कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइनस चिसोमा कीर्तिमानी साइकलयात्रा

आश गुरुङ

लमजुङ — बेनी बजार, म्याग्दी । बुधबार राति ११:२२ बजे । मुस्ताङ आउजाउको बाटैमा पर्ने यो बजारका अधिकांश बासिन्दा सुतिसकेका थिए । यहीँबाट चर्चित क्यानेडियन साइक्लिस्ट करी वालेसले यात्रा थाले । २० घण्टा ३० मिनेट लगातार साइकल चलाएर उनले २ सय १७.२३ किलोमिटर पहाडी र उच्च हिमाली भूभाग छिचोले । बिहीबार बेलुकी ७:५२ बजे लमजुङको बेंसीसहर आइपुग्दा उनी पसिनाले लुछुप्प भिजेका थिए ।

माइनस चिसोमा कीर्तिमानी साइकलयात्रा

विश्व चर्चित साइकल दौड प्रतियोगिता याक अट्याकको १४ औं संस्करणमा भाग लिन आएका ३८ वर्षीय करी आफ्ना यसअघिका चार रेकर्ड तोडेर पाँचौं पटक च्याम्पियन बने । यो विजयपछि एक साता आराम गरेर उनले म्याग्दीको बेनीदेखि पदमार्गको ‘उल्टो यात्रा’ थालेका थिए । चक्रीय अन्नपूर्ण पदमार्गको लमजुङ बेंसीसहरबाट सुरु हुने यात्रालाई ‘सुल्टो’ मानिन्छ ।

चक्रीय अन्नपूर्ण पदमार्गको उच्च हिमाली क्षेत्रमा आयोजित यस वर्षको याक अट्याक–२०२२ मा ८ मुलुकका ११ जनासँगै ९ जना नेपाली साइकलयात्री पनि सहभागी थिए । ८ दिनको समयावधि दिइने २ सय २० किलोमिटरको उकालीओरालीलाई साइकलमा उनले १४ घण्टा ५४ मिनेट ३७ सेकेन्डमा पार गरेर विगतको आफ्नै कीर्तिमान तोडे ।

प्रतियोगिता सकिएपछि करीले थालेको साइकल यात्राको आफ्नै उद्देश्य थियो । उनको ‘उल्टो यात्रा’ लाई माउन्टेन बाइकिङ वल्र्डवाइड लिमिटेड र माउन्टेन बाइक (एमटीबी) नेपालले सहयोग गरेको थियो । यो यात्राअघि उनले नेपालमा साइकल यात्राको ट्रेन्डलाई व्यावसायिक तवरले विकास गर्न काठमाडौंस्थित नेपाल साइक्लिस्ट राइड टु रेस्क्यु (एनएसआरआर) संस्थालाई सहयोग गर्न डिजिटल प्लेटफर्म ‘गो फन्ड मी’ मार्फत सहयोगको आह्वान गरेका थिए । ४ हजार क्यानेडियन डलर संकलन गर्ने लक्ष्य लिएकोमा लगभग पूरा भएको उनले बताए । एमटीबी नेपालका निर्देशकसमेत रहेका अजय पण्डित क्षेत्रीका अनुसार करीले च्यारिटीबाट संकलन गरेको रकमबाट नेपाली साइक्लिङ खेलाडी उत्पादन गर्ने संस्था नेपाल साइक्लिस्ट ट्रेनिङ सेन्टरलाई सहयोग मिल्नेछ ।

सडकबत्तीको उज्यालोमा सहयात्रीले तस्बिर खिचेपछि करीको साइकलयात्रा बेनीबाट भएको थियो । जोमसोम–मुक्तिनाथ हुँदै उकालोमा साइकल बोक्ने र गुडाउँदै थोराङ्ला भन्ज्याङ चढ्दा बिहान भइसकेको थियो ।

मनाङ र मुस्ताङको सीमावर्ती क्षेत्र दिउँसोको घाम लाग्ने समयबाहेक निकै चिसो छ । ‘माइनस डिग्रीको तापक्रम छ । म हस्याङ्फस्याङ साइकल चलाउँछु, बोक्छु, धकेल्छु । मलाई पसिनाले भिजायो,’ करिले यात्राअनुभव बताए, ‘मैले मेरो यसअघिका सबै रेकर्ड तोड्नु छ भनेर उकालोमा पनि दौडिएँ ।’

पूर्वबाट उदाउँदै गरेको घामको लालीसँगै थोराङ्ला पुगेपछि उनले लामो सास फेरे । त्यसपछिको ओरालो साइकलमा हुइँकिएका उनले बाटोमा को आए, को गए कसैलाई हेरेनन् । माथिल्लो मनाङ, मनाङ सदरमुकाम चामे, धारापानी भएर लमजुङ–मनाङ सीमाक्षेत्रको तालगाउँमा आएपछि उनलाई गाह्रो भयो । बेंसीसहर आइपुग्दा झमक्क अँध्यारो भइसकेको थियो । ‘याक अट्याक’ मा ८ दिन लगाएको यात्रालाई उनले यसअघिका आफ्नो ३ वटा कीर्तिमान तोड्दै लगातार साइकल चलाएर नयाँ बनाए ।

‘मलाई मेरो गन्तव्यमा सकेसम्म छिटो पुग्नु थियो । यसअघिको मेरो कीर्तिमानलाई भंग गर्नु थियो । मैले मेरो यात्राबाहेक अरु कहींकतै केही देखिनँ । बेंसीसहरमा आएर साइकल पल्टाएर लामो सास फेरें । एकछिन आँखा चिम्लिएपछि हेरें । त्यसपछि होटल आएँ,’ उनले भने । उनले आफ्नो फेसबुकमा ‘हिमालयको मुटु १७ हजार ८ सय फिट भएर २ सय १७ किलोमिटर पार गरेको यो दिन आफ्नो लागि जीवनभर सम्झना रहने छ’ भनी लेखेका छन् ।

यात्राको सुरुवातमा मुक्तिनाथसम्म उनलाई साथीहरू राजन भण्डारी र अजय कार्कीले साथ दिएका थिए । ‘थोराङ्लासम्मको उकालो र त्यहाँबाट बेंसीसहरसम्मको यात्रामा एक्लै थिएँ’ उनले भने, ‘मेरो शक्ति ताल (लमजुङ र मनाङको सीमाना) सम्म राम्रै थियो । त्यसपछि घट्दै गयो । बेंसीसहरसम्म आइपुग्दा मलाइ निकै गाह्रो भइसकेको थियो ।’ तालदेखि बेंसीसहरसम्मको ३५ किलोमिटर दूरी पार गर्न निकै सकस भएको अनुभव उनले सुनाए । २००८ देखि साइकल रेसहरूमा भाग लिन थालेका करी वालेस यो क्षेत्रमा विश्वप्रसिद्ध छन् । साइक्लिङ प्रतियोगिताहरूमा थुप्रै रेकर्ड राखेका करीले चक्रीय अन्नपूर्ण पदमार्गमा हुने साइकल प्रतियोगितामा भने २०१७ देखि भाग लिन थालेका हुन् । पहिलो यात्रामा बेंसीसहरबाट म्याग्दीसम्मको दूरीलाई उनले २३ घण्टा ५७ मिनेटमा पार गरेका थिए । यही दुरी सन् २०१८ मा २१ घण्टा २७ सेकेन्डमा छिचोले भने २०१९ मा २० घण्टा ३३ मिनेटमा पार गरे । यस पटकको ‘उल्टो यात्रा’ मा भने उनले यी तीन कीर्तिमान तोडेका छन् ।

साइक्लिङको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वल्र्ड सोलो ट्वन्टी फोर आवर माउन्टेन बाइक’ मा सन् २०१७ यता चार पटक च्याम्पियन बनेका कोरीले पछिल्लो यात्राको दूरी जीपीएस प्रयोग गरेर नापेका छन् । दुईपटक क्यानेडियन म्याराथन च्याम्पियन बनिसकेका उनले २०१७ मा इटाली र सन् २०१८ मा स्कटल्यान्डमा आयोजित विश्व च्याम्पियनसिपमा २० देशका ३ सय ५० भन्दा बढी सहभागीलाई उछिन्दै उपाधि जितेका थिए ।

अमेरिका, ग्वाटेमाला, मंगोलिया, श्रीलंका, अस्ट्रेलिया, युरोप, अफ्रिकालगायत ४० देशमा साइकल दौडाइसकेका उनले नेपालका खुम्बु, सोलखुम्बु, मनास्लु, चितवन, लुम्बिनी, कालिञ्चोकलगायत क्षेत्रमा साइकल कुदाइसकेका छन् । सन् २०१४ मा याक अट्याक प्रतियोगितामा भाग लिँदा उनले नमिठो अनुभव बटुलेका थिए । त्यतिबेला उनी एक सातासम्म पखाला चलेर बिरामी परेका थिए । त्यसबेला आफूलाई प्रदूषणका कारण त्यस्तो भएको उनको ठम्याइ छ । त्यसैले उनी यात्रामा प्रदूषण घटाउन साइकल चलाउनुपर्छ भन्ने सन्देश दिन्छन् । उनी भन्छन्, ‘सबैले साइकल चलाउनुपर्छ ताकि प्रदूषण घटाउन मद्दत मिलोस् ।’

प्रकाशित : मंसिर १८, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?