खिलराज वा सोसरहलाई राष्ट्रपति बनाउने खेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
गैरराजनीतिक राजनीति पुनरावृत्ति गराउने गृहकार्य

खिलराज वा सोसरहलाई राष्ट्रपति बनाउने खेल

मंगलबार साँझ साढे पाँच बजे बालुवाटार छिरेका रेग्मी प्रधानमन्त्रीसँग डेढ घण्टा संवाद गरेर निस्किए, राष्ट्रपति पदमा बस्ने–बसाउने विषयमा छलफल भएको स्रोतको दाबी
मतगणना भइरहेकै बेला भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहाललाई भेटेका थिए, त्यसयता पनि देउवा र श्रीवास्तवबीच भेटघाट
कुलचन्द्र न्यौपाने

काठमाडौँ — सरकार गठनका लागि सांसद संख्याको जोडघटाउ भइरहेका बेला नेपथ्यमा भने राष्ट्रपति पदमा गैरराजनीतिक व्यक्ति ल्याउने प्रपञ्च भइरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तविपरीत एक दशकअघि न्यायपालिका र कार्यपालिकाको प्रमुख भएका खिलराज रेग्मी वा त्यस्तै व्यक्तिलाई राष्ट्रप्रमुख बनाउन नाटकीय गृहकार्य भएको हो । 

संविधान जारी भएपछि दोस्रो निर्वाचन सम्पन्न भएर मुलुक विधिको शासनमा अघि बढ्न खोजिरहेका बेला रेग्मी वा सोसरहका व्यक्तिलाई राष्ट्रप्रमुख बनाए संसदीय राजनीति र जनमतको अपमान हुने भन्दै कांग्रेसकै नेताहरूले सुझाव दिँदादिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भने कदम बढाइसकेका छन् । यही सन्दर्भमा उनले मंगलबार साँझ रेग्मीसँग बालुवाटारमा संवाद पनि गरिसकेका छन् ।

साँझ साढे पाँच बजे बालुवाटार पुगेका रेग्मी करिब डेढ घण्टापछि बाहिरिएका थिए । कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री देउवा र रेग्मीबीच भेटघाट भएको पुष्टि गर्दै छलफलको विषय भने आफूलाई थाहा नभएको बताए । ‘प्रधानमन्त्रीलाई भेट्न मंगलबार पाँच बजे म बालुवाटार पुगेको थिएँ, आधा घण्टापछि रेग्मी आउनुभयो, त्यसपछि म निस्किएकाले संवादको विषय थाहा भएन,’ निधिले कान्तिपुरसँग भने, ‘रेग्मीसँग नमस्कार आदानप्रदान गरेर म निस्किएको हुँ ।’

प्रधानमन्त्रीका अर्का सहयोगीले भने राष्ट्रपतिमा कसलाई ल्याउने भन्ने सन्दर्भमा नै यो भेटघाट भएको बताए । ‘राष्ट्रपतिमा कसलाई ल्याउन उचित होला भनेर प्रधानमन्त्रीले छलफल गरिरहनुभएको छ । अन्य व्यक्तिलाई पनि भेट्नुभएको छ, त्यही सन्दर्भमा रेग्मीसँग पनि मंगलबार संवाद भएको हो,’ उनले भने ।

सरकार गठन र राष्ट्रपति निर्वाचनको विषयमा दलहरूबीच स्पष्ट छलफल नहुँदै छिमेकीको चासो भने तीव्र रूपमा बढेको छ । मतगणना भइरहेकै बेला भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । निर्वाचनपछि नै प्रधानमन्त्री देउवा र भारतीय राजदूतबीच दुई पटक भेटघाट भएको छ ।

‘अहिलेको जनमतले धेरै दल मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको छ, त्यसैले नेपालमा कस्तो सरकार बन्छ भन्नेमा भारतको चासो छ, छिमेकीको चासोलाई प्रधानमन्त्रीले बेवास्ता गर्नुभएको छैन,’ बालुवाटारका एक अधिकारीले भने ।

प्रधानमन्त्रीले शक्ति राष्ट्रहरूको चासोलाई वास्ता गर्दा देशको राजनीति र जनमतलाई पनि सम्मान गर्नुपर्ने कांग्रेसकै नेताहरूको भनाइ छ । एक नेताले भने, ‘मुलुकलाई फेरि विधिभन्दा बाहिर लग्ने खेल भइरहेको सुनिएको छ, यसको पुष्टि हुन्छ भने पार्टीभित्रबाटै विरोध हुन्छ ।’

२०६४ मा निर्वाचित संविधानसभाको म्याद थप्न नमिल्ने भनेर एकल इजलासबाटै आदेश दिएका रेग्मी त्यसपछि सिर्जना भएको अव्यवस्थाबीच आफैं सरकार प्रमुख भएका थिए । मन्त्रिपरिषद् अध्यक्षका रूपमा रेग्मीको तत्कालीन नियुक्तिले संसदीय लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको छविमा क्षति पुर्‍याएको पृष्ठभूमि बेवास्ता गर्दै त्यही प्रवृत्तिको पुनरावृत्ति गराउन लागिएको छ ।

व्यवस्थाप्रति अनास्था बढाउनकै लागि रेग्मीलाई एक दशकअघि उपयोग गरिएको भन्दै कानुनविद्हरूले त्यही बिन्दुबाटै न्यायपालिकामाथिको विश्वास संकटमा परेको बताउँछन् । २०६८ वैशाख २३ मा प्रधानन्यायाधीश बनेका रेग्मीलाई ३ वर्ष २ महिना न्यायपालिकाको नेतृत्व गर्ने अवसर थियो । तर, करिब दुई वर्ष बित्दा नबित्दै सरकारको नेतृत्वमा पुगेका थिए, त्यो पनि आफ्नै इजलासबाट पृष्ठभूमि बनाएर ।

संविधान निर्माणमा सहमति जुटाउन असफल दलहरूको सहमतिमा सरकारले भने तीन महिना म्याद थप्ने प्रस्ताव अघि सारेको थियो । त्यसविरुद्ध सर्वोच्चमा परेको रिटलाई रेग्मीले आफ्नो एकल इजलासमा राखेर २०६९ जेठ ११ मा आदेश दिए, ‘संविधानसभाको आयु जेठ १४ को राति सकिनेछ । म्याद थप्ने प्रक्रिया जहाँ पुगेको छ त्यहीं राख्नु ।’

आफैं पेसी तोकेर र आफ्नै इजलासमा पारेर केही घण्टाको बहस सुनेपछि रेग्मीले दिएको आदेशपछि संविधानसभा भंग भयो । वर्षको सुरुमा सर्वोच्चको इजलासबाट संविधानसभासहित व्यवस्थापिका संसद् भंग गरिदिएका रेग्मी वर्षको अन्तमा कार्यपालिका प्रमुख बने । यसरी संविधानले परिकल्पना नगरेको अवस्था र व्यवस्था सिर्जना गरेर २०६९ फागुन ३०, बुधबारको मध्यरातमा रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष पदको शपथ दिलाइएको थियो । जब उनी संविधानले नै परिकल्पना नगरेको व्यवस्था थप्न लगाएर मन्त्रिपरिषद् अध्यक्षको हैसियतमा सिंहदरबार छिरे, रेग्मीको मात्र होइन, यसले व्यवस्था र न्यायालयकै साख दाउमा पर्‍यो ।

संविधानसभा विघटन हुने आदेशविरुद्ध सडकमै निस्किएर सबैभन्दा पहिला विरोध गर्ने दल थियो माओवादी । तर, ९ महिनापछि माघ अन्तिममा हेटौंडाको हुप्राचौरमा आयोजित माओवादी अधिवेशनमा अध्यक्ष दाहालले नै ‘प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने’ प्रस्ताव सतहमा ल्याएका थिए । सर्वोच्च अदालतको न्यायाधीश कार्यपालिका प्रमुख हुने कुनै विधि र शास्त्र थिएन । तर, यसका लागि दलहरूले राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाएका थिए । त्यतिबेला रेग्मीलाई पदमा ल्याउने जिम्मा दाहालले लिएका थिए भने यसपालि त्यो कामको नेतृत्व प्रधानमन्त्री देउवाले गर्दै छन् ।

रेग्मीले भने न्यायपालिका र सरकार प्रमुखको भूमिकामा आफूले न्याय गरेको दाबी गरेका छन् । ‘खिलाराजकै पाला रोपिएको थियो महत्त्वाकांक्षाको बीउ’ शीर्षकमा बुधबार प्रकाशित समाचारका बारेमा लिखित प्रतिक्रिया सार्वजनिक गर्दै उनको सचिवालयले भनेको छ, ‘समाचारमा फलानाले यसो भनेको भनी जुन कुरा भनिएको छ, ती भनाइहरू राग र क्लेष राखी गरिएका व्यक्तिगत अभिव्यक्ति जस्ता प्रतीत हुन्छन् ।’ उनले मन्त्रिपरिषद् अध्यक्षबाट बिदा भएलगत्तै प्रधानन्यायाधीशबाट पनि राजीनामा दिएको र आफ्नो नियुक्तिविरुद्ध परेको मुद्दाको फैसला गर्ने इजलासमा चोलेन्द्रशमशेर जबरा नरहेको प्रस्ट पारेका छन् ।

थप तथ्यहरूका अनुसार भने सरकार प्रमुख हुनुअघि नै रेग्मीले अदालत प्रशासन पनि लथालिंग बनाएका थिए । न्यायाधीशको पद रिक्त हुँदै गएका बेला पनि रेग्मीले पहल नगरेकै कारण क्षमतावान् मानिएका न्यायाधीश प्रकाश वस्ती, भरतराज उप्रेती, भरतबहादुर कार्की र तर्कराज भट्ट स्थायी हुन पाएनन् । केशरीराज पण्डित पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीशबाट र गौरीबहादुर कार्की विशेष अदालतको अध्यक्षबाट सर्वोच्चमा उक्लन पाएनन् ।

उनीहरूलाई सर्वोच्चमा ल्याउने पहल गर्नुको सट्टा रेग्मीले सर्वोच्च अदालतलाई पाँच न्यायाधीशमा निर्भर हुने अवस्थामा पुर्‍याएका थिए । अब्बल न्यायाधीशहरूलाई निषेध गरेर खाली राखिएको ठाउँमा गोपाल पराजुली, दीपकराज जोशी र चोलेन्द्रशमशेर जबरालाई नियुक्त गरिएको थियो ।

२०७० माघ २७ मा नयाँ सरकार गठन भएपछि रेग्मी मन्त्रिपरिषद्को अध्यक्षबाट बिदा भए । उनले सर्वोच्च फर्किएर २०७१ जेठसम्मको पदावधि सम्हाल्न खोजेका थिए । तर, नेपाल बार तथा सर्वोच्च बारका पदाधिकारी र वरिष्ठ अधिवक्ता तथा अधिवक्ताले रेग्मीलाई ढोकैमा रोक्ने निर्णय गरे । त्यसपछि उनले माघ २८ मा राजीनामा दिएर बिदा भएका थिए । तर, अहिले पनि उनलाई राष्ट्रप्रमुखमा फर्काउन खोजिएको छ ।

प्रकाशित : मंसिर २९, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा शक्ति संघर्ष सुरु

दलको नेता चुनिने सहज वातावरण बनाउन पार्टीभित्र विभिन्न गुट चलाएका नेता र निर्वाचित भएर आएका सांसदलाई फकाउँदै देउवा, आफ्नो पक्षमा समर्थन जुटाउन दौडधुपमा पौडेल, शेखरलाई कुर्दै गगन
कुलचन्द्र न्यौपाने

काठमाडौँ — गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व लिन कसरत गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अभिभावकको भूमिकामा राख्नुपर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दबाब बढाउन थालेका छन् । शर्माले थापालाई संसदीय दलको नेता र त्यसपछि प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताइसकेका छन् ।

‘म गगनलाई सांसद निर्वाचित भएकामा मात्र होइन, संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि शुभकामना दिन काठमाडौं आएको हुँ,’ मंगलबार थापालाई भेटेर बुधबारै गृहनगर झापा फर्केका शर्माले भने, ‘परिवर्तनको अभियान प्रारम्भ भइसकेको छ । यसलाई निर्णायक बनाउन सबैको शालीन सक्रियता, परिपक्व संवाद र विवेकपूर्ण भूमिका अपेक्षित छ ।’

प्रत्यक्षतर्फको प्रतिस्पर्धामा पराजित हुनेहरू अधिकांश आफ्नो पक्षका रहेका र संसदीय दलको नेताको निर्वाचनमा गोप्य मतदान हुने भएकाले थापाको चुनौतीलाई देउवाले पनि सामान्य ढंगले लिएका छैनन् । निर्वाचनको सबै परिणाम नआउँदै सरकार निर्माणका लागि गठबन्धनका सहयात्री दलसँग गृहकार्य गरिरहेका देउवाले दलको नेता चुनिने सहज वातावरण बनाउन पार्टीभित्र विभिन्न गुट चलाएका नेता र निर्वाचित भएर आएका सांसदलाई फकाउन थालेका छन् ।

पार्टीको १४ औं महाधिवेशनका बेला प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला मात्रै होइन, पार्टी सभापतिमा मुख्य प्रतिस्पर्धी रहेका शेखर कोइरालालाई समेत आफ्नो पक्षमा पार्ने प्रयासमा देउवा रहेको कांग्रेस नेताहरू बताउँछन् । आफ्नै टिमबाट महामन्त्री जितेका थापा संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धाका लागि आक्रामक ढंगले अघि बढिरहँदा शेखरले मौनता राखिरहेका छन् । उनी आफैं दलको नेतामा प्रतिस्पर्धा गर्ने वा गगनलाई अघि सार्ने भन्ने निर्णय शेखरले गरेका छैनन् । ‘अझै सबै परिणाम आएको छैन, काठमाडौं आएपछि सभापति र गगनजीसँग छलफल गर्छु, त्यसपछि कसरी अघि बढ्ने सोचौंला, अहिल्यै बोल्न हतार हुन्छ,’ विराटनगरमा रहेका कोइरालाले भने ।

गठबन्धन चलाउन विशेष दक्षता रहेकाले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने संस्थापनपक्षीय नेता रमेश लेखक बताउँछन् । ‘ठूलो दलको हैसियतले पहिला सरकारको नेतृत्व कांग्रेसले गर्ने कुरा नै प्राकृतिक हो, त्यही हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘कांग्रेसबाट यस पटक शेरबहादुर दाइको विकल्प देखिएको छैन । गठबन्धनलाई मिलाएर लैजान सक्ने क्षमता पनि उहाँसँग छ ।’

निर्वाचित भएर आएका सांसदसँगको छलफलमा जुटेका थापा भने शेखर राजधानी फर्केपछि आफ्नो अभियानले तीव्रता पाउने बताउँछन् । ‘म अहिले शेखर दाइकै प्रतीक्षामा छु, उहाँसँग छलफल गरेपछि आफ्नो अभियानलाई अझ सशक्त बनाउँछु,’ उनी भन्छन्, ‘महाधिवेशनमा एउटै टिमबाट चुनाव लडेका र टिमको नेतृत्व लिनुभएकाले शेखर दाइको समर्थन रहनेमा मलाई पूर्ण विश्वास छ ।’

नेता पौडेलले पनि यस पटक देउवाले लोभ गर्न नहुने तर्क अघि सारेका छन् । त्यसका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै उनले दौडधुप थालिसकेका छन् । चार दिनअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै पौडेलले जनादेशको सन्देश र परिवर्तनको चाहना सम्बोधन गर्न नेतृत्वमा परिवर्तन आवश्यक रहेको भनाइ राखेका थिए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रत्यक्षतर्फ आफ्नो पक्षका अधिकांश नेताले हारेकाले देउवालाई संसदीय दलको नेता चुनिन सोचेजस्तो सहज नभएको बताउँछन् । देउवाको मुख्य टिममा रहेका गृहमन्त्री बालकृष्ण खाँण रूपन्देही–३ र सार्वजनिक लेखा समितिका सभापतिसमेत भरत शाह रूपन्देही–५ बाट पराजित भएका छन् । १४ औं महाधिवेशनमा आफ्नो पक्षमा आएकाले कृष्णप्रसाद सिटौलाको सहयोग पाउने आस देउवाले राखेका छन् तर सिटौला स्वयं झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारिसकेका छन् । उनको समूहमा रहेका प्रदीप पौडेलले मात्रै चुनाव जितेका छन् । संसदीय दलको नेताको चुनावमा पौडेलले गगनतिर बढी झुकाब राखेका छन् । सिटौला पक्षमा रहेका सहमहामन्त्री उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं र भीमसेनदास प्रधानले चुनाव हारेका छन् । उनीहरू तीनै जना चुनाव जित्ने सूचीमा थिए ।

संस्थापन पक्षमै रहेका अन्य तीन सहमहामन्त्री डिना उपाध्याय, महेन्द्र यादव र भीष्मराज आङदेम्बेले पनि निर्वाचन जित्न सकेनन् । संस्थापन पक्षका मुख्य नेताहरू विजयकुमार गच्छदार, चित्रलेखा यादव, पुष्पा भुसाल, अर्जुन जोशी, उमेश श्रेष्ठ, विश्वनाथ पौडेल, रामजनम चौधरी, सीताराम मेहता, देवेन्द्रराज कँडेल, सुनीलबहादुर थापा र पद्मनारायण चौधरी पनि पराजित भएका छन् । ‘शेखर र गगनको बाटो अलग–अलग भयो भने शेरबहादुरलाई प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्दैन तर एकै ठाउँमा उभिएर संयुक्त रूपमा प्रयास गरे भने यसै पटक नेतृत्व बदल्न सक्ने दरिलो सम्भावना छ,’ विश्लेषक आचार्य भन्छन्, ‘शेरबहादुरबाट कांग्रेसको भविष्य छैन भन्ने कुरा उनकै टिमका मान्छेहरूले समेत महसुस गर्न थालेका छन् ।’

प्रत्यक्षतर्फ देउवालाई लागेको धक्का, समानुपातिकमा करिब एक तिहाइ सांसद शेखर पक्षका आउने सम्भावना र दलको नेताको चुनावमा हुने गोप्य मतदानले देउवाको विकल्पको सम्भावना रहेको आचार्यको भनाइ छ । संस्थापनपक्षीय नेताहरू भने देउवालाई संसदीय दलमा कठिन चुनौती नहुने बताउँछन् । आफैंले टिकट बाँडेर जितेर आएका सांसदहरू देउवाको विरोधमा जाने कुरा असम्भव हुने उनीहरूको तर्क छ । ‘शेरबहादुर देउवाले टिकट बाँडेका छन्, उनले बाँडेको टिकटमा चुनाव जितेर आउने सांसदले अर्कोलाई दलको नेता बनाउँछ भन्ने लाग्दैन,’ संस्थापन पक्षीय एक नेताले भने, ‘शेरबहादुरको नेतृत्वमा चुनावमा जाने, चुनावबाट पार्टी ठूलो भएर आउने अनि प्रधानमन्त्री अर्को व्यक्ति हुन्छ भन्ने कुरा कल्पना गर्न सकिन्न ।’

सरकार निर्माणको गृहकार्यका लागि देउवाले यसै साता माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग दुई पटक र माधवकुमार नेपालसँग एक पटक छुट्टाछुट्टै संवादसमेत गरिसकेका छन् । ती संवादमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व लिने विषयदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीका पद बाँडफाँटको विषय चर्चामा छन् ।

निर्वाचनको परिणाम नआउँदै र पार्टीले संसदीय दलको नेता नबन्दै सरकारको नेतृत्व लिने र आलोपालो सरकार चलाउने विषयमा सत्ता गठबन्धनका सहयात्री दलका नेतासँग देउवाले गरिरहेको संवादप्रति महामन्त्री थापाले भने असन्तुष्टि व्यक्त गरे । दुई/तीन नेतामात्रै बसेर हुने अपारदर्शी ढंगका कुनै पनि निर्णय आफूहरूलाई मान्य नहुने उनको भनाइ छ ।

‘०७२ को निर्वाचनपछि कांग्रेस र एमालेबीच सरकारको आलोपालो गर्ने एउटा गठबन्धन भयो, ०७४ मा एमाले र माओवादीलाई हेरियो । यी दुवै गठबन्धन सफल हुन सकेनन् । गठबन्धन दलबीच खुला राजनीतिक संस्कृति, पारदर्शी र विश्वास नहुँदा त्यस्ता समझदारी दुर्घटनामा परे,’ थापाले कान्तिपुरसँग भने, ‘यस पटक पनि नेताहरूले पार्टीलाई आफ्नो निजी कम्पनी जस्तो ठानेर अघि बढ्ने प्रयास भयो भने हिजोको भन्दा फरक हुन्न, पार्टीको संसदीय दलको नेता नचुनिँदासम्म को प्रधानमन्त्री हुने भन्ने विषय आउँदैन ।’

सरकार गठनको गृहकार्यदेखि राज्य शक्तिका मुख्य पदहरूको बाँडफाँटको विषयलाई दुई/तीन नेताको विषय मात्रै बनाउन नहुने माओवादी नेता हरिबोल गजुरेल बताउँछन् । तत्कालीन नेकपामा छँदा दुई नेताबीच अपारदर्शी समझदारी हुँदा एकता नै दुर्घटनामा परेको बताउँदै गजुरेलले हिजोकै बाटोमा नहिँड्न नेताहरूलाई आग्रह गरे । ‘अहिले छलफल स्थायित्व र स्थिरताका लागि हुनुपर्ने हो तर नेताहरूमा कसरी प्रधानमन्त्री हुने भन्ने सोच मात्रै देखियो, यो दुर्भाग्य हो,’ उनले भने, ‘पार्टीमा छलफल नगरी कुनै पनि निर्णय गर्दा पछि समस्या आउँछ, यसलाई हेक्का राख्न सक्नुपर्छ ।’

प्रकाशित : मंसिर १५, २०७९ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×