कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सा आयोगले भन्यो- ‘अनुमति नपाएका कलेजमा भर्ना नहुनू’

भक्तपुरमा सुवाल इन्टरनेसनल कलेजले अनुमति बिना विद्यार्थी भर्ना गरेर पठनपाठन थालेको थियो ।

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेका शिक्षण संस्थामा भर्ना नहुन विद्यार्थी र अभिभावकलाई सचेत गराएको छ ।

चिकित्सा आयोगले भन्यो- ‘अनुमति नपाएका कलेजमा भर्ना नहुनू’

आयोगले विज्ञप्ति प्रकाशन गर्दै केही शिक्षण संस्थाले अनुमति बिना नै विद्यार्थी भर्ना लिएकोमा ध्यानार्कषण भएको जनाएको हो ।

भक्तपुरको सूर्यविनायकस्थित सुवाल इन्टरनेशनल कलेजले नर्सिङ, फार्मेसी, एचए लगायत विषयमा करिब ३ सय विद्यार्थी भर्ना गरेको सार्वजनिक भएको थियो । अवैध शिक्षण संस्था संचालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुल्ने कलेजका प्रिन्सिपल/संचालक प्रकाश सुवाललाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी विषयको पठनपाठन गराउन आयोगबाट अनुमति लिनुपर्ने प्रावधान छ भने सिट निर्धारण समेत आयोगले गर्ने व्यवस्था छ । तर सुवाल कलेज संचालनमा रहेको विषयमा शिक्षा मन्त्रालय, आयोग, सीटीईभीटी, त्रिभुवन विश्वविद्यालय लगायत नियामक निकायले अनविज्ञता जनाउँदै आएका छन् । आयोगका सदस्यसचिव भोजराज काफ्लेले अनुमपति बिना संचालित शिक्षण संस्थालाई सम्बन्धित निकायबाट कारबाही हुने चेतावनी दिएका छन् ।

सुवाल प्रहरी नियन्त्रणमा रहे पनि कलेजका कर्मचारीले विद्यार्थीलाई अनुमति लिने प्रक्रियामा रहेको भन्दै पठनपाठनलाई निरन्तरता दिने आश्वसन दिँदै आएका छन् । कानुनत: अनुमतिपछि कलेज स्थापना गरेर मात्रै भर्ना, पठनपाठन लगायत गतिविधि अघि बढाउन पाइन्छ ।

संचालक सुवालले अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा पठनपाठन थालेका थिए भने इन्जिनियरिङ, चिकित्सा शिक्षा लगायतमा भर्नाका लागि सूचना आह्वान गरेको छ । प्रति विद्यार्थी ७५ हजारको दरले शुल्क लिएर २ करोडभन्दा बढी जम्मा गरेको अनुमान गरिएको छ । भर्ना भएका विद्यार्थीसँग ३ लाख ५० हजारको दरले पढाइ शुल्क लिने संचालकको तयारी रहेको थियो । अवैध कलेज संचालन गरेको थाहा पाएपछि नेत्रविक्रम चन्द्र निकट अखिल क्रान्तिकारीले तोडफोड गर्दै तालाबन्दी समेत गरेको छ ।

प्रकाशित : मंसिर १९, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?