रोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, बालक घाइते

काशीराम डाँगी

रोल्पा — रोल्पाको सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा शनिबार बिहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान करिब साढे सात बजेतिर रोल्पा नगरपालिका–५ भैंसीकुटीस्थित भित्री सडक खण्डमा लु १ च ५४६४ नम्बरको जिप सडकभन्दा करिब २ सय मिटरमुनि माडी खोलामा खसेको हो । उक्त जिप रोल्पाको बाझबाङबाट प्युठानको किमिचौर बजारतर्फ स्थानीय उत्पादन सामाग्री लैजान र आवश्यक सामान बजारबाट लिन जाने क्रममा थियो ।

जिप अनियन्त्रित भएर खोलामा खस्दा जिपका मालिक समेत रहेका चालक रोल्पा नगरपालिका–५ बाझबाङका ३६ वर्षीय निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको हो । उनीसँगै सवार उनका छोरा ११ वर्षीय प्रताप कवर घाइते भएका हुन् । उनको शरीर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्यूठानतर्फ पठाइएको छ । जिप पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने शवको पोस्टमार्टम गर्न अस्पतालमा लैजान परिवारले तयारी थालेको प्रहरीले जनाएको छ । स्थानीयले मृतक कवरलाई युवा धामीका रूपमा चिन्थे । सल्लिबोटस्थित शिक्षक भूपबहादुर केसीले कवर समाजमा सकारात्मक कार्यका लागि अग्रसर हुने मध्येका रेहको बताए ।

घटनास्थलमा जिल्ल प्रहरी र ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट प्रहरी टोली खटिएको थियो ।

प्रकाशित : मंसिर १७, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

आईएमई बन्यो पब्लिक रेमिट्यान्स कम्पनी, आइपीओ जारी गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको शुक्रबार आयोजित २२औँ साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । यो सँगै नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय आईएमईले थपेको विज्ञप्तिमा उल्लेख छ ।

अब आईएमईले सर्वसाधारणका लागि चाँडै प्राथमिक सेयर निष्कासन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताएका छन् । यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ ।

आईएमई ग्रुपका अध्यक्ष एव‌ं संस्थापक चन्द्रप्रसाद ढकालले पहिलो पब्लिक रेमिट्यान्स कम्पनीका रूपमा आउन पाउँदा खुसी लागेको बताए । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक बनाउन पब्लिकमा लगिएको बताए ।

आईएमईले विश्वभर मनी ट्रान्सफर सेवा प्रदान गर्छ । आइएमईबाट विश्वका दुई सयभन्दा बढी देशहरूबाट देशमा विप्रेषण भित्रिने गरेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजतप्राप्त आईएमई सन् २००१ मा स्थापना भएको थियो ।

प्रकाशित : मंसिर १७, २०७९ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×