अनुमति नलिई चार्टर उडान राख्ने कुवेत एयरवेजलाई कारबाही गर्न प्राधिकरणले पठायो पत्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुमति नलिई चार्टर उडान राख्ने कुवेत एयरवेजलाई कारबाही गर्न प्राधिकरणले पठायो पत्र

सुरज कुँवर

काठमाडौँ — चार्टर उडान अनुमति नलिई कम्तिमा ६ सय हाराहारी यात्रुलाई टिकट बिक्री गरेर अलपत्र पारेको भन्दै नागरिक उड्डयन प्राधिकरणले कुवेतको सरकारी ध्वजाबहाक वायुसेवालाई कारबाही गर्न त्यहाको डाइरेक्टोरेट जेनरल अफ सिभिल एभिएसन, कुवेत(डीजीसीए) लाई पत्राचार गरेको छ ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, केही दिनअघि कुवेत एयरवेजले त्यहाँको श्रम बजारमा जाने नेपालीहरुलाई चार्टर उडानबाट टिकट बिक्री गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको जानकारी पाएपछि कारबाही गर्न कुवेतको डीजीसीएलाई पत्र पठाइएको हो । प्राधिकरणका अनुसार, यस एयरलायन्सले प्राधिकरणबाट अनुमति नलिई टिकट बिक्री गर्ने र यात्रु अलपत्र पारेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, बिहीबारअघिसम्म उडान नै नभएको कुवेत एयरवेजको टिकट लिएका यात्रुहरु विमानस्थलमा आउने तर त्यहाँ उडान अनुमति नै नभएको देखिएपछि कुवेत एयरलायन्ससँग सम्बन्धित एजेन्ट कम्पनी र अन्य कर्मचारीलाई सचेत गराइएको थियो ।

यसअघि प्राधिकरणले अनुमति नै नलिई यात्रुलाई बोर्डिङपास दिने नेपाल वायुसेवा निगमका कात्तिक १३ र १४ गतेका दुइटा दिल्ली उडान रद्द गरेको थियो ।

यसैबीच प्राधिकरणले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै वायुसेवा र तीनका एजेन्ट कम्पनीलाई उडान अनुमति नलिई टिकट बिक्री गर्न चेतावनी दिएको छ । प्रवक्ता जगन्नाथ निरौलाद्वारा जारी विज्ञप्तिमा, ‘अनुमति नलिई यात्रुलाई अलपत्र पार्ने विमानस्थलमा अनावश्यक भीडभाड गराई त्यहाँको सुरक्षा व्यवस्थामा खलल पार्ने कार्य नगर्न’ चेतावनी दिइएको छ ।

यसैबीच कुवेत एयरवेजको नेपाली एजेन्ट कम्पनी ट्रान्सपोर्ट सोलुसनका इन्चार्ज रुपेश झाले अनुमती नलिई टिकट बिक्री गरिएकोमा वायुसेवाले गल्ती स्वीकारेको बताए । ‘पर्मिसन नलिई ६ सयजति टिकट बिक्री भएको थियो । यसमा गल्ती भयो । कति यात्रुको डेट चेन्ज गरिदियौं । कतिलाई टिकट रिफन्ड गर्‍यौं,’ उनले भने, ‘केही यात्रुलाई शुक्रबार बिहानदेखि सुरु भएको नियमित उडानमा पठायौं । केही होटलमा छन् ।’

उनका अनुसार, जीएसए कम्पनी ट्रान्सपोर्ट सोलुसन दिपक मलहोत्रा र सुशील थापाको कम्पनी हो ।

प्रकाशित : मंसिर २, २०७९ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्

सुरक्षित बासको आस

घरबास गुमाएका हेलम्बु र मेलम्ची गाउँपालिकाका बाढीपहिरोपीडित चुनावभन्दा पनि सुरक्षित बाससहित पुनःस्थापनाको पर्खाइमा
विद्या राई, अनिश तिवारी

मेलम्ची, सिन्धुपाल्चोक — भोटसिपाकी नीरकुमारी मैनालीले पाँच छोरीलाई जन्म दिएपछि श्रीमान्ले कान्छी श्रीमती भित्र्याए । श्रीमान्ले पुर्‍याएको चोटमा सान्त्वना दिनुको साटो सासूससुराले पनि उल्टै सताउन थाले । असह्य भएपछि उनी बालबच्चा च्यापेर माइतीको शरणमा पुगिन् । मुन्टो लुकाउन बास र कमाइ खान जागिर–खेती थिएन । बिदेसिने भइन् ।

‘हाउस क्लिनिङ’ को काम गर्न दुबई उड्दा कान्छी छोरी दुई वर्षमात्रै पुगेकी थिइन् । दुई वर्ष दुबई, अढाई वर्ष कुवेत र एक वर्ष लेवनान गरेर साढे पाँच वर्ष वैदेशिक रोजगारीमा बिताइन् । परदेशको कमाइ र ऋणपान गरेर २०७२ को भूकम्पपछि मेलम्ची बजारछेउ दनुवारबेंसीमा घडेरी किनेर ट्रसवाला घर बनाइन् । बाहिर–भित्र रङरोगन गरेर चिटिक्क पारेको घर वरिपरि सिजनका मौसमी तरकारी फल्थे । झन्डै १५ वर्षपछि आफ्नै घरमा बस्न पाएका नीरकुमारी र छोरीहरूले आनन्दको सास फेर्न थालेका थिए । तर, यो खुसी चार वर्ष पनि टिकेन ।

२०७८ असार १ मा हेलम्बु गाउँपालिका माथिपट्टि भ्रेमाथाङबाट उर्लिएको बाढीले तल्लोतटीय क्षेत्रका गाउँहरूको उठीबास लगायो । चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुग्यो । मेलम्ची नदी किनारदेखि पाँच घरमाथि बनेको नीरकुमारीको घर पनि निमेषभरमै बाढीले निल्यो । ‘आफूले संसार गएर ल्याएको सम्पत्तिले शत्रुको अगाडि घर बनाएँ, बस्ने बास भो भन्दाखेरि खोलो भरिँदै आयो, केही निकाल्न पाइएन । आइमाई मान्छेको कसले निकालिदिने, अहिले रोडमा पुर्‍यायो,’ एक होटलमा काम गर्दै भेटिएकी उनले गहभरि आँसु पार्दै भनिन्, ‘अचेल बाटामा हिँड्दा पनि बस्ने बास नहुँदा साह्रै पीडा हुन्छ । सम्पत्तिभन्दा एक खेप निद्रा चाहिएको छ, बस्ने बास चाहियो नि !’

मेलम्ची बजार पर्तिर ६ आनाजति घडेरी किन्दा र घर बनाउँदा उनको ३० लाख रुपैयाँ खर्च भएको थियो । सात लाख ऋण तिर्नै बाँकी छ । अब छाप्रोमा भए पनि बस्ने उनको रहर पूरा गर्न थप कति लाख ऋणको बोझ लिनुपर्ने हो सोच्न सक्दिनन् । घर बगेपछि कहिले माइती, कहिले बहिनी, कहिले छोरीका घर बस्ने गर्छिन् । ‘आफ्ना घरमा खोले खाएर ओछ्यानमा सुते पनि छुट्टै आनन्द हुन्छ । अर्काको घर गयो, यता नि काम छ, उता नि काम छ भन्छन् । एउटा छाप्रो भए पनि बनाएर बस्न मन छ ।’ उनको घडेरी बगर बनेको छ । बाढी गएको एक वर्षभन्दा बढी बितिसक्दा उनी त्यतातिर जान सकेकी छैनन् । बच्चा च्यापेर हिँडेदेखि मेलम्ची बजारदेखि २० किमिमाथि मूलघर भएको भोटसिपा गाउँ पनि फर्केकी छैनन् ।

घर बनाउन मेलम्ची नगरपालिकाले प्रतिपरिवार तीन लाख रुपैयाँ दिने सुनेकी थिइन् । कहिले पाउने, सुरक्षित बास कहाँ बनाउने थाहा छैन । उनी काम गर्ने होटलमा सिन्धुपाल्चोकको समृद्धिको नारा बोकेर चुनावी प्रचारप्रसारमा हिँडेका नेताहरूको आउजाउ चलिरहन्छ । न नेताहरूले उनको दुःख सोध्छन् न त उनी आफैंले भन्न सक्छिन् । एक कुनामा बसेर तिनका गतिविधि चिहाउन मात्रै सक्छिन् । ‘जितेपछि बाढीपीडितलाई घर बनाइदिने कुरा गरेको सुन्छु । ठूलाबडाहरूको ठूलै संगत हुन्छ, आफू गरिब, आइमाई मान्छेले मलाई बस्ने बास चाहिएको छ भनेर मुख कसरी खोल्नु,’ उनले भनिन्, ‘जतिखेर नि घर भैदिओस् भन्ने मात्रै लागिरहन्छ ।’

नीरकुमारी प्रतिनिधि पात्र मात्रै हुन् । भ्रेमाथाङबाट आएको बाढीमा परेर ५ जनाको मृत्यु भएको थियो । हेलम्बुमा ३ सय ८ र मेलम्चीमा २४ घर बगाएको थियो । १७ मत्स्य फार्म, ६ होटल र रिसोर्ट, १ विद्यालय, २ सरकारी कार्यालय, ६ झोलुंगे पुल, ६ मोटरेबल पुल, एक कल्भर्ट र एक बेलिब्रिज बगाएको थियो । स्थानीय तहहरूका अनुसार हेलम्बु र मेलम्चीमा मात्रै ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । धेरैका घरमा पसेको ढुंगामाटोको लेदो हटाउन महिनौं लागेको थियो । अझै थुप्रै परिवार आफ्नो घर फर्कन सकेका छैनन् । अधिकांश पीडित अझै अस्थायी बासमा छन् । घरबास गुमाएका हेलम्बु र मेलम्ची गाउँपालिकाका पीडितहरू सुरक्षित आवाससहित पुनःस्थापनाको पर्खाइमा छन् । खेतबारी बगेकाहरू सरकारी सहायताको पर्खाइमा छन् । सदियौंदेखि मेलम्ची र इन्द्रावतीमा माछा मारेर जीविका चलाउँदै आएका माझी बस्ती रोजगारी कुरिरहेका छन् । पीडितहरू बाढीको आहत बिर्सिने र नयाँ जीवन सुरु गर्ने सहायताको भरोसा खोजिरहेका छन् ।

बाढीपीडितको पुनःस्थापना गर्ने, क्षति भएका भौतिक संरचनाहरू पुनर्निर्माण गर्ने जस्ता विषय आसन्न निर्वाचनका उम्मेदवारहरूलाई चुनावी एजेन्डा बनेका छन् । तर पुनर्निर्माणको सुस्तताले गर्दा पीडितहरूले पत्याउन सकेका छैनन् । उनीहरूलाई २०७४ को निर्वाचन र स्थानीय तहको गत निर्वाचनमा पाएको आश्वासनबाटै विश्वास टुटेको छ । ग्रिल उद्योग व्यवसाय गरिरहेका ४२ वर्षीय सोमबहादुर तामाङले भने, ‘भूकम्पमा भोगियो, अझ यो त पोहोरको बाढी हो, पीडितलाई घर बनाउन पैसा दिने भनेको थियो केको दिनु ! स्थानीय चुनावमा १० जना जति भोट माग्नेले बनाइसक्यो । अहिले नि भोट मागुन्जेल बनाउँछ, जान्छ, हाम्रो पहुँच पुग्दैन ।’ भूकम्पमा उनको परिवारले तीनवटा घर, बस्तुभाउ र ९० मुरी फल्ने धान खेत गुमाउनुपरेको थियो । १९ जना युवालाई रोजगारी दिइरहेको ग्रिल उद्योगमा बाढी पस्दा एक करोड डुब्यो । ट्रस हालेको ग्रिल उद्योगसँगैको बसोबास बाढीसँगै बग्यो । भूकम्पपछि बनाउन थालेको घरमा सर्न बाँकी थियो । त्यो घरको एक ढलानमाथि पुरिएको थियो । सवारी दुर्घटनामा भाइको निधन भएपछि बुहारी र आफ्नो परिवारको जिम्मेवारी सम्हालिरहेका तामाङले बैंकबाट ऋण लिएर फेरि ग्रिल उद्योग सुरु गरेका छन् । पाँच जनालाई रोजगारी दिएका छन् । बाढी गएको ६ महिना डेरा बसेर आफ्नै खर्चमा लेदो सफा गरेर घरमा सरेका छन् । बर्खा ठूलो पानी पर्दा फेरि बाढी आउला भन्ने डर भइरहन्छ ।

हार्डवेयर व्यापारी प्रकाश दाहालका अनुसार मेलम्ची बजारमा भूकम्प, बाढी जस्ता पटक–पटकको विपत्तिमा परेर घरबास गुमाएकाले पुनर्निर्माण गर्दा कम्तीमा पाँच लाख ऋण नभएका कुनै परिवार छैनन् । भूकम्पका बेला मेलम्चीदेखि हेलम्बुसम्मको क्षेत्र तहसनहस भएको थियो । बल्लतल्ल उठिरहेको बस्तीमा फेरि बाढीले तहसनहस पार्‍यो । सिन्धुपाल्चोकको दक्षिण पश्चिम भेगमा पर्ने मेलम्ची काठमाडौंदेखि नजिकै पर्छ । ७० वर्षीय डुकुप्रसाद दुलालका अनुसार केही घरको बस्ती थियो । माझमा मेलम्ची नदी थियो । वारिपारि धानका फाँट थिए । जब काठमाडौंका लागि मेलम्ची खानेपानी आयोजना सुरु भयो । फाँटमा बस्ती बस्यो । मेलम्ची नदीको बाटोमा मानवीय हस्तक्षेप हुन थाल्यो । भूकम्प थेग्ने गरी बनाएका पक्की घरहरूले बाढी थेगेनन् ।

नदीमा माछा मारेर जीविका चलाउँदै आएका माझी युवाहरू रोजगारीको चरम अभाव हुन थालेपछि बिदेसिने तरखरमा छन् । बाढीपछि माछा मासिए, थोरबहुत खेती पनि बाढीसँगै बगेपछि ऋण लिएर गुजारा चलाइरहेको राणा माझीले बताए । उनी दिनहुँ माछा मार्न जाल बोकेर मेलम्ची आउँथे । दिनमा एकदेखि तीन किलोजति माछा मार्थे । प्रतिकिलो एक हजार ५० रुपैयाँसम्म भाउ पाउन थालेका थिए । उनको २५ मुरीजति फल्ने खेत बगेको थियो । बाँकी रहेको खेतमा पाँच मुरीजति फल्छ, यसले चार जनाको परिवारलाई तीन महिना खान पुग्दैन । ‘म मात्रै होइन, हामी २४ घर माझी परिवारलाई दुःख छ, खान नपुगेर ऋण काढेको डेढ लाख पुगिसक्यो,’ उनले मेलम्चीतिरै फर्केर भने । सोमबार उनी बैंकमा ऋण आएको पैसा लिन घरबाट आधा घण्टा हिँडेर मेलम्ची बजार आइपुगेका थिए । उनी बेलाबखत बजार आइरहनुपर्छ । मेलम्ची देखेर दिक्दारी मान्छन् । ‘यही खोलाले माछा लग्यो, खेती पनि लग्यो,’ उनले भने, ‘खानै नपुगेर माझी भाइहरू विदेश जाने भइसक्यो । सरकारले यो खोलामा माछाका भुरा हाल्दिन त नसक्ला, घरबारीतिरै माछापोखरी बनाएर देशभित्रै रोजगारी गर्न पाए हुन्थ्यो ।’ माझीहरू आफ्नो समस्या लिएर नगरपालिका पनि पुगेका थिए । जनप्रतिनिधिले सहयोग गरौंला भने पनि पाएका छैनन् । अचेल भोट माग्नेहरू दिनदिनै आउँछन् । ‘अहिले भोट दिनुस् जितेपछि हेरौंला भन्नुहुन्छ, हेरेको हेर्‍यै हुने हो कि !,’ उनी अविश्वास व्यक्त गर्छन् । बाढीपछि घरबास सर्वस्व गुमाएकाहरू सुरक्षित बसोबास र काम खोज्दै काभ्रे र काठमाडौंतिर सरेका छन् । कोही परदेशिएका छन्, कतिपय तरखरमा छन् । यो हैसियत नभएकाहरू त्रासमै छन् ।

मुख्य मेलम्ची बजार जोड्न इन्द्रावतीमाथि पक्की पुल हालसम्म नबन्दा स्थानीयवासी ह्युमपाइप तेर्स्याएर बनाएको साँघुरो अस्थायी बाटोमा हिँड्न बाध्य छन् । पारि गाउँका विद्यार्थीहरू, दूध तथा तरकारी कृषकहरूलाई समस्या छ । बजारपारिपट्टि माथि गाउँबाट दुई घण्टा हिँडेर दैनिक दूध बेच्न आउने दुर्गाकुमारी कटवालले भनिन्, ‘पुल भत्केपछि गाह्रो छ, यो बाटो (ह्युमपाइप) मा बस आउँदै छ भने साइड लाग्ने ठाउँ छैन । अलिकति चिप्लियो भने खोलामा खसिने डर हुन्छ, बस आउँदै छ भनेर भारी बोकेर हतार–हतार दौडेर अघि जान सकिँदैन ।’ ह्युमपाइपको बाटो पनि हिउँदलाई मात्रै काम चल्छ । बर्खा मेलम्ची नदीमाथिको झोलुंगे पुल घुमेर आउनुपर्छ । त्यताबाट बजार आउन तीन घण्टा लाग्छ । झोलुंगे पुल पनि बाढीले गर्दा जीर्ण बनेको छ । पुलको प्रवेशद्वारमाथि ‘यो झोलुंगे पुल बाढीका कारण जोखिममा रहेकाले एक पटकमा दुवैतर्फबाट ५/५ जना मात्र यात्रा गर्नुहोला, भारी बोकेको हकमा २/२ जना मात्र यात्रा गर्नुहोला’ भनी मेलम्ची नगरपालिका र इलाका प्रहरीका कार्यालयको संयुक्त सूचना छ । अम्बाथानबाट आउने मेलम्ची र पाँचपोखरीबाट आउने इन्द्रावती नदीको दोभान मेलम्ची बजार हो ।

बाढीले खण्डहर बनेको मेलम्चीमा हालसम्म दीर्घकालीन पुनःस्थापना भएको छैन । मेलम्ची नगरपालिकाले गएको वर्षातमा बाढी आउने जोखिमको पूर्वतयारीका लागि एक्स्काभेटर तयारी गरेर राखेको थियो । मेलम्ची नगर प्रमुख आइतमान तामाङले भने, ‘स्थानीय तहकै स्रोतसाधनले नभ्याउने हुँदा स्रोत जुटाएर काम गर्न लागेका छौं ।’ हेलम्बु गाउँपालिकामा मुख्य चनौटे बजार खोलापारि सारिएको छ । मोटरेबल पुल बाढीले बगाएपछि बेलिब्रिज र मेलम्चीघ्याङ चोक्पु खोलामा तुइन हटाएर झोलुंगे पुल जोडिएको छ । हेलम्बु गाउँपालिकाको अध्यक्षमा पुनःनिर्वाचित निमाग्याल्जेन शेर्पाले भने, ‘केही विस्थापितले अस्थायी आवास पाइसकेका छन्, अब सबैलाई सुरक्षित आवास बनाउनेको काम धमाधम थाल्दै छौं ।’ बाढीले बगाएको सडक पुनर्निर्माण नभएकाले मेलम्चीघ्याङ, तार्केघ्याङलगायतको टोलमा सवारी नपुग्ने भएकाले बिरामी र गर्भवतीलाई अझै हेलिकोप्टरबाट अस्पताल लानुपर्ने बाध्यता छ । खेत बगेका पीडितलाई पाँचवर्षे सहुलियत ऋण उपलब्ध गराउने विषयमा वाग्मती प्रदेश सरकारसँग माग गरिएको उनले बताए ।

मेलम्ची बाढीको अध्ययन गरिरहेका त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक भूगर्भशास्त्री वसन्तराज अधिकारीको भने फरक मत छ । मेलम्ची बाढी, बस्ती पुनःस्थापनालगायतका विषय राजनीतिक मुद्दा भएकाले तत्काल मतदाता रिझाउने खालमा एजेन्डा मात्रै पर्याप्त नहुने उनले बताए । ‘बस्नलाई घर त चाहियो नै, तर जबसम्म माथिबाट आउने पहिरोलाई रोकथाम गने काम हुँदैन, तल घर बनाएर पैसा दिएर हुँदैन । बाँध लगाएर मात्रै पनि हुँदैन, पहिरो नियन्त्रण गर्न सकिएन भने भविष्यमा फेरि ठूलो संकट नआउला भन्न सकिन्न । यस कारण दल र नेताहरूले पुनर्निर्माण एजेन्डा बनाउनुपर्छ,’ उनले भने ।

प्रकाशित : मंसिर २, २०७९ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×