कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कांग्रेसमा शक्ति संघर्ष सुरु

दलको नेता चुनिने सहज वातावरण बनाउन पार्टीभित्र विभिन्न गुट चलाएका नेता र निर्वाचित भएर आएका सांसदलाई फकाउँदै देउवा, आफ्नो पक्षमा समर्थन जुटाउन दौडधुपमा पौडेल, शेखरलाई कुर्दै गगन
कुलचन्द्र न्यौपाने

काठमाडौँ — गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व लिन कसरत गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अभिभावकको भूमिकामा राख्नुपर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दबाब बढाउन थालेका छन् । शर्माले थापालाई संसदीय दलको नेता र त्यसपछि प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताइसकेका छन् ।

कांग्रेसमा शक्ति संघर्ष सुरु

‘म गगनलाई सांसद निर्वाचित भएकामा मात्र होइन, संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि शुभकामना दिन काठमाडौं आएको हुँ,’ मंगलबार थापालाई भेटेर बुधबारै गृहनगर झापा फर्केका शर्माले भने, ‘परिवर्तनको अभियान प्रारम्भ भइसकेको छ । यसलाई निर्णायक बनाउन सबैको शालीन सक्रियता, परिपक्व संवाद र विवेकपूर्ण भूमिका अपेक्षित छ ।’

प्रत्यक्षतर्फको प्रतिस्पर्धामा पराजित हुनेहरू अधिकांश आफ्नो पक्षका रहेका र संसदीय दलको नेताको निर्वाचनमा गोप्य मतदान हुने भएकाले थापाको चुनौतीलाई देउवाले पनि सामान्य ढंगले लिएका छैनन् । निर्वाचनको सबै परिणाम नआउँदै सरकार निर्माणका लागि गठबन्धनका सहयात्री दलसँग गृहकार्य गरिरहेका देउवाले दलको नेता चुनिने सहज वातावरण बनाउन पार्टीभित्र विभिन्न गुट चलाएका नेता र निर्वाचित भएर आएका सांसदलाई फकाउन थालेका छन् ।

पार्टीको १४ औं महाधिवेशनका बेला प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला मात्रै होइन, पार्टी सभापतिमा मुख्य प्रतिस्पर्धी रहेका शेखर कोइरालालाई समेत आफ्नो पक्षमा पार्ने प्रयासमा देउवा रहेको कांग्रेस नेताहरू बताउँछन् । आफ्नै टिमबाट महामन्त्री जितेका थापा संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धाका लागि आक्रामक ढंगले अघि बढिरहँदा शेखरले मौनता राखिरहेका छन् । उनी आफैं दलको नेतामा प्रतिस्पर्धा गर्ने वा गगनलाई अघि सार्ने भन्ने निर्णय शेखरले गरेका छैनन् । ‘अझै सबै परिणाम आएको छैन, काठमाडौं आएपछि सभापति र गगनजीसँग छलफल गर्छु, त्यसपछि कसरी अघि बढ्ने सोचौंला, अहिल्यै बोल्न हतार हुन्छ,’ विराटनगरमा रहेका कोइरालाले भने ।

गठबन्धन चलाउन विशेष दक्षता रहेकाले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने संस्थापनपक्षीय नेता रमेश लेखक बताउँछन् । ‘ठूलो दलको हैसियतले पहिला सरकारको नेतृत्व कांग्रेसले गर्ने कुरा नै प्राकृतिक हो, त्यही हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘कांग्रेसबाट यस पटक शेरबहादुर दाइको विकल्प देखिएको छैन । गठबन्धनलाई मिलाएर लैजान सक्ने क्षमता पनि उहाँसँग छ ।’

निर्वाचित भएर आएका सांसदसँगको छलफलमा जुटेका थापा भने शेखर राजधानी फर्केपछि आफ्नो अभियानले तीव्रता पाउने बताउँछन् । ‘म अहिले शेखर दाइकै प्रतीक्षामा छु, उहाँसँग छलफल गरेपछि आफ्नो अभियानलाई अझ सशक्त बनाउँछु,’ उनी भन्छन्, ‘महाधिवेशनमा एउटै टिमबाट चुनाव लडेका र टिमको नेतृत्व लिनुभएकाले शेखर दाइको समर्थन रहनेमा मलाई पूर्ण विश्वास छ ।’

नेता पौडेलले पनि यस पटक देउवाले लोभ गर्न नहुने तर्क अघि सारेका छन् । त्यसका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै उनले दौडधुप थालिसकेका छन् । चार दिनअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै पौडेलले जनादेशको सन्देश र परिवर्तनको चाहना सम्बोधन गर्न नेतृत्वमा परिवर्तन आवश्यक रहेको भनाइ राखेका थिए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रत्यक्षतर्फ आफ्नो पक्षका अधिकांश नेताले हारेकाले देउवालाई संसदीय दलको नेता चुनिन सोचेजस्तो सहज नभएको बताउँछन् । देउवाको मुख्य टिममा रहेका गृहमन्त्री बालकृष्ण खाँण रूपन्देही–३ र सार्वजनिक लेखा समितिका सभापतिसमेत भरत शाह रूपन्देही–५ बाट पराजित भएका छन् । १४ औं महाधिवेशनमा आफ्नो पक्षमा आएकाले कृष्णप्रसाद सिटौलाको सहयोग पाउने आस देउवाले राखेका छन् तर सिटौला स्वयं झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारिसकेका छन् । उनको समूहमा रहेका प्रदीप पौडेलले मात्रै चुनाव जितेका छन् । संसदीय दलको नेताको चुनावमा पौडेलले गगनतिर बढी झुकाब राखेका छन् । सिटौला पक्षमा रहेका सहमहामन्त्री उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं र भीमसेनदास प्रधानले चुनाव हारेका छन् । उनीहरू तीनै जना चुनाव जित्ने सूचीमा थिए ।

संस्थापन पक्षमै रहेका अन्य तीन सहमहामन्त्री डिना उपाध्याय, महेन्द्र यादव र भीष्मराज आङदेम्बेले पनि निर्वाचन जित्न सकेनन् । संस्थापन पक्षका मुख्य नेताहरू विजयकुमार गच्छदार, चित्रलेखा यादव, पुष्पा भुसाल, अर्जुन जोशी, उमेश श्रेष्ठ, विश्वनाथ पौडेल, रामजनम चौधरी, सीताराम मेहता, देवेन्द्रराज कँडेल, सुनीलबहादुर थापा र पद्मनारायण चौधरी पनि पराजित भएका छन् । ‘शेखर र गगनको बाटो अलग–अलग भयो भने शेरबहादुरलाई प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्दैन तर एकै ठाउँमा उभिएर संयुक्त रूपमा प्रयास गरे भने यसै पटक नेतृत्व बदल्न सक्ने दरिलो सम्भावना छ,’ विश्लेषक आचार्य भन्छन्, ‘शेरबहादुरबाट कांग्रेसको भविष्य छैन भन्ने कुरा उनकै टिमका मान्छेहरूले समेत महसुस गर्न थालेका छन् ।’

प्रत्यक्षतर्फ देउवालाई लागेको धक्का, समानुपातिकमा करिब एक तिहाइ सांसद शेखर पक्षका आउने सम्भावना र दलको नेताको चुनावमा हुने गोप्य मतदानले देउवाको विकल्पको सम्भावना रहेको आचार्यको भनाइ छ । संस्थापनपक्षीय नेताहरू भने देउवालाई संसदीय दलमा कठिन चुनौती नहुने बताउँछन् । आफैंले टिकट बाँडेर जितेर आएका सांसदहरू देउवाको विरोधमा जाने कुरा असम्भव हुने उनीहरूको तर्क छ । ‘शेरबहादुर देउवाले टिकट बाँडेका छन्, उनले बाँडेको टिकटमा चुनाव जितेर आउने सांसदले अर्कोलाई दलको नेता बनाउँछ भन्ने लाग्दैन,’ संस्थापन पक्षीय एक नेताले भने, ‘शेरबहादुरको नेतृत्वमा चुनावमा जाने, चुनावबाट पार्टी ठूलो भएर आउने अनि प्रधानमन्त्री अर्को व्यक्ति हुन्छ भन्ने कुरा कल्पना गर्न सकिन्न ।’

सरकार निर्माणको गृहकार्यका लागि देउवाले यसै साता माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग दुई पटक र माधवकुमार नेपालसँग एक पटक छुट्टाछुट्टै संवादसमेत गरिसकेका छन् । ती संवादमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व लिने विषयदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीका पद बाँडफाँटको विषय चर्चामा छन् ।

निर्वाचनको परिणाम नआउँदै र पार्टीले संसदीय दलको नेता नबन्दै सरकारको नेतृत्व लिने र आलोपालो सरकार चलाउने विषयमा सत्ता गठबन्धनका सहयात्री दलका नेतासँग देउवाले गरिरहेको संवादप्रति महामन्त्री थापाले भने असन्तुष्टि व्यक्त गरे । दुई/तीन नेतामात्रै बसेर हुने अपारदर्शी ढंगका कुनै पनि निर्णय आफूहरूलाई मान्य नहुने उनको भनाइ छ ।

‘०७२ को निर्वाचनपछि कांग्रेस र एमालेबीच सरकारको आलोपालो गर्ने एउटा गठबन्धन भयो, ०७४ मा एमाले र माओवादीलाई हेरियो । यी दुवै गठबन्धन सफल हुन सकेनन् । गठबन्धन दलबीच खुला राजनीतिक संस्कृति, पारदर्शी र विश्वास नहुँदा त्यस्ता समझदारी दुर्घटनामा परे,’ थापाले कान्तिपुरसँग भने, ‘यस पटक पनि नेताहरूले पार्टीलाई आफ्नो निजी कम्पनी जस्तो ठानेर अघि बढ्ने प्रयास भयो भने हिजोको भन्दा फरक हुन्न, पार्टीको संसदीय दलको नेता नचुनिँदासम्म को प्रधानमन्त्री हुने भन्ने विषय आउँदैन ।’

सरकार गठनको गृहकार्यदेखि राज्य शक्तिका मुख्य पदहरूको बाँडफाँटको विषयलाई दुई/तीन नेताको विषय मात्रै बनाउन नहुने माओवादी नेता हरिबोल गजुरेल बताउँछन् । तत्कालीन नेकपामा छँदा दुई नेताबीच अपारदर्शी समझदारी हुँदा एकता नै दुर्घटनामा परेको बताउँदै गजुरेलले हिजोकै बाटोमा नहिँड्न नेताहरूलाई आग्रह गरे । ‘अहिले छलफल स्थायित्व र स्थिरताका लागि हुनुपर्ने हो तर नेताहरूमा कसरी प्रधानमन्त्री हुने भन्ने सोच मात्रै देखियो, यो दुर्भाग्य हो,’ उनले भने, ‘पार्टीमा छलफल नगरी कुनै पनि निर्णय गर्दा पछि समस्या आउँछ, यसलाई हेक्का राख्न सक्नुपर्छ ।’

प्रकाशित : मंसिर १५, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?