आखिर कहाँबाट आउँछन् सुकुम्बासी ? - समाचार - कान्तिपुर समाचार

आखिर कहाँबाट आउँछन् सुकुम्बासी ? 

‘सुकुम्बासी हुनु आर्थिक परिस्थिति मात्र होइन, सामाजिक अवहेलना पनि हो । हामीलाई रहरले सुकुम्बासी भएका हुन् भन्नेहरु हो ! आएर एक रात यो छाप्रोमा बिताऊ, भोलिपल्टदेखि तिम्रा हजार गाली सहन तयार छौं ।’
मधु शाही

काठमाडौँ — अहिले सुकुम्बासीलाई खतरनाक हुकुम्बासीका रूपमा पनि चित्रण गर्न थालिएको छ, कतिपय त्यस्ता पनि छन् । तर, सुकुम्बासी हुनु आर्थिक परिस्थिति मात्र होइन, सामाजिक अवहेलना पनि हो । आम मान्छेहरू कसरी सुकुम्बासी बन्न बाध्य हुन्छन् ? म सुकुम्बासी हुँ भन्दै क्यामरामा बोल्नु रहर हो कि बाध्यता ? उत्तर खोज्न हामीले अहिले चर्चामा रहेकै वाग्मती किनार थापाथलीका सुकुम्बासी बस्ती चहारेका छौं । 

दलमर्दन कामीको थातथलो वाग्मती किनार होइन । उनी तेह्रथुमको विकट दागंपा (हाल लालीगुराँस नगरपालिका–५) मा जन्मिएका हुन् । अन्न उब्जनी हुने खेती थिएन, घरबाहेक जमिन थिएन । वर्षभरि फलामका भाँडा पिट्ने, अन्न फल्ने बेला घरघर डुलेर ज्याला संकलन गर्ने । बालीघरे प्रथामा उनको परिवार निर्भर थियो, तर वर्षभरि खान पुग्ने अन्न जुट्दैनथ्यो ।

बुबाआमा र ९ छोराछोरीसहित ११ जनाको परिवार एउटै छानोमुनि बस्थ्यो । गरिबीको चपेटा त दलमर्दनको परिवारले भोगेकै थियो, त्यसमा पनि दलितमाथिको सामाजिक विभेद सहिनसक्नु थियो । एक दिन उनी स्कुल जाँदै थिए । बाटैमा कथित उपल्लो जातिका छिमेकी भेटिए । ‘आत्मीय भावमा मैले काका ! कहाँ जान लाग्नुभएको भनेर सोधेको मात्रै थिएँ, उनले त थुक्क कामी साइत बिगारिस् भन्दै मुखमा थुकिदिए,’ दलमर्दन सम्झिन्छन्, ‘मेरो कलिलो दिमाग घाइते भयो, म त मान्छे नै होइन कि क्या हो भन्ने छाप पर्‍यो ।’

त्यो घटनापछि उनी स्कुल जान छाडे र ‘मान्छे’ बन्ने थलो खोज्दै काठमाडौं आइपुगे । तर निरक्षर दलित उनलाई न्यानो सद्भाव दिने कोही थिएन । भोकै–प्यासै महिनौं र वर्षौं बित्दै गए, कतैबाट उछिट्टिएर वाग्मती किनारामा पुगे । उनी अहिले त्यहीं सुकुम्बासी बस्तीमा २८ वर्षदेखि संघर्ष गरिरहेका छन् । दलित अधिकार र राजनीतिक क्षेत्रमा जोडिएका छन् । ‘म मान्छे हुँ भनेर चिनाउन काठमाडौं आएँ, राजनीतिमा लागें, तर समाजमा जस्तै राजनीतिमा पनि विभेद छ,’ उनी भन्छन्, ‘राज्यले नै विभेद गर्छ, न्याय खोज्न कहाँ जाऊँ ?’

सुकुम्बासीहरूको तत्काल व्यवस्थापनको माग गर्दै अनशन बसेका दलमर्दन कामी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

दलित भनेपछि सुरुका दिनमा उनले काठमाडौंमा डेरा पनि पाएनन् । नाम–थर ढाँटे, ‘गणेश कार्की’ बनेर तीन वर्ष भाडामा बसे । आफ्नै पहिचान लुकाएर बस्नुपर्दाको पीडाले उनलाई झन् ठूलो चोट दियो । पछि जे पर्छ भन्दै खुलेर दलर्मदन कामी भनी चिनाउन थाले । त्यसपछि भाडा मात्रै होइन, जागिर पाउन पनि मुस्किल परेको उनी बताउँछन् । ‘टेक्ने समाउने ठाउँ नै नभएपछि म सुकुम्बासी अवस्थामा आइपुगें,’ उनी भन्छन् ।

दलमर्दनका दुई सन्तान छन् । तिनैको अनुहारले निराश हुनबाट जोगाएको छ । आफूले जस्तै अशिक्षित, बेरोजगार, भूमिहीन, सुकुम्बासीजस्ता उपनाम सन्तानले भोग्नु नपरोस् भनेर उनी सचेत छन् । तर सरकारको डोजर भोलि आउँछ अरे, आजै आउँछ अरे, महानगरबाट हिँडिसक्यो अरे भन्ने सुनेर लालाबाला दिनहुँ आतंकित हुन्छन् ।

परिवार र आफूलाई पनि भरोसा दिन उनीसँग कुनै पहुँच छैन, त्यसैले महानगरपालिकाले डोजर ल्याएको दिनदेखि उनी आमरण अनशन पनि बसे । तर, राष्ट्रिय भूमि आयोगले तत्काल कुनै पनि स्थानका भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई नहटाउन सम्बन्धित सबै सरकारी निकायलाई निर्देशन दिएपछि शुक्रबारदेखि उनले अनशन तोडेका छन् ।

दलमर्दनका अनुसार सुकुम्बासी टोलमा अधिकांश दैनिकी मजदुरी गरेर जीविकोपार्जन गर्ने निमुखा वर्ग छन् । पहिले यहाँ २ सय ६५ परिवार थिए, अहिले १ सय ३५ मात्र छन् । सरकारले बेलाबेलामा तर्साउँदा धेरै परिवार छिन्नभिन्न भइसकेका छन् ।

दलमर्दनको छिमेकी टहराबाहिर लत्ताकपडा छरपस्ट थिए । पानी थाप्ने प्लास्टिकका भाँडा, भात पकाउने कसौडी र केही थाल–बटुका । ओछ्यान छाप्रोबाहिर धुलाम्मे भुइँमै । सिसा फुटेको थोत्रो दराजको छेउमा पर्मेसीदेवी मुखिया अडेस लागेकी थिइन् । बेलाबेला छामछाम छुमछुम पनि गर्दै थिइन् । फेरि भुइँमा असरल्ल ओछ्यान मिलाउन थाल्थिन् ।

दुवै आँखा नदेख्ने पर्मेसीले फुटेको ऐना छाम्नुको कारण के होला ? ‘यही दराज छ, अलि महँगो सामान भनेको । कसैले उठाइहाल्छ कि भनेर घरिघरि छाम्छु,’ उनी भयभीत हुँदै भन्छिन् । पर्मेसी र पति सल्टु मुखिया दुवै दृष्टिविहीन छन् । काठमाडौं महानगरपालिकाले गत सोमबार डोजर लगाउने तरखर गर्दा छाप्रोबाट सामान निकाल्न दृष्टिविहीन दम्पतीलाई कम्ता सास्ती परेन । अन्दाजका भरमा सामान निकाल्दा दराजको सिसै फुट्यो । उनीहरूको छाप्रोभित्रको महँगो वस्तु भनेकै यही दराज हो । त्यो पनि कसैले दयाले दिएको ।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका दृष्टिविहीन दम्पती सल्टु र प्रमेसी मुखिया । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

पर्मेसी पाँच वर्षको उमेरसम्म आँखा देख्थिन्, त्यसपछि ज्योति बिस्तारै कमजोर हुँदै गयो । ‘पछि त फिटिक्कै देख्न नमिल्ने भयो,’ उनी भन्छिन् । सिरहाको बल्टिया गाउँमा जन्मेहुर्केका पर्मेसीका छिमेकी थिएन सल्टु । उनी जन्मँदै दृष्टिविहीन थिए । ऐलानी जग्गामा बस्दै आएका सल्टु ९ सन्तानमध्येका साइँला हुन् । दृष्टिविहीन, त्यसमा पनि गरिबमाथि गरिने अमानवीय व्यवहार । बुबाआमालाई सास्ती परेका बेला सल्टु १२ वर्षकै कलिलो उमेरमा काठमाडौंमा आए । मागेर पेट पाल्न थाले ।

‘आँखा नदेख्नेले अरू के काम गर्न सक्छ र ?’ उनी भन्छन्, ‘वाग्मतीकै पुलमा बसेर दुई दशकदेखि मागेर पेट पालेको छु ।’ उनी आउँदा वाग्मती पुल पक्की बनिसकेको थिएन । काठको पुल छेउछाउ दिनभर हात पसारेर माग्थे । बेलुका खोलाकै किनारमा सुत्थे । जंगल र झाडी भएको ठाउँमा सल्टुले स्याउलाको बार लगाएर रातमा सुत्न थाले । त्यही छाप्रोमा बस्दाबस्दै पछि पर्मेसीलाई बिहे गरे । वाग्मती किनारको दुर्गन्ध त उनले पचाइसकेका थिए । छाप्रोमा आनन्दले सुत्ने अवसर भने उनीहरूले कहिल्यै पाएनन् । लागूऔषध खाने, मदिरा सेवन गर्ने बदमास केटाकेटी आएर उनीमाथि लुटपाट गर्थे । मागेर जम्मा गरेको पैसा पनि धेरैपटक लुटियो, तर दुःखै भए पनि उनीहरूले मिलेरै जीवन गुजारा गर्दै आएका छन् ।

सुकुम्बासी टोलमै उनले दुई छोराछोरी जन्माएका थिए । पाँच वर्षको छोरा बिरामी परेर बिते । छोरीलाई भने विदेशी संस्थाले पढाउन लगेको सल्टु बताउँछन् । ‘स्याउलाको छाप्रो देखेर विदेशीले टिनको छानो राखिदिए, त्यसैलाई अहिले बिल्डिङ भनेर प्रचार गर्छन्, गाली गर्छन् । सराप्छन् । तर जसका आँखा छैनन्, जोसँग शिक्षा छैन, जोसँग धन र रोजगारी छैन, अब दुनियाँले सरापे पनि योभन्दा बढी के नै होला र ?’ पर्मेसी आफैंसँग बोल्छिन् ।

सुकुम्बासी बस्तीमा डोजर पहिलो पटक आएको होइन । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला राति घेराबन्दी गरेर अचानक डोजर चलाइएको क्षणले यो दम्पतीलाई अहिले पनि तर्साउँछ । त्यतिबेला उनीहरूले एउटा पनि भाँडाकुँडा बाहिर निकाल्न पाएनन् । ‘अहिले महानगरपालिकाले डोजर ल्याउँदा पनि सामान निकालेका थियौं, तर जाने कहाँ ? हाम्रो जग्गा जमिन बताइदेऊ, सरक्कै जान्छौं,’ पर्मेसी भन्छिन् ।

थापाथलीको सुकुम्बासी बस्तीमा थरीथरी समुदायका नागरिक छन् । तर, धेरैजसो भने दलित समुदायका छन् । मोरङ जन्मथलो भएकी कमला रणपहेली (माझी) र गोपाल रणपहेली दम्पती तीनपुस्तादेखि सुकुम्बासी छ । घर कहाँ हो भनेर सोध्दा उनीहरूसँग जवाफ छैन । जन्मेहुर्केको गाउँ भने पथरी शनिश्चरे हो । गाउँकै ऐलानी जग्गामा उनीहरूका पुर्खा बिते । उनीहरू २० वर्षदेखि काठमाडौंमा सुकुम्बासी जीवन बिताइरहेका छन् ।

०५९ मा प्रेमविवाह गरेका उनीहरूलाई गाउँमा बस्ने वातावरण भएन । लुकेर भाडामा बस्न थाले । तर, आफन्तको हेलाहोचो, समाजको तिरस्कार र बेरोजगारीले काठमाडौं आइपुगे । वाग्मती किनारको छाप्रोमै उनीहरूका दुई छोराछोरी जन्मिए । छोराले पनि कलिलैमा बिहे गरेपछि परिवारको संख्या बढ्दो छ, छाप्रोको आकार उही । ‘सुकुम्बासी बन्न कसको रहर होला र ?’ कमला भन्छिन्, ‘सुकुम्बासी भनेको गरिब हुनु मात्र होइन, हेला पनि सहन बाध्य हुनु पनि हो । हामीलाई रहरले सुकुम्बासी भएका हुन् भन्नेहरू हो, आएर एक रात यो छाप्रोमा बिताऊ ।’

उमेरले ९० वर्ष टेकेका भोजपुरका बलध्वज राईको जीवनमा पनि कहिल्यै उज्यालो आएन । सुकिलो घरमा बस्ने उनको सपना अपूरै छ । यतिबेला उनलाई दुई थरी प्रश्नले चिमोटिरहेको छ । अर्को आफूलाई माया गर्ने कान्छो छोरा भर्खरै बितेका छन् । यही बेला छाप्रोमा डोजर लागे कहाँ गएर जीउ लुकाउने ?’ उनको प्रश्नको जवाफ दिने कोही छैन ।

९० वर्षीय बलध्वज राई ।

हुन पनि बस्ती हटाउन महानगरको डोजर आएको दिन उनका कान्छा छोरा अस्पतालमा मृत थिए । उनको अन्त्येष्टि गर्ने कि डोजर रोक्ने ? बूढो ज्यानले सोच्न सकेन । ‘छोरो सम्झेर रोऊँ कि घर सम्झेर, सहारा दिने छोरो दैवले लग्यो, ओत लाग्ने छाप्रो सरकारले खोस्दै छ । अब म कहाँ जाऊँ ?’ प्रश्नमा घोरिएर उनी बर्बरी रोए ।

भोजपुरको भिरालो पाखामा माटाको घर थियो उनको । अन्न उब्जनी गर्ने खेतबारी थिएन । दिनभर साहूको गोठालो गरेर बेलुका ४ माना कोदो पाउँथे । त्यही कोदो पनि ढिकीमा कुट्दा भुस निकालेर ३ मानामा झर्थ्यो । ‘अन्न नहुँदा पेटभरि कहिल्यै खान पाइएन,’ उनी सुनाउँछन् । त्यसैले उनी सहर पसेका हुन् । तर परिस्थितिले किनारामा पुर्‍यायो, उनीजस्ता नागरिकलाई राज्यले किनाराबाट मूलधारमा ल्याउनुपर्ने हो, उल्टै धकेल्ने नीति लिएको छ ।

कतै टेको नपाएपछि वाग्मती किनारका छाप्रामा आइपुग्ने थुप्रै छन् । जसमध्ये, सिरहा लहानकी रन्जुदेवी साह पनि हुन् । सानैमा आमाबुबा गुमाएकी उनको बालविवाह भयो । श्रीमान्को नाममा केही जमिन थियो । एक छोरा र छोरी जन्माएपछि श्रीमान्ले अर्को बिहे गरे । उनी घरबाटै लखेटिइन् । पढाइलेखाइ नभएकी रन्जु सुत्केरी अवस्थामै काठमाडौं आइन् । अरूको घरमा काम गर्न थालिन् । भाडा तिरेर डेरा बस्ने उनको हैसियत थिएन । सुकुम्बासी टोलमा उनी सारीले बारेर बस्न थालिन् । ‘म १७ वर्षदेखि यहीं बस्दै आएकी छु, पहिले लोग्नेले निकालिदियो, महानगरले पनि लखेट्दै छ, म कहाँ जाने थाहा छैन,’ उनी बिलखबन्दमा छिन् ।

धनुषाकी लक्ष्मी यादवको दुवै खुट्टा छैनन् । सानैदेखि शारीरिक अपांगता भएका उनको उपचार गर्दागर्दै परिवारले धेरै खर्च गरे । आमा रहिनन्, जमिन सकियो । त्यसपछि लक्ष्मीको जीवन–संघर्ष सुरु भयो । शिक्षा र सीप छैन, दुवै खुट्टा छैनन् । अरू उपाय नभएपछि मागेर खान थालिन् । माग्न हरेक दिन लगनखेलको सडक धाउँछिन्, ओत लाग्न थापाथली आउँछिन् । ‘सुकुम्बासी बस्तीमा छाप्रो बनाएर बसेको १८ वर्ष पुग्यो, मेरो पूरै जीवन यहीं किनारमा बित्यो, बुढेसकालमा सहारा दिने ठाउँ छाडेर म कहाँ जाऊँ ?’ उनको प्रश्न पनि अनुत्तरित छ ।

प्रकाशित : मंसिर १७, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

‘मंगल चाचा’ सांसद

२०४३ मा सूर्य चिह्न लिएर राष्ट्रिय पञ्चायतमा उठेर पराजित भएका गुप्ता ३६ वर्षसम्म विभिन्न दल चहारेर आठौं पटकमा भने सूर्य चिह्नबाटै निर्वाचित 
मनोज पौडेल

कपिलवस्तु — प्रत्येक निर्वाचनमा मतगणना सुरु हुँदाको दुई–तीन दिनसम्म उनी जहिल्यै अगाडि हुन्थे । सुरुमा कसैले उछिन्न नसक्ने उनी चौथो दिन सुरु भएपछि पछाडि पर्दै जान्थे । सुरुमा जित मिल्ने आसमा हौसिने उनी पछाडि परेपछि निराश बन्थे । उनले यस्तो एक पटक होइन, सात पटकसम्म भोगे । तर उम्मेदवारी दिन छाडेनन् ।

एक दिन त सफल भइन्छ भनेर मनोनयन दाखिलामा अगाडि रहने कृष्णनगर–२ का ७७ वर्षीय मंगलप्रसाद गुप्ता (मंगल चाचा) मंसिर ४ को निर्वाचनमा कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बने ।

मतदानको भोलिपल्ट गणनाको सुरुवातमै उनले अग्रता लिएका थिए । तीन दिनसम्म अग्रता कायम रहे पनि विगत सम्झेर ढुक्क भने थिएनन् । ‘फेरि पुरानै नियति दोहोरिने चिन्तामै थिएँ,’ उनले भने, ‘यस पटक चौथो दिनसम्म पनि प्रतिस्पर्धी अगाडि आएनन्, निरन्तर अग्रता बनाइरहें ।’ पाँचौं दिन मतान्तर झन् बढाए । त्यसपछि ढुक्क भए । २०३९ देखि निर्वाचन लड्दै आएर उपविजेतामा सीमित रहने गरेका उनी आठौं प्रयासमा फराकिलो मतान्तरले विजयी भए । लामो समय चुनाव लडेर यस पटक जितको इतिहास रच्ने मंगल चाचाको अहिले कपिलवस्तुमा चर्चा छ ।

यस पटक उनी एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनले कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहलाई ३ हजार ६ सय ३७ मतको फराकिलो अन्तरले हराए । उनले २० हजार ८ सय ५२ मत प्राप्त गरे भने शाहले १७ हजार ७ सय ८८ मत ल्याए । २०२४ मा पहिलो पटक उम्मेदवार बन्दा गुप्ता २२ वर्षका थिए । त्यसबेला ७५ जिल्लाका प्रतिनिधिले मत दिएर उनी नेपाल युवक संगठनको केन्द्रीय सदस्य भएका थिए । पञ्चायतको युवक संगठन राम्ररी सम्हालेका उनी त्यतिबेला प्रभावशाली नेता मानिन्थे । पञ्चायतका तार्किक, बुद्धिजीवी र प्रभावशाली नेता उनलाई जीवनमा दोस्रो जित निकाल्न ५५ वर्ष कुर्नॅ पर्‍यो ।

लामो समयदेखि पराजयको पीडा भोग्दै आएका उनमा अहिले जित हात पार्दा खुसीको सीमा छैन । ‘लोकतन्त्रको सुन्दर पक्ष हार–जित हो,’ उनले भने, ‘म पराजित भए पनि जनताको सेवामा लागिरहें ।’ प्राविधिक कारणले हारे पनि कुनै न कुनै बेला जनताले मलाई न्याय दिन्छन् भन्ने आशा मनमा रहेको उनले सुनाए । ‘अहिले जनताको मनमा बस्न पाउँदा जीवनको उत्तरार्द्धमा आनन्दित बनेको छु,’ उनले भने ।

थोरै भए पनि गरिब विपन्न जनताको अनुहारमा उज्यालो ल्याउन सके आफ्नो जितको सार्थकता हुने उनले सुनाए । चार दशकदेखिको संघर्ष सफल हुँदा हतास र निराश हुनुहुँदैन भन्ने शिक्षा पाएको उनले बताए । गुप्ता सुरुमा २०३९ मा तत्कालीन जिल्ला पञ्चायत सभापतिमा चुनाव लडेका थिए । दमाहा चुनाव चिह्न पाएका उनी पराजित भए । त्यसपछि २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिए । बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक व्यवस्थाका ६ वटा निर्वाचनमा पराजय भोग्नु पर्‍यो । तीन पार्टी परिवर्तन गरे र चौथो पार्टी एमालेबाट चुनाव जिते ।

२०४३ मा सूर्य चुनाव चिह्न लिएर राष्ट्रिय पञ्चायत सदस्य लडेका उनी २४ हजार मत ल्याउँदै चौथो भएका थिए । संयोग ३६ वर्षपछि त्यही सूर्य चिह्न लिएर लडेका उनले अहिले विजयको माला पहिरिएका छन् । उनी एमालेका पुराना कार्यकर्ता भने होइनन्, गत पुस ६ मा पार्टी प्रवेश गरेका हुन् ।

२०२४ देखि राजनीति थालेका गुप्ता २०४८, २०५१ र २०५६ मा कांग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नं. ४ बाट संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए । २०७० र २०७४ को संविधानसभा सदस्य र संसदीय चुनाव तमलोपा र मधेसी जनअधिकार फोरमबाट लडे । सबै निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी बनेर चित्त बुझाउनु पर्‍यो । एक पटक कांग्रेसले समानुपातिकमा नाम राखे पनि उनी सांसद हुन पाएनन् ।

उनका साथी भगवानदास गुप्ता, राघवेन्द्रप्रताप शाह, हरिनारायण रजौरिया र दीपकुमार उपाध्यायले पटक–पटक जितको स्वाद चाखे पनि उनले भने सधैं पराजय भोग्दै आएका थिए । शाह, रजौरिया र उपाध्याय मन्त्रीसम्म भए । ‘मंगल चाचा विचलित भएनन् । धैर्य र संयम भएर राजनीतिमा लागिरहे । जनताको सेवा गरिरहे,’ स्थानीय मौलाना मकसुद नेपालीले भने, ‘लामो त्याग र संघर्षलाई जनताले अनुमोदन गरे । जनताले न्याय गरे । अहिले हामी निकै खुसी छौं ।’ पञ्चायत र संघीय गणतन्त्रमा निर्वाचन धेरै फरक भएको उनले बताए ।

‘पञ्चायतमा चुनाव चिह्न मात्र हुन्थ्यो । आफूले गर्न सक्ने काम, व्यक्तित्व र प्रभावका आधारमा चुनाव लडिन्थ्यो,’ मंगलप्रसाद अनुभव सुनाउँछन्, ‘चुनाव चिह्न देखाउने र बुझाउने काम हुन्थ्यो । सभा, भेला र मञ्चका कार्यक्रम गरेर मतदातालाई रिझाउने गरिन्थ्यो । दुई–चार जना सहयोगीको भरमा प्रचारमा निस्किन्थ्यौं ।’ पञ्चायतकालमा गाना बजाना र गीतसंगीतको माध्यमबाट पनि मतदातालाई आकर्षित गरिन्थ्यो उनले सुनाए । ‘पढेलेखेका कम थिए । बुझाउनै गाह्रो थियो,’ उनले भने, ‘तर, अहिले चुनावमा व्यक्तिभन्दा पार्टी संगठन बढी परिचालित हुन्छ । पार्टी नै लाग्छ । पार्टीको एउटा घोषणापत्र र नीति कार्यक्रम हुन्छ । त्यही सुनाउँदै, देखाउँदै जनताबीच पुगिन्छ ।’

प्रचार शैली पञ्चायतकालको भन्दा अहिले धेरै सजिलो भएको उनले सुनाए । पढेलेखेका र आईटी बुझेका युवा पंक्तिका कारण पनि अहिले चुनाव फरक भएको उनको अनुभव छ ।

२०४३ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा ४ हजार भारुमा राजदूत मोटरसाइकल किनेर निर्वाचन क्षेत्रभरि प्रचारमा डुलेको उनले सम्झना गरे । ‘पूरै जिल्ला कोठीदेखि अर्रा नदीसम्म एउटा क्षेत्र थियो,’ उनले भने, ‘झन्डै ८ हजार किमि मोटरसाइकल चलाएर प्रचार गरें ।’ २०४३ सालमा १ लाख १५ हजार रुपैयाँ चुनावमा खर्च भ्याएको र अहिले प्रतिनिधिसभाको निर्वाचनमा खटिइरहँदा झन्डै २९ लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।

चार दशकदेखि चुनाव लड्दै आएका कारण उनको जनतामा राम्रो पकड थियो । ‘१५/१६ हजार मेरा व्यक्तिगत मत थिए,’ उनले भने, ‘त्यसमा मजबुत संगठन भएको एमाले पार्टीसँग जोडिएँ । त्यसैले चुनाव जित्न सहज भयो ।’ पढेलेखेका र त्यतिबेलाका प्रतिभावान युवा गुप्ता पञ्चायती शासकको नजरमा राम्ररी परेका थिए । मधेस क्षेत्रमा युवालाई अगाडि ल्याउन सके राम्रो प्रभाव पार्न सक्ने आकलन गरेरै तत्कालीन शासकले उनलाई राम्रो ‘एक्सपोजर’ दिए ।

तालिम, गोष्ठी र अनुभव आदानप्रदान गर्न २८/३० मुलुक गए । उनी राष्ट्रिय पञ्चायत सदस्यमा पराजित भए पनि पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य बनाइएका थिए । समिति सदस्यलाई पनि राष्ट्रिय पञ्चायत सदस्य बराबरकै हैसियत र सुविधा हुन्थ्यो । समिति सदस्य हुँदा उनले मुलुकका ५५ जिल्ला पुगेर जिल्ला पञ्चायत सभापति, सदस्य, प्रधानपञ्च र सरकारी अधिकारीलाई तालिम दिएका थिए । पञ्चायती शासकले उनलाई भाषण गर्न बढी प्रयोग गर्थ्यो । राजनीतिमा लाग्ने प्रेरणा बुबा लौटनरामबाट पाएको मंगल चाचाले बताए । ‘दमन, अत्याचार र सामन्तवादी विचारको थिचोमिचोविरुद्ध बुबा सधैं लाग्नुभयो,’ उनले भने, ‘त्यही मेरा लागि प्रेरणा बन्यो ।’

मजदुर किसानको हक अधिकार स्थापित गर्न उनी आन्दोलनमा पनि हिँडेका थिए । २०२५ सालमा परासीमा धनही (धान बाली लगाएबापत दिनुपर्ने कर) घटाउनुपर्ने भन्दै आन्दोलन गरे । प्रहरीबाट धरपकड र गोलीसमेत चल्यो । त्यही आन्दोलनले धनही कर घटाएको उनले सुनाए । २०५१ सालमा कांग्रेस आबद्ध नेपाल किसान संघको केन्द्रीय सचिव भए । त्यस्तै कपिलवस्तुमा मोहीको हक अधिकारको स्वामित्व रहेको २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत दिलाउन २०५६ मा उनैले नेतृत्व गरेका थिए । कृष्णनगरमा बिडी उद्योगका मजदुरको आन्दोलन चलाएर पारिश्रमिक बढाएका थिए । २०५६ मा कपिलवस्तुको तौलिहवास्थित प्रशासन कार्यालयअघि कृषकको ३८ सूत्रीय माग राखेर ६७ दिन रिले अनशन बसे । गिरिजाप्रसाद कोइराला आएर उनको अनशन तोडाएका थिए ।

मंगल चाचाको सामाजिक काममा पनि उस्तै रुचि छ । पश्चिमी क्षेत्रको गणेशपुरमा ४० कट्ठा जग्गा दिएर बाबुआमा लौटनराम द्रोपदीदेवीको नाममा विद्यालय सञ्चालन गरेका छन् । त्यस्तै बदौंरमा ९ कट्ठा जग्गा दिएर मंगलप्रसाद स्वतन्त्रतादेवी गुप्ता विद्यालय सञ्चालन गरेका छन् । ‘परिवारको पनि पूरै सहयोग छ,’ छोरा विवेक गुप्ताले भने, ‘त्यही भएर अमेरिका बस्ने चारै जना छोरा चुनावमा यहाँ आएका छौं । बुबा परिवारभन्दा क्षेत्रका जनताको चिन्ता गर्नुहुन्छ ।’

प्रकाशित : मंसिर १७, २०७९ ०७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×