२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

देउवा–दाहाल भेटवार्ता : ‘वर्तमान गठबन्धनकै सरकार’

काठमाडौँ — वर्तमान सत्ता गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने बताइएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री देउवा र दाहालबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने समझदारी बनेको हो ।

देउवा–दाहाल भेटवार्ता : ‘वर्तमान गठबन्धनकै सरकार’

गोरखाबाट चुनाव जितेर काठमाडौं फर्किएका दाहाल शनिबार बिहान १० बजे प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारस्थित सरकारी निवासमा पुगेका थिए । भेटमा चुनावको परिणामको समीक्षा गर्दै दुई शीर्ष नेताबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने समझदारी बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

‘चुनावको समग्र विषयहरूको समीक्षा भयो । त्यसमा जारी मतगणनाको आइरहेको परिणाम र सम्भावित अवस्थाका विषयमा समेत छलफल भयो,’ उनले इकान्तिपुरसँग भने, ‘दुई शीर्ष नेताहरूबीच वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने समझदारी भएको छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रममा अहिले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन साधारण बहुमतको नजिक देखिन्छ । सो गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

चुनावमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा सिटको बाँडफाँड गरेर गठबन्धन गरेका यी दलले अपेक्षाकृत परिणाम भने हासिल गरेका छैनन् । तर, चुनावमा मतदातामाझ पाँच वर्षसम्म स्थिर सरकार, विकास र समृद्धिको सपना बाँडेका दलहरू चुनावपछि उही गठबन्धनमा रहने वा फरक गठबन्धनबाट सरकार बनाउने भन्नेबारे प्रश्न उठिरहेको छ ।

प्रधानमन्त्री देउवा र दाहालले गठबन्धनको निरन्तरताबारे सत्तारुढ दलको बैठक बोलाएर छलफल गर्ने तयारी गरेका छन् । ‘चुनावको परिणाम आइसकोस् । त्यतिबेलासम्म चुनाव जितेका नेताहरू पनि काठमाडौं फर्किसक्नुहुन्छ, त्यसपछि गठबन्धनको बैठक बसेर चुनावको समीक्षा र आगामी सरकार गठनबारे छलफल गरौँ भन्ने सहमति भएको छ,’ परियारले भने ।

जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५१ सिट जितेको छ भने ४ सिटमा अग्रता लिएको छ । गठबन्धनको अर्को दल माओवादीले १६ सिट जितेको छ भने २ सिटमा अग्रस्थानमा छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीले गठबन्धनकै बलमा १० सिट जितेको छ भने राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ । सरकारमा नभएपनि सत्तारुढ गठबन्धनसँग आंशिक चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ । यसरी सत्तारुढ गठबन्धन दलले अहिलेसम्म ८२ सिट जितिसकेका छन् भने कांग्रेस र माओवादीले अग्रता लिएका ६ क्षेत्र जितेको अवस्थामा प्रत्यक्षमा गठबन्धनको सिट संख्या ८८ पुग्नेछ ।

प्रतिनिधिसभामा प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सदस्य हुन्छन् । सरकार बनाउन साधारण बहमुत कम्तिमा १३८ सिट आवश्यक पर्छ । त्यसआधारमा अहिलेका सत्तारुढ गठबन्धन दलले सरकार बनाउन अग्रता भएका सबै क्षेत्र जितेर समानुपातिकबाट ५० सिट मात्रै ल्याए पुग्छ, अग्रता लिएका सबै सिट पराजित भएपनि समानुपातिकबाथ ५६ सिट ल्याए सरकार गठबन्धन गर्न आवश्यक बहुमत पुग्छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानुपातिकबाट समेत गरी गठबन्धनको पक्षमा बहुमत पुग्ने दाबी गर्छन् । ‘अहिले मतगणना चलिरहेको छ । त्यसैले अहिले त्यसबारे अनुमान नै गर्ने हो । तर, अहिलेको जुन ट्रण्ड छ, त्यो आधारमा हेर्दा हामीले समानुपातिकबाट समेत गरी गठबन्धनको पक्षमा बहुमत पुग्छ,’ उनले भने, ‘अब बन्ने सरकार पनि गठबन्धनकै हुन्छ ।’

उनले गठबन्धनमा चुनावी परिणामले दिएको सन्देशलाई सुक्षम विश्लेषण गरेर साझा नीति कार्यक्रमसहित गठबन्धनको सरकार अघि बढ्ने बताए ।

अघिल्लो पटक प्रत्यक्षमा ८० सिटसहित पहिलो दल बनेको नेकपा एमाले यसपटक प्रत्यक्षमा अहिलेसम्म ३८ सिट जितेको छ भने अब ४ सिटमा मात्रै अग्रता छ । अघिल्लो संसद्मा कांग्रेस, एमाले, र माओवादीबाहेक अन्य दल र स्वतन्त्रबाट गरी प्रतिनिधिसभामा २६ जना सांसद थिए । यसपटक कांग्रेस, एमाले र माओवादीबाहेक नै प्रतिनिधिसभामा नौ राजनीतिक दल र स्वतन्त्र गरी प्रत्यक्षमै ४३ सिट जितिसकेका छन् ।

प्रतिनिधिसभाका १६५ सिटमध्ये अहिले १६२ वटाको गणना भएकोमा १४८ सिटको अन्तिम परिणाम आएको छ भने विवादका कारण स्याङ्जा–२, दोलखा र बाजुराको मतगणना हुन सकेको छैन ।

प्रकाशित : मंसिर १०, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?