन्द्र साह निर्वाचनमा पराजित भएपछि राउतलाई सहज भएको हो । लोसपामा जितेन्द्र सोनल संसदीय दलका सम्भावित नेता हुन् । उनी पार्टी अध्यक्ष महन्थ ठाकुरनिकट हुन् । माओवादी केन्द्रमा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको संसदीय दल नेतामा दाबी छ ।

वाग्मती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँले संसदीय दलको नेता बन्ने प्रयास गरिरहेका छन् । संस्थापन समूहमा रहेका उनी पार्टीका प्रदेश सभापति र पूर्वगृह राज्यमन्त्रीसमेत हुन् । अघिल्लो कार्यकालको अन्त्यमा सत्ता गठबन्धनले मुख्यमन्त्री दिने लिखित सहमति गरे पनि कार्यान्वयन नभएको उनको गुनासो छ । तर बानियाँलाई नुवाकोटबाट निर्वाचित सांसद बहादुरसिंह लामाले संसदीय दलको नेतामा चुनौती दिएका छन् । ‘म अघिल्लै कार्यकालमा मुख्यमन्त्री हुनुपर्ने थियो तर सहमति कार्यान्वयन भएन,’ बानियाँले भने, ‘यस पटक वाग्मतीमा ममाथि धोका हुनेछैन भन्ने विश्वासमा छु ।’

माओवादी केन्द्रमा हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल संसदीय दलको नेता बन्ने प्रयासमा छन् । उनले पनि आफूलाई मुख्यमन्त्रीको दाबेदार बताउने गरेका छन् । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न खोजेका उनलाई सत्ता गठबन्धनले प्रदेशसभामा टिकट दिएको थियो । उनी लड्न चाहेको धादिङ १ मा मुख्यमन्त्रीमेत रहेका एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार थिए । वाग्मतीमा एमालेबाट केन्द्रीय सदस्य जगनाथ थपलिया संसदीय दलको नेताका दाबेदार हुन् । मुख्यमन्त्रीको दाबीसहित चुनाव लडेका पूर्वसभामुख सानु श्रेष्ठ र पूर्वमन्त्री रामेश्वर फुयाल पराजित भएपछि थपलिया दलको नेता बन्ने सम्भावना बलियो बनेको छ ।

गण्डकी प्रदेशमा पनि कांग्रेसभित्र दलको नेताका लागि चर्को प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशसभामा चुनाव लडाएको भन्दै सुरेन्द्र पाण्डे केन्द्रको हस्तक्षेपबाट सर्वसम्मत संसदीय दल नेता बन्ने प्रयासमा छन् । तर उनलाई संस्थापन पक्षकै बिन्दुकुमार थापाले चुनौती दिन थालेका छन् । प्रदेशका बहालवाला मन्त्री उनले पार्टीका तर्फबाट मुख्यमन्त्रीमा दाबी सार्वजनिक गरेका छन् । नेताद्वय रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन बटुलेर महेन्द्रध्वज जीसी पनि संसदीय दल नेता बन्ने प्रयासमा छन् । गण्डकीमा कांग्रेसका २९ सांसद छन् ।

एमालेबाट खगराज अधिकारी संसदीय दलको नेता बन्ने करिब निश्चित छ । पूर्वगृहमन्त्रीसमेत रहेका उनी पार्टीका स्थायी कमिटी सदस्य हुन् । उनले मुख्यमन्त्री बन्ने महत्त्वाकांक्षा बोकेर प्रदेशसभामा चुनाव लडेका थिए । मुख्यमन्त्रीको यात्रामा अवरोध हुने आकलन गरेर लमजुङबाट प्रदेशसभामा चुनाव लड्न खोजेका पृथ्वीसुब्बा गुरुङलाई प्रतिनिधिसभामा पठाउन भूमिका खेलको आरोप उनीमाथि लाग्ने गरेको छ । गण्डकीमा एमालेका २२ सांसद छन् । आठ सांसद रहेको माओवादी केन्द्रमा हरिबहादुर चुमान दलको नेता बन्ने एकल दौडमा छन् ।

लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, अब्दुल रजाक र राजु खनाल संसदीय दलको नेता बन्ने दौडमा छन् । संस्थापनइतर समूहमा रहेका पार्टीका प्रदेश सभापति अमरसिंह पुन निर्वाचनमा पराजित भएपछि लुम्बिनीमा संस्थापन समूहभित्रै दलको नेता बन्ने होड चलेको हो । ‘कांग्रेस संसदीय दलको नेतामा मेरो नाम करिब टुंगिसकेको छ, हाम्रो दलले मुख्यमन्त्री पाए म नै मुख्यमन्त्री हुन्छु,’ उनले भने । लुम्बिनीमा कांग्रेसका २७ सांसद छन् ।

एमालेमा संसदीय दलको नेताका लागि मुख्यगरी भूमिश्वर ढकाल, लीला गिरी र विष्णु पन्थीबीच प्रतिस्पर्धा छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच आफू पक्षीयलाई दलको नेता बनाउन रस्साकसी चलेको छ । पोखरेलले पन्थीलाई दलको नेता बनाउन खोजेका छन् ।

पोखरेलनिकट मानिने ढकालले पौडेलसँग पनि उत्तिकै सम्बन्ध बढाइरहेका छन् । गिरी पौडेलनिकट हुन् । लुम्बिनीको दलको नेता चयनमा पौडेल–पोखरेल प्रतिद्वन्द्वितामा उपमहासचिव प्रदीप ज्ञावली र सचिव गोकर्ण विष्टको भूमिका पनि निर्णायक हुने देखिएको छ । ‘लुम्बिनी प्रदेशसभामा ज्ञवाली र विष्टसँग निकट सांसदहरू पनि छन्,’ एक एमाले नेताले भने, ‘त्यसैले लुम्बिनीमा एमालेको शक्ति सन्तुलन कस्तो हुन्छ अहिल्यै भन्न सकिँदैन ।’ लुम्बिनी प्रदेशसभामा एमालेका २९ सांसद छन् ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्रीका रूपमा हेरिएका माओवादी केन्द्रका जोखबहादुर महरालाई दलभित्रै धनबहादुर मास्की चुनौती बनेका छन् । लामो समय अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा काम गरेका महरा पार्टीका पोलिटब्युरो सदस्य हुन् । मास्कीलाई उपाध्यक्ष कृष्णबहादुर महरा समूहले दलको नेतामा अघि सारेको माओवादी वृत्तमा चर्चा छ ।

कर्णाली प्रदेशमा सत्ता गठबन्धनले मुख्यमन्त्रीमा निरन्तरताको आश्वासन दिएका कांग्रेसका जीवनबहादुर शाहीका लागि केन्द्रीय सदस्य राजीवविक्रम शाह चुनौती बन्ने देखिएका छन् । शाहले लोकतन्त्रको जगेर्नाका लागि आफू पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने बताएका छन् । मुख्यमन्त्री शाही भने सत्ता गठबन्धनले आफूलाई मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा टिकट दिएको र आफू पार्टी संसदीय दलमा पनि सर्वसम्मत रूपमा नेता चयन हुने विश्वासमा छन् । ‘सांसद निर्वाचित भएपछि दलको नेता, मन्त्री, मुख्यमन्त्रीमा आकांक्षा राख्ने सबैको अधिकार हुन्छ,’ उनले भने, ‘तर हाम्रो पार्टीभित्र सर्वसम्मत रूपमै दलको नेता चयन हुन्छ ।’ कर्णालीमा कांग्रेसका १४ सांसद छन् ।

माओवादी केन्द्रमा दलको नेताका लागि प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र रुकुम पश्चिमबाट निर्वाचित सांसद राजकुमार शर्मा प्रमुख दाबेदार मानिएका छन् । ‘हाम्रो पार्टीभित्र बाहिरबाट हेर्दाजस्तो अवस्था छैन, कसैले कल्पनै नगरेको व्यक्ति पनि मुख्यमन्त्री बन्न सक्छ,’ सुर्खेत १ (२) बाट निर्वाचित सांसद कृष्णबहादुर जीसीले भने । कर्णालीमा माओवादी केन्द्रका १३ सांसद छन् ।

एमालेमा स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेललाई प्रदेश अध्यक्ष विनोदकुमार शाहले दलको नेतामा चुनौती दिएका छन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा मुख्यमन्त्रीका लागि प्रयास गर्दा उनी असफल भएका थिए । यस पटक उनी संसदीय दलको नेता बनेर एमालेबाट मुख्यमन्त्रीको उम्मेदवार बन्ने प्रयासमा छन् । कर्णालीमा एमालेका १० सांसद छन् ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका बहादुरसिंह थापा, देवानसिंह विष्ट र मेघराज खड्का संसदीय दलको नेता बन्ने कसरतमा छन् । थापा र विष्ट संविधानसभा सदस्यसमेत हुन् । खड्का पार्टीका प्रदेश महामन्त्री छन् । थापा र खड्का संस्थापन समूहका हुन् भने विष्ट शेखर कोइराला समूहका । सुदूरपश्चिम प्रदेशसभामा रहेका कांग्रेसका १९ सांसदमध्ये दुई तिहाइभन्दा बढी संस्थापन समूहका छन् । त्यसैले थापा र खड्कामध्ये एक जना दलको नेतामा चुनिने कांग्रेसका एक प्रदेश सांसदले बताए ।

११ सांसद रहेको माओवादी केन्द्रमा पार्टीका स्थायी कमिटी सदस्य खगराज भट्टलाई चुनौती दिने गरी कसैले आकांक्षा राखेको छैन । भट्टले आफूलाई सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउने आश्वासन दिएको बताउने गरेका छन् । त्यसैले पार्टीभित्र संसदीय दलको नेतामा अवरोध नहुने उनको भनाइ छ । एमाले संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलको सम्भावना बलियो छ । समानुपातिकबाट निर्वाचित भएका उनी अन्य सांसदभन्दा वरिष्ठ हुन् । एकीकृत समाजवादीमा दलको नेतामा बहालवाला मन्त्री दीर्घ सोडारीको सम्भावना छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन् ।

दलको नेता बन्ने प्रदेश सांसदहरूले प्रयासमा केन्द्रको हस्तक्षेप र पार्टीभित्रको गुटको प्रभाव पर्ने देखिएको छ । त्यसैले मुख्यमन्त्रीका आकांक्षीहरू अहिले काठमाडौंमा शक्तिकेन्द्र धाइरहेका छन् । ‘प्रदेशमा आफूसँग जति सांसद भए पनि माथिको गुटको समर्थन नभई दलको नेता बन्न सकिँदैन, त्यसैले टुंगो लगाएर मात्र फर्किन्छु,’ मुख्यमन्त्रीका आकांक्षी एक प्रदेशसभा सांसदले भने ।

प्रकाशित : मंसिर २९, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?