कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै निर्वाचन क्षेत्रमा पराजित ६ मन्त्री निर्धक्क सिंहदरबारमा

जनमतबाट अस्वीकृत भएपछि राजीनामा दिने आधारभूत नैतिकतालाई मन्त्रीले वेवास्ता गरेका छन्, प्रधानमन्त्री र सम्बन्धित दलले पनि मतदाताको सन्देशलाई कदर गर्न आवश्यक ठानेका छैनन्
पराजित भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय हो : प्राध्यापक खड्ग के सी
गंगा बीसी

काठमाडौँ — सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका छैनन् । आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भए पनि उनीहरूले बेवास्ता गरेका छन् । प्रधानमन्त्री र सम्बन्धित दलले पनि मतदाताको सन्देशलाई कदर गर्न आवश्यक ठानेका छैनन् ।

आफ्नै निर्वाचन क्षेत्रमा पराजित ६ मन्त्री निर्धक्क सिंहदरबारमा

गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ यो निर्वाचनमा पराजित भएका छन् ।

गृहमन्त्री खाँण प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा कायमै छन्, अरू मन्त्रीले पनि उनीभन्दा फरक देखिन आवश्यक ठानेका छैनन् । खाँण रूपन्देही–३ बाट राप्रपाका दीपक बोहरासँग पराजित भएका हुन् । शनिबार सम्पन्न मतगणनामा बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाँणले ३४ हजार ३६ मत मात्रै पाए । यद्यपि श्रीमती मञ्जु खाँण कांग्रेसको समानुपातिक सूचीमा खसआर्यतर्फ छैटौं नम्बरमा छिन् । उनी सांसद बन्ने पक्कापक्की छ । गृहमन्त्रीका भाइ रामकृष्ण रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर छन् ।

राजनीतिक शक्तिलाई परिवारमा केन्द्रित गरेको भनेर कार्यकर्ताको चर्को असन्तुष्टिबीच गृहमन्त्री खाँण पराजित भएका हुन् । राजीनामाका विषयमा प्रतिक्रिया लिन खोज्दा उनी उपलब्ध हुन चाहेनन् । निजी सचिव नरेन्द्र केसीले भने गृहमन्त्रीले राजीनामा दिन खोजे पनि प्रधानमन्त्रीले तत्काल कुनै निर्णय नगर्न निर्देशन दिएकाले राजीनामा रोकिएको बताए । ‘गृहमन्त्री आफैं पराजित हुनु भनेको चुनाव निष्पक्ष रूपमा सम्पन्न भएको प्रमाण हो,’ उनले भने, ‘पराजित भएपछि गृहमन्त्रीले राजीनामा दिने सोच बनाउनुभएको हो तर प्रधानमन्त्रीले तत्काल कुनै निर्णय नगर्न भन्नुभएको छ ।’ थप छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खाँणलाई सोमबार बालुवाटार बोलाएको पनि उनले जानकारी दिए । खाँण आइतबार मात्रै रूपन्देहीबाट काठमाडौं फर्केका छन् ।

खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी पनि बारा–१ बाट पराजित भएका छन् । उनी एमालेका अच्युतप्रसाद मैनालीसँग ९ हजार १ सय ३९ मतान्तरले पराजित भएका हुन् । मैनालीले ३९ हजार १ सय ९५ मत ल्याउँदा चौधरीले ३० हजार ५६ मत पाएका छन् । उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको कोटाबाट मन्त्री भएका हुन् । सिटौला पनि झापा–३ मा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् ।

आइतबारसम्म बारामै रहेका उनले काठमाडौं फर्किएपछि प्रधानमन्त्रीलाई भेटेर सल्लाह गर्ने र आवश्यक निर्णय गर्ने बताए । ‘मैले मन्त्री पदबाट राजीनामा दिने विचार गरेको छु, काठमाडौं पुगेपछि प्रधानमन्त्रीसँग सल्लाह गरेर त्यही अनुसार अघि बढ्छु,’ उनले भने ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल ललितपुर–३ मा तेस्रो भइन्, त्यो पनि फराकिलो अन्तरले । स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ र माओवादीकी भुसालले ८ हजार ७ सय ६९ मत पाए ।

यो क्षेत्रमा भुसालको तेस्रो प्रतिस्पर्धा हो । २०६४ मा माओवादीबाट निर्वाचित उनी २०७० मा मोहन वैद्यको नेतृत्वमा चुनाव बहिष्कारमा सक्रिय थिइन् । पछि माओवादीमा फर्किएर २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट ललितपुर–३ बाटै निर्वाचित भएकी थिइन् । कांग्रेससहित पाँच दलको गठबन्धनबाट तेस्रो प्रयास गर्दा उनी तेस्रो भइन् ।

माओवादी प्रतिनिधित्व गर्ने युवा तथा खेलकुदमन्त्री गहतराज बाँके–१ मा एमाले उम्मेदवार सूर्यप्रसाद ढकालसँग पराजित भएका छन् । २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेर जितेका उनले यसपालि १९ हजार ६ सय ३२ मत पाए, एमालेका ढकाल भने २५ हजार २६ मत ल्याएर विजयी भए ।

माओवादीबाट मन्त्री बनेका भुसाल र गहतराजले नैतिकताका आधारमा राजीनामा दिन पनि पार्टीको निर्देशन पर्खेर बसेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले पराजित भएपछि राजीनामाबारे प्रश्न उठे पनि निर्णय नभएको बताए । ‘मन्त्रीहरू काठमाडौं आउँदै हुनुहुन्छ, पार्टीको औपचारिक बैठक बसेपछि के गर्ने भन्ने हुन्छ होला,’ उनले भने ।

काठमाडौं–८ बाट उम्मेदवार बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठ पनि तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत ल्याएर जित्दा हाम्रो नेपाली पार्टीका सुमन सायमी ५ हजार ८ सय ८९ मत ल्याएर दोस्रो भए । एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले भने ४ हजार ८ सय ७७ मत पाए । उनी पनि मन्त्रीकै जिम्मेवारीमा छन् ।

मन्त्री श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले प्रधानमन्त्री देउवाले राजीनामा दिन नभनेकाले त्यो विषयमा नसोचिएको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्रीले केही भन्नुभएको छैन, नयाँ सरकार आएपछि स्वतः छाड्नुहुन्छ,’ उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग असाधारण अन्तरले पराजित भएका छन् । लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याउँदा श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएका छन् । उनी पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै छन् । श्रेष्ठ २०७४ मा समानुपातिकबाट सांसद बनेर मन्त्री भएका थिए । मन्त्रिपरिषद् कार्यालय सरुवा हुनुअघि उनी स्वास्थ्य राज्यमन्त्री थिए ।

राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले निर्वाचनमा पराजित भएपछि मन्त्रीहरूले राजीनामा नदिनु अस्वाभाविक हुने प्रतिक्रिया दिए । ‘आमनिर्वाचनमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिनु आधारभूत नैतिकताको विषय हो, जनमतको कदर गर्ने कोही पनि यसरी पदमा बस्दैन,’ उनले भने ।

प्रकाशित : मंसिर १२, २०७९ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?