दाहाल र गृहमन्त्री खाँणसँग जनमत पार्टीका अध्यक्ष राउतको भेट- समाचार - कान्तिपुर समाचार

दाहाल र गृहमन्त्री खाँणसँग जनमत पार्टीका अध्यक्ष राउतको भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटवार्ता गरेका छन् । 

राउतले बिहीबार दाहाल र खाँणसँग छुट्टाछुट्टै भेट गरेका हुन् । त्यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका नेताहरुसँग भेटेर सत्ता गठबन्धनमा सहभागी हुने सहमति जनाएका थिए ।

दाहाललाई भेट्न राउत उनकै निवास ललितपुरको खुमलटार पुगेका थिए । दाहालसँग भेटेर शुभकामना आदानप्रदान गरेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाइन् ।

यस्तै गृहमन्त्री खाँणलाई सरकारी निवास पुल्चोकमा भेट गरेका हुन् । गृहमन्त्री खाँणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिएका थिए ।

दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थिरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

त्यस्तै आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि उनीहरुबीच कुराकानी भएको छ ।


प्रकाशित : मंसिर १५, २०७९ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा यू-१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबार सुरु हुने भएको छ ।प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जनाएका छन् ।

नेपालसहित भारत, चीन, चाइनिज ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र यूएई सहभागी हुने छन् ।

पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहनेछ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको घिमिरेले बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रग्बी संघको कार्यबाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित : मंसिर १५, २०७९ १९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×