काठमाडौँ — फ्रान्सको पेरिसस्थित अन्तर्राष्ट्रिय कला-सम्पदा लिलामी गृह ‘बोनह्याम्स’ले लिलामीमा राखेको दिपंकर बुद्धको काठले बनेको टाउको प्रतिमा ललितपुर, च्यासलस्थित सप्तपुर महाविहारबाट २५ वर्षअघि चोरिएको प्रमाणित भएको छ ।
यो प्रतिमा आउँदो बिहीबार (डिसेम्बर १५) लिलामीमा जान लागेकोमा सम्पदाको पहिचान र उत्पत्तिको आधार पुष्टि भएपछि ‘बोनह्याम्स’ले आइतबारबाटै लिलामीको सूचीबाट हटाएको छ । दिपंकर प्रतिमासहित अरु ४ सम्पदा ‘बोनह्याम्स’ लिलामीमा राखिएको बारे सम्पदा खोजबिनको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ले गत साता जानकारीमा ल्याएको थियो । त्यसपछि सुरु भएको पहिचान प्रक्रियामा महाविहारका गुठियार अमिर शाक्य, राजेन्द्र शाक्य, सुरेन्द्रराज शाक्यसहितले २०५५ साउन २८ गते उक्त दिपंकरको टाउकोको प्रतिमा महाविहारबाट चोरी भएको र त्यसबारेमा प्रहरी जाहेरीसहित उपलब्ध गराएका थिए ।
यो सम्पदाको यथास्थिति पहिचान भएको र आफ्नो सम्पत्ति घरफिर्तीका लागि अनुरोध गर्दै सप्तपुर महाविहार सुधार समितिका अध्यक्ष राजेन्द्र शाक्यसहितले आइतबार पुरातत्त्व विभागमा समेत निवेदन दिएका छन् । दिपंकर बुद्धको टाउको लिलामीमा राखिएकोबारेमा पेरिसस्थित नेपाली दूतावासले पनि उक्त लिलामी तत्काल रोक्न ‘बोनह्याम्स’लाई पत्र पठाएको थियो ।
महाविहार सुधार समितिका सदस्य एवं कलाकार अमिर शाक्यका अनुसार २०५५ सालमा दिपंकर बुद्धको टाउको चोरिँदा त्यसमा रहेको मुकुट र तलको हातको काष्ठ आकृति भने लगिएको थिएन । पुरानो प्रतिमा चोरिएपछि नियमित पाठपूजाका लागि अर्को प्रतिरुप बनाएर राखिएको छ । अरु विहारमा यस्ता दिपंकर बुद्धको प्रतिमा तामाको राखिने भए पनि विशेष कलाकौशल भरिएको काठको दिपंकर टाउको यो महाविहारमा मात्रै रहेको गुठियारले जानकारी दिए ।
‘बोनह्याम्स’ले नेपाललाई ‘उत्पत्तिको थलो’ मानेरै जारी गरिएको लिलामी सूचनामा, पन्ध्रौं शताब्दीको दिपंकर बुद्धको काठले बनेको टाउकोको मूल्य २० देखि ३० हजार युरोसम्म राखिएको थियो । ‘बोनह्याम्स’का तर्फबाट स्थानीय प्रशासक जिङ वेनले जारी गरेको सूचनामा ‘यो सम्पदा मल्लकालीन समयको नेवारी काष्ठशिल्पीको उत्कृष्ट नमुना हो’ भनिएको छ । ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, दिपंकर बुद्धको टाउकोको लिलामी रोकिएको र यो सम्पदाका हकवाला ‘ल ट्राय कलेक्सन अफ हिमालयन आर्ट’ले यो सम्पदा घरफिर्ता गरिदिने जनाइसकेको छ ।
पाटनमा रहेका १८ बहाल र १८ बहिलमध्येको मुख्य बहील (कचावा) का रुपमा चिनिएको सप्तपुर महाविहार झन्डै १५ सय वर्षअघि स्थापित भएको मानिएको छ । यसमा गुठियार ६० र संघ परिवार १ सय ६० रहेका छन् ।
काठमाडौँ — एक साताअघि मात्रै ३ वर्षीया छोरीको जन्मदिनमा शुभेच्छा सुनाउँदै ‘यसै महिनाभित्र घर आउँछु’ भनेर कतारको दोहाबाट खुसीको समाचार सुनाइरहेका कैलालीको शंकरपुरका ३७ वर्षीय गंगाधर नेपाल शुक्रबार बिहान चिसो बाकसमा काठमाडौं आइपुगे ।
‘गत आइतबार राति सुतिरहेकै बेलामा मृत्यु भएछ, के–कसरी, किन भन्ने जिज्ञासा राख्न नपाउँदै आज शव आइपुग्यो,’ शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा भेटिएका मृतक गंगाधरका आफन्त तुलसी अधिकारीले भने, ‘उता घरबाट शव बुझ्न परिवारका सदस्य आउन सक्ने अवस्थै रहेन, शव बुझेर आजै गाउँ पठाउँदै छु ।’
चार वर्षअघि कतार पुगेका गंगाधरका यता गाउँमा श्रीमती, ८ र ३ वर्षका छोरी, वृद्ध बाबुआमा छन् । एउटा भाइ पनि भारततिर रोजगारीमा गएको थियो, दाजुको संस्कारमा अहिले गाउँ आएको छ । संकट कतिसम्म भने गाउँ र घरपरिवारबाट काठमाडौं कोही नआएपछि शव लिएर वैदेशिक रोजगार बोर्डले खटाएको शववाहनका चालक सविन श्रेष्ठ एक्लै शनिबार बिहान शंकरपुर पुगेका छन् ।
‘हामीले आफन्त बितेपछि अहिले पाएको राहत, क्षतिपूर्ति वा सहयोग भनेकै यही निःशुल्क शववाहन हो,’ मृतकका अर्का निकटस्थ अमृत गुरागाईंले भने, ‘यो शवसँग कतारको पब्लिक हेल्थ डिपार्टमेन्ट र दोहाको नेपाली दूतावासको कागजात मात्रै भेटियो ।’ उनका अनुसार उक्त कागजमा ‘एक्युट हार्ट फेलर ड्यु टु नेचुरल कजेज’ अर्थात् हृदयाघात भनिएको छ । दुईवर्षे श्रम स्वीकृति र भिसामा गएका गंगाधर दोहाको एक लाउन्ड्रीमा काम गर्थे । परिवार निकटस्थका अनुसार उनी तन्दुरुस्त थिए । तर, उनको निधन कसरी भयो भनेर चित्तबुझ्दो जवाफ दिने ठाउँमा कोही पनि छैनन् ।
काठमाडौं सामाखुसी बस्ने नुवाकोटको लिखु–६ की ३५ वर्षीया सुनीता नेपाली कतार देशको नाम लिनासाथै झसंग हुन्छिन् । कामको राम्रै अवसर र पैसाको हिसाब देखेर २०७० मंसिर २८ मा सुनीताका श्रीमान् राजु नेपाली कतार उडेका थिए । कतार एयरवेज र प्यासिफिक ह्युमन रिसोर्सेज प्रालिले गराएको सम्झौतापत्रमा मासिक १ हजार रियाल (झन्डै ३० हजार रुपैयाँ) तलब र खाने, बस्ने, ओभरटाइम सुविधासहित राजु उडेका थिए । उता पुगेर दोहाको नयाँ विमानस्थलमा काम थालेको र दैनिकी राम्रै रहेको खबर आइरहेकै थियो । एक पटक रेमिटबाट पैसा पनि आयो– ३७ हजार ३ सय ७८ रुपैयाँ ।
‘त्यसपछि त एकैचोटि उहाँको शव आयो । यताबाट गएको तीन महिनामै माघ २१ मा शव काठमाडौं आइपुग्यो,’ आफ्ना दाजु सुरेन्द्र दासको आडभरोसमा सँगै सिलाइबुनाइको काम गर्दै जीवन निर्वाह गरिरहेकी सुनीताले सुनाइन्, ‘मेरा श्रीमान्लाई रोगका नाममा ग्यास्ट्रिकसमेत थिएन । उनी कसरी हृदयाघात भएर मरेका हुन् भनेर कसैसँग प्रश्नसमेत गर्न पाइनँ, अहिलेसम्म मलाई खड्केको कुरा यही हो ।’
अरूभन्दा पनि अहिले कतारमा विश्वकप फुटबल चलिरहेका बेला र आफूसहित श्रीमान् राजु नेपाली पनि फुटबलको ठूलो फ्यान रहेकाले कतार सम्झनासाथै सुनीतालाई असह्य हुने गरेको रहेछ । ‘यता अब फुटबल–कप हुँदै छ, दोहाको नयाँ विमानस्थल भने पनि त्यसैका लागि हो,’ श्रीमान्ले बजारमा सुनेको हल्लाका भरमा सुनीतालाई फोनमा भन्ने गरेका रहेछन् । कतारमा दिवंगत तिनै श्रीमान्को सम्झनामा सुनीताले यस पटक विश्वकप फुटबल हेर्न घरमा कसैलाई नदिएकी रहिछन्, दाजुभाउजू कसैलाई पनि ।
सम्झौताअनुसार १ लाख ३० हजार रुपैयाँ तिरेर कतार गएका राजु त्यहाँ नयाँ अवधिको कामदार भिसा नलाग्दै हृदयाघातमा परेका रहेछन् । ‘अरू मान्छेहरू पनि खाडीतिर यसरी सुतेको सुत्यै मर्छन् रे भन्ने सुनेकी थिएँ, त्यो कुरा हामीबीच फोनमा पनि हुन्थ्यो,’ सुनीताले सम्झिन्, ‘श्रीमान्ले पनि त्यस्तो त रोगी, कमजोरलाई हुन्छ, मलाई केही हुन्न भन्ने गर्थे ।’ निको भइसकेको घाउ कोट्याएपछिको आँसुले उनको गह भरियो । उनले सुनाइन् ‘त्यसपछि घरको कुरा रहेन, म माइतीमा दाजु र आमाको सहारामा बसिरहेकी छु ।’ सुनीताले श्रीमान्सँग मनकामना जाँदाको ठूलो फ्लेक्स अझै कोठामा झुन्ड्याएकी छन्, कतारमा त्यसरी हृदयाघात हुनुभन्दा एक दिनअघि खिचेको मोबाइल तस्बिर पनि उनले फ्रेममा सजाएर राखेकी रहिछन् ।
वैदेशिक रोजगार बोर्डको तथ्यांकमा गत वर्ष कतारमा ३ सय १ जना नेपाली कामदारको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको यो ६ महिनामा ८७ जनाको मृत्यु भइसकेको छ । यसमध्ये १ सय ३८ जनाको भने ‘कार्डियाक एरेस्ट, हार्ट–एट्याक वा नेचुरल कजेज’ अर्थात हृदयाघातका कारण मृत्यु भएको छ । यो भनेको विगतदेखि हुँदै आएको मृत्युको अनुपातमा ४५ प्रतिशत हो । मृत्युको यही ‘सुत्दा–सुत्दै मृत्यु’ अनुपात खाडीका अरू मुलुकहरूमा वर्षौंदेखि रहिआएको छ । यो ४५ प्रतिशतले द्विदेशीय श्रम सम्झौता वा अरू प्रबन्धमा पनि कुनै प्रकारको क्षतिपूर्ति, राहत वा सहयोग पनि गरेको छैन ।
‘यहाँ मिडियाले कतार स्टेडियम संरचनामा मर्ने केहीको (अन द स्पट) कुरा बाहिर ल्याएका छन्,’ कतारका लागि नेपालका पूर्वराजदूत डा. सूर्यनाथ मिश्र भन्छन्, ‘तर, कतारसहितका खाडी मुलुकमा हार्ट–एट्याक भनेर मुसो–मराइ बेहोर्ने नेपाली कामदारको कुरा कसैले उठाएकै छैन । कतारमा विश्वकप जारी रहेर त्यसका आधारमा न्युजपेग बनाउने कुरा आफ्नो ठाउँमा होला, तर हृदयाघातका कारण र परिणाम खुलाउने खालको अध्यन–अनुसन्धान भएकै छैन ।’ कुनै कामदार ‘फिट एन्ड फाइन’ भनिएकै आधारमा सबै कुरा निर्क्योल गर्न नमिल्ने बताउँदै उनले हृदयाघातका कारणहरूमा गम्भीर मेडिकल जाँच जरुरी रहेको बताए ।
कैलाली शंकरपुरका ३७ वर्षीय गंगाधर नेपालकोशव शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाउँ लैजान शववाहनमा राखिँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर
आप्रवासन मामलाका विज्ञ एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.गणेश गुरुङका बुझाइमा कतारसहितका खाडी मुलुकमा हुने असामान्य प्रकृतिको मृत्यु र हृदयाघातको कारणबारे ‘मेडिकल इन्भेस्टिगेसन’ जरुरी हुन्छ । ‘मलाई सम्झना छ, एक पटक बीएन्डबी हस्पिटलसम्बद्ध क्यान्सर रोगविद् डा. राजेन्द्र बरालको नेतृत्वमा एउटा मेडिकल टिम बनाइएको थियो,’ डा. गुरुङले सुनाए, ‘त्यो टिमले खाडी मुलुक, मलेसियासहितमा नेपाली कामदारले बेहोरेको अनाहकको मृत्युबारेमा स्थलगत अध्ययन गरेको थियो ।’ अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को लगानीमा भएको त्यो अध्ययनको प्रतिवेदन कहिल्यै बाहिर आएन । योजना आयोगमा म छँदा पनि यसमा चासो राखेको थिएँ, तर अध्ययन रिपोर्ट अझै सार्वजनिक भएको छैन ।’
गंगाधरको निधनको रिपोर्ट ।
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य विदेश जाने नेपाली कामदारको औसतअनुसार मृत्यु अनुपात ‘स्वाभाविक’ भएको बताउँछन् । तर, हृदयाघात वा सुत्दासुत्दै मृत्यु भएको अनुपात र हुन नसकेको अन्वेषणमा भने प्रश्न गर्न सकिने राय राख्छन् । ‘दिनमा औसतमा ४ जना कामदार चिसो मान्छे भएर घर फर्केका छन् । दैनिक विदेश जानेको संख्या २ हजार नाघिसकेको छ,’ उनले भने, ‘अनुपातकै कुरा गर्ने हो भने २०५० सालमा वर्षभरमा ५१ हजार नेपाली कामदार विदेश गएका रहेछन्, गत वर्ष यो संख्यामा ६ लाख नाघेको देखिन्छ ।’
महानिर्देशक आचार्यले ‘चिसोतातो, मौसमी असन्तुलन वा जेजति कारण देखाए पनि’ हाम्रा मजदुर अकालमा मरिरहेकै र सुत्दासुत्दै मर्नेको तथ्यांक बढिरहेकै जानकारी दिए । ‘सबैभन्दा गम्भीर सबाल भनेको हार्ट–एट्याक पछि पोस्टमार्टम नहुनु हो । अथवा, के कारणले हृदयाघात भयो भन्ने सामान्य तहको अनुसन्धानसमेत नभएको स्थिति भने असहज देखिन्छ नै,’ उनले भने । अब भने कामदार पठाइने देशसँग भएका द्विपक्षीय सम्झौता अद्यावधिक र नवीकरण गर्ने सबालमा पोस्टमार्टमसहितको सरोकार उठाइनु जरुरी रहेको उनले बताए । ‘अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका बैठकमा यो सरोकार उठाउँदै आएका हौं । अब भने सम्बद्ध मुलुकमा सिधै कुरा उठाउनु जरुरी देखिन्छ,’ आचार्यले भने ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती पनि ‘सुत्दासुत्दै कामदारलाई हुने हृदयाघात’ का बारेमा द्विदेशीय सम्झौतामा सरोकार उठाइनुपर्ने बताउँछन् । ‘पोस्टमार्टम वा मृत्युको कुरा त्यहाँको कानुनमा जोडिएको कुरा भयो । यो हामीले ती मुलुकसँग गरेको श्रम सम्झौतामा राखिने सर्तमा भर पर्ने कुरा हो,’ उनी भन्छन्, ‘जति हाम्रा कामदार मर्छन्, सबैको पोस्टमार्टम गरिने भनेर द्विपक्षीय सम्झौतामा राखिएको छ कि छैन ?, यो महत्त्वपूर्ण कुरा हो ।’ हाम्रै कूटनीतिक पहल र पहुँचको अभावमा पनि यो सरोकार दह्रो गरी उठ्न नसकिरहेको उनले बताए । ‘यो सरोकार उठाउन हाम्रो कूटनीतिक पहलमा हामी कहींकतै पछाडि पर्यौं कि भन्ने लाग्छ । सरकारी तबरबाट परराष्ट्र र श्रममार्फत कूटनीतिक काममा जानेले अलिक पहल हुनुपर्छ भन्ने लाग्छ,’ डा.उप्रेतीले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकालेको नेपाल लेबर माइग्रेसन रिपोर्ट–२०२० अनुसार पनि ‘स्वाभाविक मृत्यु’ (नेचुरल डेथ) लाई गम्भीर रूपमा लिइनुपर्ने भन्दै यो सरोकारमा आउनै नसकेको भनिएको छ । ‘हृदयाघातको सरोकार एकदमै गम्भीर छ, नेपाल सरकारले पनि यसलाई गम्भीरतापूर्वक लिएको छ,’ रिपोर्टमा उल्लेख छ । यो रिपोर्टमा पनि औसतमा ४५ प्रतिशत नेपाली कामदार खाडी मुलुकमा ‘स्वाभाविक मृत्यु’ मा पर्ने गरेको जनाइएको छ ।