मुलुक थप अस्थिर हुने भयो : अध्यक्ष ओली- समाचार - कान्तिपुर समाचार

मुलुक थप अस्थिर हुने भयो : अध्यक्ष ओली

अर्जुन राजवंशी

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा थप अस्थिरता पैदा हुने बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिएपनि त्यसो हुन नसकेको उनको टिप्पणी छ ।

झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बिहीबार दमक आएर मतदातालाई धन्यवाद दिने क्रममा ओलीले निर्वाचन परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने दाबी गरे ।

‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो । तर, त्यसो भएन,’ उनले भने,‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरिपनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो ।’

दलहरुले मतदाताको भावना र चाहनालाई सम्बोधन गर्न नसक्दा केही दल तथा सांसद भाग्यवस संसद्को यात्रा तय गर्न सफल भएको उनले टिप्पणी गरे । ओलीले अब बन्ने सरकारले फेरिपनि मुलुक र जनताको लागि काम गर्न नसक्ने दाबी गरे ।

‘अब बन्ने सरकारले फेरिपनि जनता र मुलुक विकासको काम गर्न नसक्ने भयो । बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबन्डामै लाग्दा ठीक्क हुन्छ,’ उनले भने । उनले अब सरकार बनाउन र जोगाउन योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

प्रकाशित : मंसिर ८, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोट १(२) : कांग्रेसका महत विजयी

कृष्ण थापा

नुवाकोट — प्रदेश सभातर्फ नुवाकोट क्षेत्र नम्बर १ (२) मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महत निर्वाचित भएका छन्।

गठबनधनतर्फबाट कांग्रेसका महतले १ हजार ८ सय ९६ मतले एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गरेका छन् ।

गठबन्धनतर्फबाट कांग्रेस उम्मेदवार महतले १३ हजार ७ सय २७ मत ल्याएर एमालेका श्रेष्ठलाई पराजित गरेका हुन् । एमालेका श्रेष्ठले ११ हजार ८ सय ३१ मत ल्याएर कांग्रेसका महतसँग पराजित भए ।

२०७४ सालको निर्वाचनमा एमालेका बद्री मैनालीले ८ हजार २९२ मतले पराजित भएका कांग्रेसका महत अहिले पुन: सोही क्षेत्रबाट एमालेलाई १८९६ मतले हराउँदै निर्वाचित भएका हुन् ।


प्रकाशित : मंसिर ८, २०७९ १६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×