१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

प्रदेशसभा : कांग्रेस ४, एमाले ३ मा पहिलो

मणि दाहाल

काठमाडौँ — प्रदेशसभातर्फ कांग्रेस ४ र एमाले ३ वटा प्रदेशमा ठूलो दल बनेका छन् । कांग्रेस वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो दल बनेको छ । एमाले प्रदेश १, मधेस र लुम्बिनीमा ठूलो दल बनेको छ ।

प्रदेशसभा : कांग्रेस ४, एमाले ३ मा पहिलो

अघिल्लो प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले मधेसबाहेक ६ वटै प्रदेशमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । प्रदेश १ र वाग्मतीमा एमालेको एकल बहुमत थियो । नेकपा विभाजनपछि गण्डकी र लुम्बिनी सरकार गुमाएको एमाले विभाजनपछि प्रदेश १ र वाग्मतीबाट पनि सरकारबाट बाहिरिएको थियो ।

यसपटक वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा सरकार बनाउन सत्तारूढ गठबन्धनको बहुमत सहज रूपमा पुग्ने देखिन्छ भने प्रदेश १ मा एमालेले बहुमत जुटाउन सक्ने सम्भावना छ । मधेस र लुम्बिनीमा भने अवस्था कठिन देखिन्छ ।

प्रदेश १ : एमाले पहिलो, बहुमतलाई ७ सिट अपुग

प्रदेश १ मा ४० स्थान प्राप्त गर्दै एमाले पहिलो दल बनेको छ । प्रत्यक्षमा २५ र समानुपातिकमा १५ सिट प्राप्त गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ । राप्रपाले सरकार गठनका लागि एमालेसँग गठबन्धन गरे पनि बहुमतका लागि १ सिट कम हुनेछ । एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो । राप्रपाको प्रत्यक्षमा २ र समानुपातिकमा ४ सिट छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसको प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सिट छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सिट छ । एकीकृत समाजवादीको प्रत्यक्ष ३ र समानुपातिक १ गरी प्रदेशसभामा ४ सिट छ । जसपाले समानुपातिकतर्फ १ सिट पाएको छ ।

मधेस : समानुपातिकमा १० दल

मधेस प्रदेशमा समानुपातिकतर्फ १० वटा दलको प्रतिनिधित्व हुने भएको छ । कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टीको प्रतिनिधित्व हुनेछ । १ सय ७ सदस्यीय प्रदेशसभामा एमालेले २३ सिट जितेको छ । एमालेको प्रत्यक्षमा १५ र समानुपातिकमा ८ सिट छ ।

प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ सहित कांग्रेस २२ सिटका साथ दोस्रो स्थानमा छ । जसपाको प्रत्यक्ष ९ र समानुपातिकतर्फ ७ गरी १६ सिट छ । लोसपाले प्रत्यक्ष ७ र समानुपातिकमा २ पाउँदा ९ सिट भएको छ । जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकतर्फ ७ सहित १३ सिट पाएको छ । प्रत्यक्षमा ४/४ सिट जितेका माओवादी केन्द्र र एकीकृत समाजवादीले समानुपातिकमा क्रमश: ४ र ३ सिट प्राप्त गरेका छन् । प्रत्यक्षमा एक सिट पनि जित्न नसकेको नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ १/१ सिट पाएका छन् । प्रदेशमा ६ स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

वाग्मती प्रदेश : गठबन्धनले निरन्तरता पाए बहुमत

वाग्मती प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा प्रत्यक्ष २५ र समानुपातिकतर्फ १२ सहित कांग्रेसको ३७ सिट छ । प्रत्यक्षतर्फ १३ स्थानमा जितेको एमालेले समानुपातिकतर्फ १४ सिट प्राप्त गर्दा २७ सिट भएको छ । त्यसैगरी १४ प्रत्यक्ष र ७ समानुपातिकसहित माओवादी केन्द्रले २१ सिट प्राप्त गरेको छ । चौथो स्थानमा राप्रपा छ । उसको प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ सिट छ ।

त्यस्तै प्रत्यक्षमा ५ र समानुपातिकमा २ स्थान प्राप्त गरेको एकीकृत समाजवादी पाँचौं स्थानमा छ । त्यसैगरी प्रत्यक्षमा एउटा क्षेत्र जितेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले समानुपातिकतर्फ २ गरी ३ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी हाम्रो नेपाल पार्टीले २ स्थान जितेको छ । वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ सांसद निर्वाचित हुन्छन् । सत्तारूढ गठबन्धनले निरन्तरता पाए सरकार गठनका लागि सहजरूपमा बहुमत जुट्नेछ । सरकार बनाउन ५६ सांसदको‌ समर्थन चाहिनेमा सत्तारूढ गठबन्धनमा ६५ जना छन् ।

गण्डकी : सत्तारूढ गठबन्धनलाई सहज

गण्डकी प्रदेशसभामा २७ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको छ । दोस्रो बनेको एमालेको प्रत्यक्ष १२ र समानुपातिकतर्फ १० गरी २२ सिट छ । त्यस्तै माओवादी केन्द्रसँग प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट छ । गण्डकीमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि हँसिया हथौडा चुनाव चिह्नमा १ सिट जितेको छ । गोरखा २(१) मा नेसपाका फणीन्द्र देवकोटा विजयी भएका छन् । उनी पनि माओवादीकै सांसद मानिने हुँदा गण्डकीमा माओवादीको ८ सिट हुने भएको छ । त्यस्तै गण्डकीमा राप्रपाले पनि समानुपातिकतर्फ २ सिट प्राप्त गरेको छ । गण्डकीमा मनाङ प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका राजीव गुरुङ एकीकृत समाजवादी पार्टीमा प्रवेश गरिसकेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित हुन्छन् । गण्डकीमा सरकार बनाउन आवश्यक बहुमत संख्या ३१ हो । जसमा कांग्रेस एक्लैलाई सरकार बनाउन ४ सिट मात्र कम हुन्छ । त्यसमा सत्तारूढ गठबन्धनभित्रका माओवादीको ८ र एसको १ सिट थपिएमा सहज रूपमा सरकार बन्ने देखिन्छ । अहिलेकै गठबन्धनले निरन्तरता पाए उनीहरूको पक्षमा ३६ सांसदको समर्थन जुट्नेछ । २२ सिट रहेको एमालेलाई भने सरकार बनाउन राप्रपा र माओवादीको समर्थन भए मात्रै सहज हुनेछ । समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्नेछ ।

लुम्बिनी : एमाले ठूलो दल

लुम्बिनी प्रदेशमा प्रत्यक्षमा १८ र समानुपातिकतर्फ ११ सिट प्राप्त गरेको एमाले ठूलो दल बनेको छ । कांग्रेसले प्रत्यक्ष १७ र समानुपातिकमा १० सिट प्राप्त गरेको छ । दुवै प्रणालीमा गरी एमालेको २९ र कांग्रेसको २७ सिट भएको छ ।

त्यस्तै माओवादीले प्रत्यक्ष ५ र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ २/२ सिट जितेका राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ पनि २/२ सिट पाएका छन् । प्रत्यक्षतर्फ २/२ सिट जित हात पारेका जसपा र लोसपाले भने समानुपातिकतर्फ भने १/१ सिट मात्र पाएका छन् । त्यस्तै प्रत्यक्षतर्फ १ सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ २ सिट पाएको छ । प्रत्यक्षतर्फ नतिजाविहीन रहेका नेकपा एस र राष्ट्रिय जनमोर्चाले पनि समानुपातिकतर्फ १/१ सिट प्राप्त गरेका छन् । लुम्बिनीमा प्रत्यक्ष ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित हुन्छन् । सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । यदि अहिलेकै सत्तारूढ गठबन्धन कायम हुने हो भने कांग्रेसको २७, माओवादीको ९, एस र जनमोर्चाको १/१ गरी ३८ सिट हुन्छ । सरकार बनाउन सत्तारूढ गठबन्धनलाई ६ सिट अपुग हुन्छ ।

कर्णाली : पहिलो दल कांग्रेस, दोस्रो माओवादी

कर्णाली प्रदेशमा ३२.७१ प्रतिशत मत प्राप्त गरी समानुपातिकतर्फ कांग्रेसले ५ सिट प्राप्त गरेको छ । त्यस्तै ३०.३६ प्रतिशत मत प्राप्त गरेको एमालेले पनि ५ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादीले २४.४६ प्रतिशत मत ल्याएर ४ सिट प्राप्त गरेको छ । त्यस्तै एस र राप्रपाले १/१ सिट प्राप्त गरेका छन् । प्रदेशमा १.५९ मत प्राप्त गरे पनि नेमकिपाले भने समानुपातिकतर्फ सिट पाउन सकेन । प्रदेशसभामा प्रत्यक्ष २४ र समानुपातिकतर्फ १६ जना सांसद निर्वाचित हुन्छन् । प्रत्यक्षमा ९ र समानुपातिकमा ५ गरी १४ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । त्यस्तै प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ सांसदसहित माओवादी दोस्रो दल बनेको छ । प्रत्यक्षमा ५ र समानुपातिक पनि ५ सिट जितेको एमाले तेस्रो दल बनेको छ ।

सुदूरपश्चिम : सरकार गठन गठबन्धनलाई सहज

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा १८ सिट प्राप्त गरी कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसको प्रत्यक्षमा १२ र समानुपातिकमा ६ सिट छ । यस्तै माओवादीले प्रत्यक्ष ८ र समानुपातिकमा ३ सिट पाएको छ । प्रत्यक्षमा ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट प्राप्त गरेको छ । एमालेले जम्मा १० सिट प्राप्त गर्दा माओवादी ११ सिट प्राप्त गर्दै दोस्रो दल बनेको हो । प्रत्यक्षमा ५ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ३ सिट प्राप्त गरेको छ । राप्रपा र एसले पनि समानुपातिकमा १/१ सिट पाएका छन् । सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ सांसद निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर २१, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?