नेपाललाई पौडेलको आग्रह- प्रधानमन्त्रीमा मलाई सहयोग गरिदिनुस्- समाचार - कान्तिपुर समाचार

नेपाललाई पौडेलको आग्रह- प्रधानमन्त्रीमा मलाई सहयोग गरिदिनुस्

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । सोमबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पौडेल भेटघाटका लागि पुगेका थिए ।

कोटेश्वरस्थित नेपालको निवासमा भएको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

माधवकुमार नेपालनिकट स्रोतका अनुसार कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नका लागि अगाडि बढेको भन्दै पौडेलले सहयोग मागेका थिए । पाँचदलीय गठबन्धनबाट सरकारको नेतृत्वका लागि आफूलाई सहयोग गर्न पौडेलले आग्रह गरेको नेपाल निकट स्रोतले जानकारी दियो ।

कांग्रेस पार्टी मिलाएर आएमा आफूले समर्थन गर्ने नेपालले जवाफ दिएको उनी निकट स्रोतले जानकारी दिएको छ । अहिले प्रधानमन्त्रीको दाबी गरिरहेको पुस्तामा पौडेलमात्रै प्रधानमन्त्री नबनेकाले कांग्रेसले अगाडि सारेमा एकीकृत समाजवादीले समर्थन गर्ने जवाफ उनले दिएका थिए ।

प्रकाशित : मंसिर १२, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

कुनै पार्टीको बहुमत आएन, एमालेले सरकारको नेतृत्व गर्न पहल गर्छ : उपाध्यक्ष पौडेल

कान्तिपुर संवाददाता

बुटवल — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने बताएका छन् । निर्वाचनबाट कसैको बहुमत नआएकाले पार्टीले बहुमत नल्याए पनि एमालेले सरकारको नेतृत्व गर्न पहल थाल्ने उनको भनाइ छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमाले उपाध्यक्ष पौडेलले प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे । ‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,’ उनले भने ।

एमालेले बहुमतको सरकार बनाउने जनमत नपाएपनि निस्क्रिय भएर नबस्ने बरु सशक्त भूमिका खेल्ने पौडेलको भनाइ थियो । उनले भने, ‘हामी जनादेशको सम्मान गर्नेछौं, बहुमत आएन । एमालेले नेतृत्वदायी भूमिका नखेल्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन । सकेसम्म नेतृत्व प्रदान गर्ने गरी पहलकदमी लिन्छ ।'

उपाध्यक्ष पौडेलले कुनै पनि दलको बहुमत नआउनु दुर्भाग्य भएको बताए । उनले भने, ‘कुनै दलको प्रतिकूल प्रभाव, अस्थिरताको चक्रब्यूहमा फस्ने, कुनै न कुनै दलको बहुमत आउनुपर्थ्यो, एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन ।’

रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले यसपटकको चुनावमा एमालेलाई किनारामा पार्ने धेरै कोसिस भएको बताउँदै अब जनमतको कदर गरेर अगाडि बढ्ने उनले बताए ।

प्रकाशित : मंसिर १२, २०७९ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×