पश्चिम सेती र पञ्चेश्वर परियोजनाको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री देउवा- समाचार - कान्तिपुर समाचार

पश्चिम सेती र पञ्चेश्वर परियोजनाको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री देउवा

अर्जुन शाह

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् परियोजना र पञ्चेश्वर परियोजनाको काम चाँडै सुुरु हुने बताएका छन् । धनगढीमा बिहीबार आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको र चाँडै काम सुुरु हुने बताए ।

‘पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ । त्यो भरपर्दो कम्पनी छ,’ प्रधानमन्त्री देउवाले भने‚ ‘आउने भइसक्या छ ।’ प्रधानमन्त्री देउवाले पञ्चेश्वरको काम पनि चाँँडै सुरु हुने बताए । लुुम्बिनी भ्रमणमा आएका बेला र आफू भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्रीले पञ्चेश्वरको विकासमा चासो राखेको उनले बताए । ‘पश्चिम सेती आउनेछ‚ पञ्चेश्वर पनि आउनेछ,’ उनले भने‚ ‘डडेलधुरा र सुदूरपश्चिमको विकास हुनेछ ।’

उनले गौरिफन्टा सीमा नाका व्यवस्थापन तथा स्तरोन्नतिका लागि भारत सरकारसँग कुरा गरेको बताएका छन् । उनले भने‚ ‘यसअघि पनि कुरा गरेको छु र फेरि पनि कुरा गर्छु,’ उनले भने‚ ‘भारतबाट सहयोग हुने विश्वास गरेको छु ।’

प्रधानमन्त्री देउवाले महोत्सवले सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पुुग्ने बताए । उनले महोत्सले स्थानीय उत्पादनको व्यावसायीकरण गर्न प्रचारप्रसार हुने बताए । साथै खप्तड र रामारोशनजस्ता पर्यटकीय क्षेत्रको विकास गरेर सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई बढाउन सकिने सम्भावना रहेको उनको भनाइ थियो ।

प्रकाशित : मंसिर २२, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा किरात समुदाय यसरी रमाए उधौलीमा [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, अनिश रेग्मी

काठमाडौँ — प्रकृति पूजक भनेर चिनिने किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ बिहीबारदेखि सुरु भएको छ । किरात समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।

कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राईहरूले बताएका छन् । साकेला उधौलीको अवसर पारेर उपत्यकाको काठमाडौं र ललितपुर र भक्तपुरमा सोबास गर्ने किराती राईहरुले पर्व मनाएका छन् ।

लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो ।


प्रकाशित : मंसिर २२, २०७९ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×