कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

गृहमन्त्री बालकृष्ण खाँण : देउवाका भित्रिया अब संसद् बाहिर

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-३ बाट पराजित भएका छन् । चुनावी सुरक्षा कमाण्ड गर्ने मुख्य जिम्मा गृहमन्त्री हुन्छ । यसरी पराजित हुने खाँण दोस्रो गृहमन्त्री हुन् । मन्त्री खाँणलाई नेकपा एमाले समर्थनमा उम्मेदवार रहेका राप्रपाका दीपक बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत ल्याए भने बोहरा ३६ हजार ६४८ मत ल्याएर विजयी भए । 

गृहमन्त्री बालकृष्ण खाँण : देउवाका भित्रिया अब संसद् बाहिर

यसअघि कांग्रेसबाटै चुनाव लडेका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले ०६४ सालमा झापाबाट चुनाव हारेका थिए । त्यो बेला कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको सरकार थियो । ०४८ देखि तीनपटक रुपन्देहीबाटै चुनाव जितिसकेका खाँणले यसपटक आफ्नो राजनीतिक करियरकै सबैभन्दा शक्तिशाली पदमा हुँदासमेत पराजय बेहोर्नुपरेको छ ।

अझै रोचक त के छ भने आँफैले निर्देशन दिएर व्यवस्थापन गरेको चुनावको शान्ति सुरक्षामाथि प्रश्न उठाएर मतगणनामा धाँधली भएको आरोप लगाउनुपर्ने अवस्थासम्म पुगेका छन् गृहमन्त्री खाँण । ०७४ मा समानुपातिकबाट सांसद बनेका खाँण प्रतिपक्षमा रहुन्जेल प्रमुख सचेतकको भूमिकामा थिए । कांग्रेसले संसद्मा कमजोर अवस्थामा हुँदासमेत सरकारको नेतृत्व गर्ने मौका पाएपछि खाँण प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा शक्तिशाली गृहमन्त्री बने । उनी यसअघि शिक्षा र सिंचाईमन्त्री भएका थिए ।

पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी उनी महामन्त्री लड्नै पाएनन् । तर देउवा समूहभित्रै शक्तिशाली नेताकारुपमा स्थापित भए । कांग्रेसको विद्यार्थी र युवा भ्रातृ संस्था नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष हुँदादेखिको सम्पर्कलाई मन्त्री खाँणले यसपटक थप बलियो पारेका थिए ।नेताहरुका अनुसार यसपटकको टिकट वितरणमा समेत खाँण विगतभन्दा हाबी भए । तर पार्टीमा प्रभावशाली नेताकोरुपमा स्थापित हुँदै गरेका खाँण आफैँ भने चुनाव हारेका छन् ।

०४८ सालमै रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खाँण संविधानसभा सदस्य निर्वाचन ०६४ र ०७० दुवैमा रुपन्देही-३ बाट निर्वाचित भएका थिए । तर ०७४ मा भने उनी प्रत्यक्ष चुनाव लडेनन् ।

समानुपातिकबाट सांसद भएर पाँच वर्षसम्म निरन्तर अवसर लिएका खाँणले यसपटक आफु प्रत्यक्षमा उम्मेदवार भएर श्रीमती मन्जु खाँणलाई समानुपातिक सूचीमा राखेपछि पार्टीभित्रै विवादित बनेका थिए । त्यसो त खाँणको गृहजिल्लामै पनि पार्टीभित्र सर्वस्वीकार्य होइनन्, उनलाई आफ्नै भाइलाई जिल्ला सभापति बनाएर पार्टीमा परिवारवाद लागू गरेको आरोप लागेको थियो ।

त्यसो त बहालवाला गृहमन्त्री खाँणलाई पराजित गर्ने बोहोरा पनि कमजोर होइनन् । रुपन्देहीमा राप्रपाको आफ्नै संगठन पनि बलियो हो, त्यसमाथि उनलाई एमालेको बलियो समर्थन रह्ययो ।

०३८ सालमै राष्ट्रिय पंचायत सदस्यमा चुनाव जितेका बोहराले ०७० मा पनि रुपन्देही-२ बाट चुनाव जितेका थिए । उनी पटक-पटक मन्त्रीसमेत भइसकेका नेता हुन् ।

०७४ मा देशभर बामगठबन्धन हुँदा कांग्रेसले राप्रपासँग गठबन्धन गरेको थियो । बोहरा कांग्रेसको समेत समर्थन लिएर त्यही क्षेत्रमा उम्मेदवार बनेका थिए भने खाँणले बोहराकै लागि प्रत्यक्षको सिट छोडेर समानुपातिकमा बसेका थिए । तर खाँण अहिले उनै बोहरासँग चुनाव हारेका छन् ।

वर्तमान सरकारका प्रधानमन्त्रीसहित १४ जना मन्त्रीहरु चुनावी मैदानमा थिए । त्यसमध्ये छ जनाले चुनाव हारेका छन् भने प्रधानमन्त्री देउवासहित अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवेन्द्र पौडेल, पर्यटनमन्त्री नारायण खड्का, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, शहरीविकासमन्त्री मेटमणि चौधरी र श्रममन्त्री शेरबहादुर कुँवरले मात्रै चुनाव जितेका छन् । सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी-४ को अन्तिम परिणाम आइसकेको छैन ।

उर्जामन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पर्यटनमन्त्री जीवनराज श्रेष्ठ र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भने पराजित भइसकेका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?