गिरीको दोस्रो संसद् यात्रा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिरीको दोस्रो संसद् यात्रा

‘मन्त्री हुँदा सिँचाइ आयोजनामा धेरै काम गरेका कारण जनताले जिताए, मैले थालेका काम अब पूरा गर्छु’
दुर्गालाल केसी

दाङ — कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी दोस्रो पटक संसद् प्रवेश गरेका छन् । पूर्वराष्ट्रिय सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य कोमल वलीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । दाङ–३ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गिरी ७ हजार ८ सय १० मतान्तरले निर्वाचित भए ।


उनले ३६ हजार ८ सय ४२ मत प्राप्त गर्दा वली २९ हजार ३२ मतमा रोकिइन् । ०५१, ०६४ र ०७४ मा पराजित भएका उनले पाँचौं पटक चुनाव लडेर दोस्रो पटक जित निकालेका हुन् ।

गिरी ०५१ को प्रतिनिधिसभा निर्वाचनमा दाङ–२ बाट एमालेका शंकर पोखरेलसँग पराजित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा दाङ–५ मा माओवादीका सुष्मा शर्मा घिमिरेसँग पराजित भए । ०७० को संविधानसभा निर्वाचनमा एमालेका उत्तरकुमार वलीलाई पराजित गरी संविधानसभा सदस्यमा विजयी भए । ०७४ मा दाङ–३ बाट एमालेका हीराचन्द्र केसीसँग पराजित भए । ०७० मा जितेपछि उनी सिँचाइमन्त्रीसमेत भए । ९ महिनामात्रै सिँचाइमन्त्री भए पनि महत्त्वपूर्ण काम गरेको र उक्त कामको परिणामस्वरूप निर्वाचन जितेको उनले बताए । ‘कामका आधारमा मैले मत पाएको छु, जनताले मेरो उचित मूल्यांकन गरेका छन्,’ उनले भने, ‘मैले मन्त्री हुँदा सुरु गरेका धेरै काम अलपत्र छन् । अब ती काम पूरा गर्नुपर्नेछ ।’

गठबन्धन बलियो भएको, इमानदारीसाथ निरन्तर राजनीतिमा रहेको र सिँचाइमन्त्री हुँदा सिँचाइ आयोजनामा धेरै काम गरेका कारण जनताले आफूलाई निर्वाचित गरेको उनको बुझाइ छ । मन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ आयोजना स्थापना गरी पक्की नहर, बाँध, डिपबोरिङ, जलाशयजस्ता संरचना निर्माण गरेको र बाँकी योजनालाई अब पूर्णता दिने उनले बताए । ‘मैले थालेका धेरै काम पूरा गर्न बाँकी छ, कतिपय स्थानमा अझै पनि सिँचाइको समस्या कायमै छ,’ उनले भने, ‘दंगाली उर्वरभूमिमा कृषिको सम्भावना भएकाले मैले बृहत्तर दाङ सिँचाइ आयोजना सुरु गरेको हुँ । अब यसलाई निरन्तरता दिन लागिपर्छु ।’

टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा नियमित सञ्चालन, विपद् व्यवस्थापन, तुलसीपुरलाई व्यवस्थित सहरका रूपमा विकास, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा, सुशासन अभिवृद्धिलगायत काम गर्ने योजना बनाएको उनले बताए । ०३० सालदेखि नै मुलुकमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएका गिरी निरन्तर राजनीतिमा छन् । विद्यार्थीकालमा हक्की स्वभावका कारण उनलाई धेरैले आक्रामक नेताका रूपमा चिन्थे । पछिसम्म पनि त्यही खालको छाप पर्दा आफूलाई कहिलेकाहीं समस्या पर्ने गरेको उनले बताए । ‘विद्यार्थीकालमा राजनीति त्यस्तै खालको थियो, विवाद र झडपहरू हुन्थे,’ उनले भने, ‘त्यतिबेलाका दिन सम्झेर मलाई धेरैले आक्रामक नेताका रूपमा पनि चिन्छन् तर नजिकबाट जान्नेले वास्तविकता थाहा पाउँछन् ।’

०३० मा तुलसीपुरस्थित महेन्द्र माविमा पढ्दापढ्दै पक्राउ परे । १३ वर्षकै उमेरमा गिरफ्तार भई १३ दिन हिरासतमा बसे । ०३१ मा अञ्चलाधीशको ठाडो आदेशमा २९ दिन हिरासतमा बसे । ०३७ मा ५७ दिन अञ्चलाधीशको ठाडो आदेशमा हिरासतमा बसे । ०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई बीपी कोइराला काठमाडौं ओर्लंदा उनको स्वागतमा सक्रियतापूर्वक खटिनेमध्येका गिरी एक थिए । विद्यार्थीकालमा तडकभडकपूर्ण जीवनशैली बिताउन सक्ने अवस्था हुँदा पनि सरल जीवनशैली बिताएको उनले बताए । ‘मेरो घरको अवस्थाले मलाई नपुग्ने केही थिएन तैपनि म कहिल्यै विलासितामा रमाइनँ,’ उनले भने, ‘यही इमानदार र सरल जीवनशैलीले मलाई राजनीतिमा टिकाएको छ ।’

आफूसँगैका नेताहरू धेरै माथिल्लो तहमा पुग्दा पनि आफू बढी महत्त्वाकांक्षा नपालेर बसेको उनले बताए । ‘म लगातार तीन पटक पार्टीको केन्द्रीय सदस्य भएर काम गरिरहेको छु,’ उनले भने, ‘आफूसँगैका साथीहरू माथिल्लो पदमा पुगिसके तैपनि म चित्त बुझाएर बसेको छु ।’

०३४ मा कांग्रेस दाङ–४ को सभापति, ०३६ मा नेविसंघको केन्द्रीय सदस्य, ०३६ मै नेविसंघको राष्ट्रिय महाधिवेशनको तयारी समिति संयोजक, ०४२ मा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटी सदस्य, ०४३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको महासचिव भए । ०४६ देखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य भए । उनी १२ औं महाधिवेशनदेखि लगातार तेस्रो पटक कांग्रेस केन्द्रीय सदस्य छन् ।

प्रकाशित : मंसिर २३, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज संवैधानिक इजलासमा सुनुवाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले उक्त विवादको सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकेको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट दायर गरेका थिए ।

रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।

गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेस गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानुनीरूपमा पत्र पठाएको उल्लेख छ । रिट निवेदनमा उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

संसद्का महासचिव गौतमले यही मंसिर २१ गते प्रधानन्यायाधीश जबरा, सर्वोच्च अदालतलगायत निकायममा महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएका थिए ।

महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बनलाई निष्क्रिय पारिदिने संघीय संसद्का महासचिवको पत्रले उत्पन्न तरंगले शुक्रबार पनि सर्वोच्च अदालत प्रभावित हुने भएको छ ।

नेपाल बार एसोसिएसनले जबराविरुद्धको आन्दोलनलाई ब्युँताएको छ । जबराको राजीनामा माग्दै गत वर्ष कात्तिक दोस्रो सातादेखि आन्दोलित बारले फागुन १ मा उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि १०९ औं दिनमा आन्दोलन रोकेको थियो ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद् सचिवालयका महासचिव गौतमले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी असंवैधानिक रूपमा पत्र लेखेकाले त्यसका आधारमा जबरालाई सर्वोच्च अदालत छिर्न नदिइने बताए । जबराविरुद्धको महाभियोगलाई सार्वभौम संसद्ले छिनोफानो नगर्दै एक जना कर्मचारीले निष्क्रिय पार्न नसक्ने भएकाले फेरि आन्दोलनमा उत्रनुपरेको उनको भनाइ छ ।

प्रकाशित : मंसिर २३, २०७९ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×