कांग्रेसले साँझ ८ बजेसम्म पनि बुझाएन समानुपातिक सूची, कर्मचारी कुरेको कुर्‍यै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले साँझ ८ बजेसम्म पनि बुझाएन समानुपातिक सूची, कर्मचारी कुरेको कुर्‍यै

कांग्रेस पार्टी कार्यालयका एक प्रतिनिधि निर्वाचन आयोगको कार्यालयमा पुगेर केही व्यक्तिको नागरिकता भने बुझाएको आयोगका अधिकारीहरू बताउँछन् । तर उनीहरूको नाम बैठकबाट निर्णय भएको हो वा होइन भन्नेबारे ती प्रतिनिधि नै बेखबर छन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम विभिन्न दलहरूले निर्वाचन आयोगलाई सिफारिस गरेका छन् । तर समानुपातिकमा दोस्रो धेरै सिट जितेको नेपाली कांग्रेसले ८ बजेसम्म नाम सिफारिस गरेको छैन ।

नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूले भने बन्द सूची बुझाइसकेका छन् ।आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिएका व्यक्तिहरूको नाम बुझाउने समय शनिबार दिउँसो ४ बजेसम्म तोकेको थियो ।

तर निर्धारित समयमा पनि कांग्रेसले नाम सिफारिस गरिसकेको छैन । निर्वाचन आयोगका अधिकारीहरूका अनुसार केही व्यक्तिहरूको नागरिकता भने आयोगको कार्यालयमा आएको छ । तर उनीहरूको नामावली अझै आएको छैन ।

आयोगका एक कर्मचारीका अनुसार शनिबार साँझ कांग्रेस पार्टी कार्यालयका एक कर्मचारीले झोलाबाट केही नागरिकता झिकेर दर्ता गर्न लगाएका थिए । तर उनीहरूको नामावली दिइएको थिएन । आयोगका ती कर्मचारीले भने, 'एक प्रतिनिधि आएर झोलाबाट नागरिकता निकालेर बुझाए । तर उनीहरूको नाम पार्टीले निर्णय गरेको हो कि हैन भन्नेबारे उनलाई नै थाहा रहेनछ । हामीले सोध्दा उनीहरूको नाम बिहान सिफारिस भएको तर साँझ यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।'

आयोगका कर्मचारीहरू भने कांग्रेसबाट समानुपातिक सांसदको सिफारिस नामावली पर्खिएर राति ८ बजेपछिसम्म बसिरहेका छन् । तर यसबारे उनीहरू पनि अन्योल देखिएका छन् ।

राप्रपाका प्रतिनिधि भने निर्वाचन आयोगको बहादुर भवनस्थित कार्यालयमा पुगेर साँझ ८ बजे सूची बुझाएका थिए । कांग्रेसले निर्धारित समयमा सूची नबुझाउँदा निर्वाचन आयोगमा कर्मचारीहरू भने कार्यालयमै पर्खिएर बसिरहेका छन् ।

मंसिर ४ गते भएको चुनावमा प्रतिनिधिसभातर्फ ७ वटा राजनीतिक दलले ३ प्रतिशत थ्रेसहोल्ड कटाउँदै समानुपातिकतर्फ आफ्नो सांसद निर्वाचित गर्न योग्य भएका छन् ।

१ सय १० सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर २४, २०७९ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्

श्वेताले जितिन् विश्व शारीरिक सुगठनमा रजत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालकी श्वेता कपालीले थाइल्यान्डको फुकेटमा भइरहेको १३ औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा रजत पदक जितेकी छन् ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी श्वेताले महिला मोडल फिजिक्स विधामा पदक जितेकी हुन् ।

शुक्रबार पुरुष ६५ केजी तौलमा प्रज्वलमान शाक्ले कांस्य पदक जितेका थिए ।

महिला मोडल फिजिक्सको फाइनल प्रवेश गर्नेक्रममा १० प्रतिस्पर्धीबाट श्वेता उत्कृष्ट फाइभमा परेकी थिइन् । उनी तीन प्रतिस्पर्धी हंगेरी, थाइल्यान्ड र मंगोलियाकी खेलाडीलाई उछिन्दै दोस्रो भएकी हुन् । यस विधामा हङकङ चाइनाकी तु सुयत यानले स्वर्ण जितेकी थिइन् ।

प्रकाशित : मंसिर २४, २०७९ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×