सर्वाधिक मतान्तरसहित चुनाव जित्नेमा लामिछाने पहिलो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वाधिक मतान्तरसहित चुनाव जित्नेमा लामिछाने पहिलो

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले चुनाव जितेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्यमन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरसहित पराजित गरेका हुन् ।

यो क्षेत्रमा कुल ८४ हजार ३१५ मत खसेको थियो । त्यसमध्ये लामिछानेले ४९ हजार ३०० अर्थात् ५८.४७ प्रतिशत मत ल्याएर जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राज्यमन्त्री श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका छन् ।

लामिछानेपछि सर्वाधिक मतान्तरले चुनाव जित्नेमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल छन् । उनले ३४ हजार ३१२ मतान्तरले जितेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले जितेका छन् । उनले ०७४ मा उनै अधिकारीलाई २८ हजार ८४२ मतान्तरले जितेका थिए । अधिकारीले यसपटक २६६ मतान्तर घटाएका छन् । ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि २५ हजार २२९ मतान्तरले चुनाव जितेका छन् । उनले रोल्पाबाट नेकपा एमालेका पूर्ण बुढामगरलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पुनले ४१ हजार ७१४ मत पाए भने बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन् ।

त्यस्तै, मोरङ–३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरेका छन् भने सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले हराएका छन् । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले एमालेका कैलाश ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका छन् ।

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले जितेकी छिन् । गोरखा–१ मा कांग्रेसका राजेन्द्र बजगाईले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेका छन् ।


प्रकाशित : मंसिर १३, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्

धनुषामा दोहोरियो इतिहास, ३८ वर्षपछि पतिपत्नी विजयी

श्यामसुन्दर शशि

जनकपुर — झण्डै चार दशकपछि धनुषाको संसदीय प्रतिस्पर्धाको इतिहास दोहोरिएको छ । धनुषामा 'शेर-ए-धनुषा' को रुपमा हेमबहादुर मल्ल र शारदा मल्ल निर्वाचित भएको घटनाकै झल्को दिने गरी एमाले नेता रघुवीर महासेठ र उनकी श्रीमति जुली महतो एउटै जिल्लाबाट एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

२०४३ को आम निर्वाचनमा शेर-ए-धनुषा भनिएका हेमबहादुर मल्ल र शारदा मल्ल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । यसको ठीक ३६ वर्षपछि २०७९ को निर्वाचनमा रघुवीर महासेठ र जुली महतो महासेठ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

जुली मधेसको राजधानी जनकपुर नगर क्षेत्र, धनुषा–३ बाट झण्डै १० हजार मतान्तरले विजयी भएकी छन् भने रघुवीर कडा प्रतिस्पर्धाबीच १ सय २४ मतको अन्तरले विजयी भए । जुलीले ३३ हजार ३ सय ५५ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झाले २३ हजार ६ सय ८६ मत प्राप्त गरे । धनुषा–४ बाट एमाले उम्मेदवार महासेठले ३२ हजार २ सय ३६ तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् ।

यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ श्रीमान–श्रीमति प्रतिनिधिसभा पुग्ने रघुवीर र जुली पहिलो दम्पती पनि हुन् । यद्यपि प्रत्यक्ष र समानुपातिकमा भने अन्य दलमा अरु दम्पतीहरु पनि प्रतिनिधिसभा सदस्य बन्दै आएका छन् ।

नेकपा एमालेका मधेस प्रदेश इन्चार्जसमेत रहेका महासेठ दम्पतीलाई पार्टीले प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय गर्दा प्रभु साहलगायत नेताहरुले तिखो आलोचना गरेका थिए । जसकारण उम्मेदवारी दर्ता गर्ने बेला नै प्रभु साहले पार्टी नै छाड्नु परेको थियो ।

महासेठसँग आन्तरिक संघर्ष चलेपछि साहले पार्टी नै छोड्न पुगे । रघुवीर र जुली भने दुवै निर्वाचित भए । जुन घटनालाई लिएर ‘हेमबहादुर प्रवृति मौलाएको’भन्दै टिप्पणी पनि हुने गरेको छ ।

धनुषा–४ मा महासेठका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले त सार्वजनिक सभाहरूमै ‘हेमबहादुर प्रवृति (श्रीमान–श्रीमतिको जित)को विरुद्ध मतदान गर्न अपिल गर्दै आएका थिए ।

तर धनुषाका मतदाताहरुले महासेठ दम्पतीलाई पत्याएर प्रतिनिधिसभा सदस्य बनाएका छन् । पार्टी निकट नेता कार्यकर्ताहरु महासेठ दम्पतीलाई क्षमतावान र असल नेता मान्छन् । ‘श्रीमान–श्रीमति दुबै क्षमतावान छन् भन्ने कुरा मतदाताहरुले प्रमाणित गरिसकेका छन्,' एमाले मधेस प्रदेश कमिटी सदस्य शिवशंकर साह ‘हिरा’ ले भने ।

२०७४ को निर्वाचनमा मधेस प्रदेशका प्रत्यक्षतर्फ ३२ प्रतिनिधिसभा सदस्यमध्ये एमालेले दुई सिट मात्र जित निकाल्न सकेको थियो । धनुषाबाट महासेठ र सिरहाबाट लीलानाथ श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचित भए । माओवादी केन्द्रसँगको सशक्त वाम गठबन्धन रहेको बेला पनि मधेस प्रदेशमा दुई सिट मात्र निकाल्न सकेको नेकपा एमाले २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा मधेसको सबभन्दा ठूलो दल बन्दै ९ स्थानमा जित निकालेको छ ।

मधेस भूमिबाट राजनीति गर्ने मधेसीमूलका नेताहरुमध्ये महासेठ पार्टी नेतृत्वले सर्वाधिक मन पराएका नेता हुन् । उनको प्रभाव धनुषासँगै सिँगै मधेस प्रदेशभर मानिन्छ । महासेठ २०६४ को निर्वाचनमा रामवरण यादवसँग पराजित भएका थिए । तर यादव राष्ट्रपति निर्वाचित भएपछि २०६५ मा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा महासेठ धनुषा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए भने जुली महतो समानुपातिकतर्फ ।

पूर्वी धनुषाको खजुरी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा महासेठले विराटनगरबाट विज्ञान विषयमा आईएस्सी उत्तीर्ण गरेपछि इन्जिनियरिङको अध्ययन गर्न कोलम्बो प्लान अन्तर्गत भारतको राँचीबाट इन्जिनियरिङको अध्ययन गरेका थिए ।

उनी केही वर्ष सिञ्चाइ विभागमा जागिरसमेत गरेका थिए । जिल्ला विकास समिति धनुषाका पूर्वसभापति रामचरित्र साहका अनुसार २०५२ सालमा जुली कुमारी महतोसँग विवाह हुनुभन्दा पहिले उनी कम्युनिस्ट पार्टीमा लागि सकेका थिए ।

‘खजुरी माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनी कम्युनिस्ट पार्टीसँग सम्बद्ध थिए । छात्र राजनीतिमा लागेर उनी पटकपटक पक्राउ पनि परेका थिए,’ जिल्ला विकास समितिका सभापति तथा खजुरी निवासी रामचरित्र साहले भने ।

जुली कुमारी महतो पति रघुवीर महासेठको प्रभाव भन्दा पनि पार्टीमा आफैं पनि लगानी र व्यक्तिगत क्षमताको आधारमा उम्मेदवार बनाइएको नेकपा एमाले धनुषाका उप–सचिव श्याम पुर्वेको दाबी छ । माईती सिरहाको कर्जनहा माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनि अनेरास्ववियुसंग आवद्ध रहेकी तथा महतो परिवार कम्युनिस्ट नेता विष्णु मानन्धरको नजिक रहेको पुर्वे बताउँछन् ।

प्रकाशित : मंसिर १३, २०७९ १८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×