गृहमन्त्री खाँणलाई राष्ट्रिय एकता अभियानको समर्थन     - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्री खाँणलाई राष्ट्रिय एकता अभियानको समर्थन     

माधव ढुंगाना

भैरहवा — बामदेव गौतम अध्यक्ष रहेको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही-३ मा पाँच दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई समर्थन गर्ने घोषणा गरेको छ ।

नेकपा राष्ट्रिय एकता अभियान रुपन्देही जिल्ला कमिटिद्वारा शनिबार अपराह्न भैरहवामा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा गृहमन्त्री रहेका खाँणलाई समर्थन गर्ने घोषणा गरेको हो । केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले विभिन्न कारणले आउँदो निर्वाचनमा अभियानले आफ्नो उम्मेदवार नउठाए पनि निर्वाचनमा पार्टीले सक्रियरुपमा भाग लिँदै रुपन्देही-३ मा बालकृष्ण खाँणलाई समर्थन गर्ने पार्टीको निर्णय भएको बताए ।

‘पाँच दलीय गठबन्धनको कतिपय सिद्धान्त र विचारप्रति हामी पूर्णरुपमा सहमत नभए पनि मुलुकमा जब-जब संवैधानिक संकट आउँछ, त्यतिबेला नेपाली कांग्रेसकै अगुवाइमा लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरी संकटबाट मुलुकलाई निकास दिने काम हुने गरेको इतिहास छ,’ अर्यालले भने, ‘मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका निभाउने र योजना भएका उम्मेदवारहरुको छनोट गरी समर्थन गर्ने निर्णय गरेका हौं ।’

गठबन्धनको तर्फका उम्मेदवार खाँण मुलुकको सुशासन र आर्थिक विकासका लागि क्रियाशील रहँदै महत्वपूर्ण भूमिका निभाएको र योजना भएको व्यक्तित्व भएकाले पार्टीले समर्थन गरेको अर्यालले बताए ।

यसैगरी रुपन्देही-२ मा नेकपा एमालेका बिष्णु पौडेललाई पार्टीले समर्थन गरेको बताए । ‘नेकपा एमालेका उम्मेदवारमध्ये मुलुकभरि बर्दिया-१ र रुपन्देही-२ मा मात्रै समर्थन पार्टीले समर्थन गरेको छ,’ अर्यालले भने, ‘अन्य निर्वाचन क्षेत्रमा होइन ।’

अभियानको प्रतिज्ञापत्र बुझ्दै गृहमन्त्री खाँणले मुलुकमा गरिबीको अन्त्य, स्वरोजगारी सिर्जना, प्राकृतिक स्रोतसाधनको समुचित उत्खनन् सहितको उपयोग, कृषि उत्पादनमा बृद्धि, पर्यटन विकास र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन पाँच दलबीच गठबन्धन गरिएको बताए ।

‘विश्वव्यापीरुपमा परेको कोभिड संक्रमणको असर र पूर्ववर्ती एमाले सरकारको ल्याएको अदूरदर्शी नीतिका कारण हाल मुलुकमा उद्योग व्यापारको अवस्था समस्यामा परे पनि ती उद्योग व्यवसाय टिकाउन सरकार गम्भीर छ,’ खाँणले भने, ‘नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले पनि आर्थिक क्षेत्रमा असर पारेको छ ।’ यसका लागि वित्तीय नीति संशोधन गर्नुपर्ने उनले जनाए ।

बैंकले बढाएको ब्याजदरप्रति पनि सरकार गम्भीर रहेको र यसमा बैंकहरुले पुनर्विचार गर्नुपर्ने उनले बताए । ‘निर्वाचनलगत्तै आर्थिक नीतिलाई संशोधन गरिने छ र उद्योग व्यापार फस्टाउने वातावरण तयार गरिने छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २६, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

लिखु किनारमा भेटियो रेडपाण्डा

टीकाप्रसाद भट्ट

रामेछाप — कामको सिलसिलामा रामेछापको उमाकुण्ड १ मा पर्ने उमातीर्थको मन्दिर नजिकै उभिएका गुम्देलका पेमा शेर्पाले लिखु नदी किनारमा एउटा अनौठो जनावार देखे । फोटो खिच्न सौखिन शेर्पाले हत्तपत्त क्यामेरा निकाले र त्यस क्षेत्रकै सुन्दर जनावार रेडपाण्डा ( हाब्रे ) तस्बिर लिए । यो कुरा कात्तिक १६ गते अपराह्नको हो ।

'मैले तस्बिर लिउन्जेल रेडपाण्डा पूरै धैर्य गरेर ठूलो ढुङ्गामाथि उभियो । अनि आसपासका अरु मानिसहरू पनि आए केही बेर हामी तिर हेरिरह्यो । केहिले त्यही मौकामा भिडियो समेत खिच्न भ्याए । मानिसको होहल्ला भएपछि रेडपाण्डा नजिकैको जंगलतिर कुद्‍यो,' शेर्पाले भने ।

गौरीशंकर संरक्षण क्षेत्रमै बसोबास रहेका शेर्पाले दोश्रोपल्ट सुनौलो रेडपाण्डालाई धित मारुन्जेल हेरे र नयाँ अनुभूति बनाए । यसअघि उनले गुम्देलकै सेर्दिङ नजिक रेडपाण्डा देखेका थिए ।

गौरीशंकर संरक्षण क्षेत्रमा दर्जनौं रेडपाण्डा पाइने स्थानीयले जनाएका छन् । गुम्देलको टारेतर्फ जाने क्षेत्रमा रेडपाण्डा बाक्लै देखिने गरेको स्थानीय आङदोर्जि शेर्पाले बताएका छन् । शेर्पाका अनुसार त्यस क्षेत्रमा रेडपाण्डाका बथान नै हुने गरेका छन् । रेडपाण्डा सुनौलो भएकैले यसको चोरी सिकारी गरी छाला निकालेर बिक्रीका लागि लैजाने गरिएको तर उक्त जन्तुको छाला कुनै काममा प्रयोग नहुने र मूल्य नआउने भएकाले संरक्षणविदहरुले रेडपाण्डालाई अनाहकमा सिकार नगर्न आग्रह गर्दै आएको गौरीशंकर संरक्षण क्षेत्रका पूर्व आयोजना प्रमुख सत्यनारायण साहले बताए ।

रेडपाण्डा लाई विश्ववन्यजन्तु कोषले संकटापन्न वन्यजन्तुको सूचीमा समावेश गरेको छ । यो लजालु स्वभावको जनावर हो । नेपालमा रेडपाण्डाको संख्या करिब ६ सय रहेको कुरा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले २०६६ सालमा गौरीशंकर संरक्षण क्षेत्र घोषणा गरेपछि दोलखाको मार्बु, रामेछापको चुचुरे, गुम्देल लगाएतका क्षेत्रमा रेडपाण्डाको संख्यामा वृद्धि भएको आयोजनाले जनाएको छ । आयोजना क्षेत्रमा पर्ने चुचुरेको सिवालय बजार नजिकै केही वर्ष अघि भेटिएको रेडपाण्डालाई आयोजनाले सदर चिडियाखाना जावलाखेलमा लगेर राखेको थियो । आयोजनाले रेडपाण्डा पाउने क्षेत्र भएकोले रामेछापको गोकुलगंगा १ चुचुरेमा रेडपाण्डाको सालिक समेत राखेको छ ।

संरक्षण क्षेत्र बनेपछि रामेछापको उत्तरी क्षेत्रमा वन्यजन्तुको सिकारलाई पूर्ण रुपमा बन्देज लगाइएको आयोजनाकी अरुणिमा कार्कीले बताइन् । सिकार निषेध गरेपछि रेडपाण्डा, भालु, मृग, कस्तुरी, झारल चितुवा लगायत वन्यजन्तु बढेको स्थानीयले बताउँदै आएका छन् । गुम्देलमा संरक्षण क्षेत्रबाट हरेक वर्ष भालु स्थानीयको खेतीयोग्य जमिनमा पसेर बालीनालि नास गर्ने गर्छ ।

प्रकाशित : कार्तिक २६, २०७९ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×