कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परियोजनाको खर्चमा सचिवको बिदाइ तारे होटलमा

कोप–२७ को समीक्षा सिंहरदरबार ढोकानजिकैको बसेरामा  

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयमातहत वैदेशिक सहायतामा चलिरहेको एक परियोजनाको खर्चमा सचिव पेमनारायण कँडेलको बिदाइ एक चार तारे होटलमा भएको छ ।

परियोजनाको खर्चमा सचिवको बिदाइ तारे होटलमा

मन्त्रालयमातहतकै एकीकृत भू–परिधि व्यवस्थापन योजना (इलम) ले बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका सचिव कँडेलको चार तारे यलो प्यागोडा होटलमा मदिरा र रात्रीभोजसहित बिदाइ कार्यक्रम गरेको हो । इलम परियोजना, ग्लोबल इन्भारोमेन्ट फ्यासिलीटी (जीईएफ) को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो ।

२०७७ मंसिर १८ मा सचिव नियुक्त भएका कँडेलले उमेर हदका कारण बुधवार अनिवार्य अवकाश पाउन लागेका हुन् । सचिव बढुवा भएलगत्तै पशुपन्छी मन्त्रालयमा पदस्थापन गरिएका कँडेल २०७८ वैशाख ८ मा तत्कालीन सचिव विश्वनाथ ओलीले अवकाश पाएपछि वन तथा वातवारण मन्त्रालयमा सरुवा भएका थिए ।

इलम परियोजनाका कार्यक्रम संयोजक रहेका मन्त्रालयका उपसचिव सुमन सुवेदीले सचिव कँडेल परियोजना सञ्चालक समितिको अध्यक्षसमेत भएकाले सोमबार बेलुकी समीक्षा बैठक राखिएको र मन्त्रालयका सहसचिव र उपसचिहरुलाई निम्ता गरिएको बताए । निमन्त्रणा गरिएका सबैलाई समीक्षापछि बिदाइ कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरिएको छ । सुवेदीका अनुसार बिदाइ कार्यक्रममा सहभागी हुन मन्त्रालयका सबै सह–सचिव, विभागीय प्रमुख, परियोजना प्रमुख र केही उपसचिवलाई निम्ता दिइएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले यलो प्यागोडाको कार्यक्रम परियोजनाको आयोजनामा भएको पुष्टि गरे । ‘त्यसलाई पनि सचिवको बिदाइ कार्यक्रम नै भनिएको छ,’ उनले कान्तिपुरसित भने, ‘मलाई पनि निम्ता आएको छ ।’

मन्त्रालयको प्रशासन महाशाखाले भने मंगलबार दिउँसो १ बजे मन्त्रालयको हलमै अर्को बिदाइ कार्यक्रम राखेको छ । अपरान्ह सवा ४ बजेदेखि सुरु भएको बिदाइ कार्यक्रमको खर्च एकीकृत भू–परिधि व्यवस्थापन योजना (इलम) ले बेहोर्ने स्रोतले बतायो ।

यसअघि सोमबार दिउँसो मन्त्रालयकै आयोजनामा जलवायु सम्मेलन (कोप २७) को समीक्षा कार्यक्रम पनि सिंहदरबारअघिल्तिरको बसेरा बुटिक होटलमा भएको थियो । मन्त्रालयमा सुविधायुक्त हल हुँदाहुँदै कोपको समीक्षा कार्यक्रम बुटिक होटलमा गरिएको हो ।

कार्यक्रममा कोप–२७ को नेतृत्व गरेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, वन सचिव कँडेल, मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अधिकारी, कोपमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, विज्ञ र पत्रकारलगायतको उपस्थिति थियो । कार्यक्रममा महाशाखाका प्रमुख बुद्धिसागर पौडेलले ‘कोप–२७ का उपलब्धि र अबको बाटो’ शीर्षकमा प्रस्तुति दिएका थिए ।

प्रकाशित : मंसिर १२, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?