कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
प्रतिनिधिसभा सांसदको समीकरण

प्रत्यक्षमा ९४% पुरुष, समानुपातिकमा ७४% महिला

दलहरुले समानुपातिकतर्फ ११० सिटका लागि गरेको सिफारिसअनुसार प्रतिनिधिसभामा ८१ जना महिला निर्वाचित हुने छन् । यो करिब ७४ प्रतिशत हो ।
प्रत्यक्षका १६५ सिटमध्ये ९ सिटमा मात्रै महिला निर्वाचित भएका छन् । बाँकी १५६ जना पुरूष निर्वाचित भएका छन् । यसरी हेर्दा प्रत्यक्षमा निर्वाचित भएकामध्ये ९४ प्रतिशत पुरूष छन् ।
प्रकाश धौलाकोटी

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटको निर्वाचन सम्पन्न गरेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा दलहरूले सूची बुझाइसकेका छन् भने आयोगले सोमबार निर्वाचित भएको घोषणा गर्दैछ ।

प्रत्यक्षमा ९४% पुरुष, समानुपातिकमा ७४% महिला

तर, दलहरूले अहिले समानुपातिकमा बुझाएको सूची हेर्दा प्रत्यक्षमा पुरुष र समानुपातिकबाट महिलामात्रै निर्वाचित हुने अवस्था बनेको छ ।

दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएका र महिला निर्वाचित नभएका कारण समानुपातिकबाट प्रतिनिधित्व गराउनैपर्ने समावेशी समुहका पुरुषहरूको समेत प्रतिनिधित्व छुटेको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षका १६५ सिटमध्ये ९ सिटमा मात्रै महिला निर्वाचित भएका छन् । बाँकी १५६ जना पुरूष निर्वाचित भएका छन् । यसरी हेर्दा प्रत्यक्षमा निर्वाचित भएकामध्ये ९४ प्रतिशत पुरूष छन् ।

जसरी प्रत्यक्ष निर्वाचनमा पुरुषहरूको एकलौटी वर्चस्व बनेको छ, समानुपातिकमा महिला धेरै निर्वाचित हुँदैछन् । संविधानले दलहरूले आफ्ना सदस्य संख्याको ३३ प्रतिशत महिलालाई निर्वाचित गर्नैपर्ने कानुनी व्यवस्थाका कारण समानुपातिकमा महिला मात्रै निर्वाचित हुने स्थिति बनेको हो ।

प्रत्यक्षको परिणाम र दलहरूले बुझाएको सूचीका आधारमा प्रतिनिधिसभाका २७५ सिटमध्ये ९० जना महिला छन् । तीमध्ये ८१ जना समानुपातिकबाट निर्वाचित हुन लागेका हुन् । समानुपातिकमा पुरुष २९ जनामात्रै समेटिनेछन् । यसरी समानुपातिकबाट निर्वाचित हुने सदस्यमध्ये ७३ प्रतिशत महिला छन् ।

समानुपातिकमा महिला मात्रै निर्वाचित हुने अवस्था बन्दा दलहरूलाई समानुपातिकबाट सांसद छान्ने धौ–धौ परेको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३२ सिट पाउँदा तीन जनामात्रै पुरूष परेका छन् । एमालेले ३४ सिट पाउँदा १२ जना पुरूष छानिएका छन् । माओवादी केन्द्रले १४ सिट पाउँदा दुई जना मात्रै पुरुष छानिएका छन् ।

संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व ग्यारेण्टी गरेको छ । प्रतिनिधिसभामा भने समग्रमा महिलाको प्रतिनिधित्व ३२ प्रतिशत पुग्ने देखिएको छ ।

प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि प्रत्यक्षमा पुरूषहरूले मात्रै टिकट पाउँदा समानुपातिकमा अधिकांश महिला मात्रै चुनिने अवस्था आएको हो ।

कांग्रेसले गण्डकी प्रदेशमा समानुपातिकतर्फ ९ सिट पाएकोमा सबै महिलामात्रै निर्वाचित भएका छन् । समानुपातिकमा पहिलो नम्बरमै नाम राखेर सुरक्षित बन्ने प्रयास गरेका प्रदेश सभापति शुक्रराज शर्मा समेत प्रदेशसभा सदस्य बन्न सकेनन् ।

‘प्रत्यक्षमा कांग्रेसले पाएकामध्ये धेरै सिट जित्यो, जित्ने सबै पुरूषमात्रै भए,’ प्रदेश सभापति शर्माले भने, ‘प्रत्यक्षमा पुरुषमात्रै निर्वाचित हुँदा समानुपातिकमा पुरुषलाई मौका भएन, ९ सिट पाएका थियौँ, सबै महिलालाई निर्वाचित गर्नुपर्‍यो ।’

उनले प्रदेशले प्रत्यक्षमा महिला नेताहरूको समेत नाम सिफारिस गरेर पठाएपनि केन्द्रले त्यसलाई सम्बोधन नगरेका कारण यो अवस्था आएको गुनासो गरे । कर्णाली र सुदुरपश्चिममा पनि कांग्रेसबाट महिलामात्रै निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर २५, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?