परदेशको पसिना सदुपयोग गर्ने वातावरण बनाउन माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परदेशको पसिना सदुपयोग गर्ने वातावरण बनाउन माग

कान्तिपुर संवाददाता

बुटवल — नेपालबाट दैनिक एक हजार ३ सय युवा रोजगारीका लागि बाहिरिन्छन् । यसबाट देशमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको हिस्सा २८ प्रतिशत छ ।

देशको यति ठूलो अर्थतन्त्र धान्ने वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र परदेशमा बगाएको पसिनाबाट सिर्जीत रकमको सही सदुपयोगमा भने राज्यको ध्यान जान सकेको छैन । राज्य अभिभावक भएर वैदेशिक रोजगारीमा जानेबेलादेखि फर्केसम्म सहजीकरण गरे मात्रै रेमिट्यान्सको सही सदुपयोग हुने सरोकारवालाहरूले बताएका छन् ।

बुटवलमा शनिबार आयोजित ‘परदेशको पसिना : कसरी लिने प्रतिफल ?’ विषयमा केन्द्रित रहेर वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका विषयमा छलफलमा सहभागीहरूले यस्तो प्रतिक्रिया दिएका थिए।

राज्यले लगानी नडुब्ने वातावरण बनाइदिनुपर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाएर समृद्धि खोज्नुपर्ने भन्दै अन्तरक्रियामा सहभागीहरूले सुझाव दिएका थिए । वैदेशिक रोजगारीबाट फर्केकाले लिएर आउने रकम मात्र होइन ज्ञान, सीप र उद्यमी बन्ने खुबीलाई प्रयोग गर्न सरकारी नीतिमा सुधार ल्याउन उनीहरूको माग थियो । ‘हामी विदेशमा सिकेको सीप, त्यहाँ कमाएको रकम यहाँ उपयोग गर्न चाहान्छौं,’ ८ वर्ष खाडी मुलुकमा बसेर फर्केका नवराज भुसालले भने, ‘तर कहाँबाट सुरु गर्ने र अगाडि बढ्ने दिशा निर्देश गर्ने कोही छैन ।’

वैदेशिक रोजगारीबाट फर्केका दुर्गा भुसालले अस्पष्ट नीति, अदूरदर्शी नेतृत्व र भ्रष्ट कर्मचारीतन्त्रका कारण वैदेशिक रोजगारीको रकमको सही सदुपयोग र फर्किएकाहरू उद्यमी बन्न नसकिरहेको बताए । उनले वैदेशिक रोजगारीमा जानेको निश्चित प्रतिशत रकम बैंकमा अनिवार्य जम्मा गर्ने नीति मात्रै बनाउन सके पनि फर्केपछि सहज हुने बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई पनि एउटा आधारभूत आवश्यकता पूरा गर्न रकम जम्मा गर्ने र अर्को लगानी गर्न बचत गर्ने प्रयोजनमा दुईवटा बैंक खाता अनिवार्य गर्न सके उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको सदुपयोग हुने बताए ।

विश्लेषक ध्रुव आचार्यले रेमिट्यान्सको सही सदुपयोगका लागि वैदेशिक रोजगारीमा गएका परिवारलाई समेत परामर्श गर्नुपर्ने बताए । ‘राज्यले नै निश्चित प्रतिशत उत्पादन क्षेत्रमा लगाइदिनुपर्छ,’ उनले भने । विश्लेषक मनिकर कार्कीले परदेशको पसिनाको प्रतिफल निकाल्ने बहसअघि स्वदेशको पसिना स्वदेशमै कसरी लगाउने भन्नेबारे पनि छलफल चलाउन सुझाव दिए ।

किताब पब्लिसर्सले गरेको अन्तरक्रियामा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्किएकाको तथ्यांक वडास्तरबाटै संकलन गर्ने काम भइरहेको बताए । उपमहानगरले वैदेशिक रोजगारीमा जानुअघि अपनाउनु पर्ने उपाय, रेमिट्यान्सको सदुपयोग र फर्केका युवाको पुर्नस्थापना गर्न उनीहरूबीच छलफल, मनोपरामर्श र उद्यमशीलता कार्यक्रमसमेत संचालन गरिएको उनले जनाए । ‘बेरोजगारलाई रोजगारीमा जोड्न, सीप सिकाउन र सीपलाई काममा जोड्न काम थालिएको छ,’ प्रमुख पाण्डेयले भने, ‘तर स्वदेशमा बस्नुपर्छ र यहीँ काम गर्नुपर्छ भन्ने संस्कार नसिक्दासम्म समस्या छ ।’

लुम्बिनी प्रदेशका अर्थ सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशले श्रम तथा रोजगार नीति बनाउदै गरेको बताए । वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप मापन गर्न र उनीहरूलाई सीप अनुसारको रोजगारीमा जोड्न बजेट विनियोजन गरेको उनले जनाए । ‘वैदेशिक रोजगारीबाट फर्केका युवालाई पुर्नस्थापित गर्न उद्योग खोल्दा प्राथमिकता दिनेदेखि कृषि व्यवसाय, उद्योगधन्दा संचालनमा अनुदानको व्यवस्था गरिएको छ,’ उनले भने, ‘यद्यपि स्थानीय तहबाट यकिन तथ्यांक नआउँदा कार्यान्वयनमा कठिनाइ देखिएको छ ।’ सचिव सुवेदीले परदेशको पसिनाको सही प्रतिफल निकाल्न उनीहरूले पठाउने रेमिट्यान्सको सदुपयोगबारे पनि सहजीकरण चलाउने योजना बनाएको उनले बताए ।

श्रमिक संजालका सदस्य संगीता तिमिल्सिनाले वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्स धेरैजसो आधारभूत आवश्यकतामै खर्च हुँदा त्यसको देखिनेगरी प्रतिफल नहुने बताइन् । ‘एउटा महिला विदेश गएर कमाएर छोराछोरी पढाउँछिन्, स्वाथ्योपचारमा खर्च गर्छिन् । यसले समाजमा शिक्षित र स्वस्थ जनशक्ति उत्पादनमा भूमिका खेल्छ,’ उनले भनिन्, ‘तर समाजमा यस्तो काम देखिँदैन ।’ सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थुप्रै कार्यक्रम ल्याएको बताए पनि त्यसमा आफ्नो पहुँच नपुगेको उनले गुनासो गरिन् । ‘आप्रवासनबाट फर्केका महिलाको सवालमा सामाजिक विभेद र लाञ्छना बढी हुने भएकाले कतिपय महिला परिवारमै पुर्नस्थापित हुन नसक्ने र मानसिक समस्यामा फस्ने गरेका छन्,’ उनले भनिन्,‘यस्ता महिलाले समाज र राज्यबाट सहयोग पाउँदैनन् ।’

लेखक रामचन्द्र श्रेष्ठले राज्य अभिभावक बनेर काम थालेमात्रै वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र त्यसको आयबाट उचित प्रतिफल निकाल्न सकिने बताए । ‘वैदेशिक रोजगारीमा जान चाहनेलाई सीप र क्षमता विकासदेखि वैदेशिक रोजगारीमा उचित पारिश्रमिक दिन श्रम सम्झौता गर्ने र उनीहरूको आम्दानीलाई आयमूलक काममा लगाइदिने काम राज्यको हो । यो भूमिका राज्यले पूरा गर्नुपर्छ,’ श्रेष्ठले भने ।


प्रकाशित : मंसिर १७, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्

स्याङ्जा- २ मा कांग्रेस उपसभापति गुरुङ विजयी

प्रतीक्षा काफ्ले

स्याङ्जा — नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।

५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषण भने गर्न बाँकी छ ।

समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । गुरुङ क्षेत्र नम्बर १ का भए पनि पार्टीले २ बाट उठाएको हो ।

अर्यालको भने यससहित तेस्रो प्रतिस्पर्धा हो । यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी थिइन् ।

पूर्वमन्त्रीसमेत रहेकी अर्याल २०७४ अघि समानुपातिक सांसद भइसकेकी छन् । स्याङ्जा–२ मा मतदान भएको १० दिनपछि मतगणना भएको थियो । विदेश गएका र मरेका व्यक्तिको नाममा मतदान भएको आरोप लगाउँदै एमाले लगायतका दलहरुले पु: मतदानको माग गरेर आन्दोलन गरेपछि १० दिनसम्म मतगणना रोकिएको हो । निर्वाचन आयोगको निर्देशन अनुसार बुधबार रातीदेखी मतगणना सुरु गरिएको थियो । यहाँ सम्पन्न भएसँगै गण्डकी प्रदेशमा मतगणना सम्पन्न भई चुनावी परिणम सार्वजानिक भइसकेको छ ।

प्रकाशित : मंसिर १७, २०७९ २०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×