धनुषामा जन्ती सवार गाडी दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते- समाचार - कान्तिपुर समाचार

धनुषामा जन्ती सवार गाडी दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते

अजित तिवारी

जनकपुर — धनुषाको वीरेन्द्रबजारमा पूर्वबाट आउँदै गरेको यात्रुवाहक भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको पिकअप भ्यान ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ५ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुई गाडी ठोक्किएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इटहरीबाट महोत्तरीको पिपरातर्फ आउँदै गरेको ना १ ज ८३९६ नम्बरको गाडी र विपरीत दिशा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज१च १४९६ नम्बरको पिकअप ठोक्किएको थियो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको र ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपक रायका अनुसार घटनास्थलमै करिब १२ वर्षको एकजना बालकको मृत्यु भएको थियो भने अरुको उपचारको क्रममा जनकपुर ल्याउने क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा धनुषाको मुखियापट्टी मुसहनिया–४ का २९ वर्षीया रुवी साह, महोत्तरी रामगोपालपुर–७ ससौलकी १७ वर्षीया मञ्जुकुमारी साह उनकै बहिनी १३ वर्षकी सिर्जना साह र धनुषा धनौजी–४ का २५ वर्षीय अब्दुल मन्सुरीको मृत्यु भएको डीएसपी रायले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी छ ।

धनुषा प्रहरीका एसपी बसन्त रजौरेले एउटा वैवाहिक कार्यक्रममा इटहरीबाट सहभागी हुन महोत्तरीको पिपरातर्फ आउँदै गरेको गाडी र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअप ठोक्किएको बताए ।

प्रकाशित : मंसिर १७, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश सांसदमा ४ महिला

महोत्तरीबाट ३ र सर्लाहीबाट १ जना निर्वाचित 
प्रमुख दलले महिलालाई टिकटमा कन्जुस्याइँ गर्दा जित्नेको संख्या कम
अजित तिवारी

जनकपुर — मधेस प्रदेशको ६४ प्रत्यक्ष सिटमध्ये चारवटा मात्रै महिलाले जितेका छन् । प्रमुख दलबाट संघ र प्रदेशमा महिलाको उम्मेदवारी नै न्यून परेकाले जित्नेको संख्या कम भएको हो । अहिले जित हासिल गरेका पनि यसअघि प्रदेश सांसद थिए ।



प्रदेशसभामा महोत्तरीबाट तीन र सर्लाहीबाट एक जना महिला निर्वाचित भएका छन् । सर्लाही–१ को २ बाट नेकपा एकीकृत समाजवादीकी बेची लुङ्गेली १३ हजार ३ सय १ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार शान्तिकुमारी लामा थिइन् । लुङ्गेलीले यसअघि पनि सर्लाहीको सोही क्षेत्रबाट प्रदेशसभामा जितेकी थिइन् । नेकपा विभाजन भएपछि प्रदेशसभामा नेकपा एसकी प्रमुख सतेचक बनेकी उनी प्रदेशसभा बैठकमा बढी उपस्थित हुने सांसद पनि थिइन् । नेकपा एसले यस पटक प्रदेशसभामा ४ सिट जितेको छ । पार्टीका संसदीय दलका नेता एवं प्रदेशका मन्त्री शत्रुघन महतो धनुषा–४ को २ बाट चुनाव हारेपछि लुङ्गेलीले प्रदेशसभामा दलको प्रमुख जिम्मेवारी पाउने आकलन छ ।

यस्तै, महोत्तरी–१ को १ बाट एमालेकी शारदादेवी थापा निर्वाचित भएकी छन् । थापा यसअघि पनि प्रदेशसभाकी निर्वाचित सांसद थिइन् । प्रदेश मामिलाका विभिन्न समितिमा काम गरेकी उनले प्रदेशसभामा जनजीविकाका सबालमा आवाज उठाउँदै आएकी थिइन् । एमाले मधेस प्रदेशमा ठूलो दल बनेपछि थापालाई प्रदेशसभामा उपल्लो जिम्मेवारी दिइने एमालेभित्र चर्चा छ । थापाकै क्षेत्रबाट चुनाव लडेकी राप्रपा नेपालकी रंगिता कर्णले भने २ सय ७९ मत मात्र ल्याइन् ।

महोत्तरी–२ (२) बाट स्वतन्त्र उम्मेदवार बनेकी सुरिताकुमारी साह ८ हजार ५ सय ६८ मत ल्याएर विजयी भएकी छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश्वर यादवलाई पराजित गरिन् । यसअघि उनी त्यही क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट सांसद थिइन् । गठबन्धनका कारण टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । साह सूचना तथा सञ्चार राज्यमन्त्रीसमेत बनेकी थिइन् । साहकै क्षेत्रबाट उम्मेदवारी दिएकी राप्रपा नेपालकी उम्मेदवार संगीतादेवी पाण्डेयले भने न्यून मत ल्याइन् ।

महोत्तरी–३ को २ बाट लोसपाकी रानी शर्मा तिवारी प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएकी छन् । उनले स्वतन्त्र उम्मेदवार उज्जलकुमार झालाई हराइन् । महिलालाई राजनीतिमा अवसर दिनुपर्ने वकालत गर्ने तिवारी महिलाको सवाल र मुद्दामा पार्टीभित्र पनि संघर्ष गर्ने नेतृ हुन् । प्रदेशमा उम्मेदवारी दिएका अन्य महिला उम्मेदवारले भने सम्मानजनक मतसमेत ल्याउन सकेनन् । महोत्तरी–२ को १ बाट नेकपा एसकी उम्मेदवार मन्जुकुमारी यादव ६ हजार २ सय ५१ मत ल्याएर पनि पराजित भइन् । उनलाई लोसपाका जयनुल राइनले पराजित गरे । उनी यसअघि प्रदेशसभामा समानुपातिकबाट सांसद थिइन् ।

जसले चुनाव हारे

सिरहा–३ को २ बाट उम्मेदवारी दिएकी जसपाकी रेणुकुमारी यादवले तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो । सिरहा–४ को २ मा राप्रपा नेपालकी उम्मेदवार भालसैर देवी मण्डलले २२४ मत मात्र पाइन् । त्यही क्षेत्रबाट चुनाव लडेकी स्वतन्त्र उम्मेदवार ललितादेवी पासवानले ६८ मत पाइन् । सिरहा–२ को १ बाट राप्रपाकी उम्मेदवार सुनिताकुमारी साहले २८९ मत, सिरहा–१ को २ बाट बहुजन शक्ति पार्टीकी सुमिन्द्रादेवी मण्डलले ५२० र स्वतन्त्र उम्मेदवार निर्मलाकुमारी यादवले ३२ मत मात्र पाए । यस्तै, सिरहा–१ को १ बाट राप्रपाकी जंगादेवी यादवले ३६८ मत, जनता प्रगतीशिल पार्टीकी समुन्द्रीदेवी सहनीले १८६ र स्वतन्त्र उम्मेदवार पलासदेवी सदायले ७२ मत पाए ।

सप्तरी–१ को १ मा नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार शशिकला कुमारी चौधरीले २०१ मत र नेमकिपाकी उम्मेदवार महावतीदेवी मलाहले ८१ मत पाए । सप्तरी–१ को २ मा नेमकिपाकी सुनिताकुमारी मलाहले २४, २ को १ मा नेमकिपाकी विणादेवी यादवले १३८, स्वतन्त्र उम्मेदवारद्वय चन्द्रकला सिंह र पुनिताकुमारी ठाकुरले थोरै मत मात्र ल्याए ।

रौतहटमा पनि प्रदेशमा उम्मेदवारी दिएका मनिताकुमारी, किरणकुमारी साह, हुसने आरा खातुन, मोमताज अन्सारीले एक हजार मत पनि कटाउन सकेनन् ।

बारा–१ को १ बाट नागरिक उन्मुक्ति पार्टीकी राधाकुमारी चौधरीले १ हजार ३ सय ४४ मत ल्याइन् । पर्सा–२ को २ बाट यसअघि चुनाव जितेकी करिमा बेगमले यसपालि १ हजार ५ सय १ मतमै चित्त बुझाउनुपर्‍यो । जनता समाजवादी पार्टीबाट टिकट नपाएपछि बेगम त्यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार थिइन् । बेगमसँग संविधानसभा र प्रदेशसभाको एक–एक कार्यकालको अनुभव छ ।

प्रकाशित : मंसिर १६, २०७९ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×