कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१
कोप-२७ 

जलवायु विपद् रोक्न आवश्यक सम्झौता गर्न वार्ताकारहरूलाई विश्वनेताको ध्यानाकर्षण 

अब्दुल्लाह मियाँ

शर्म एल शेख, इजिप्ट — जलवायु परिवर्तनसम्बन्धी खाका महासन्धिका पक्ष मुलुकहरुको २७ औं सम्मेलन (कोप–२७) मा सोमबारदेखि ‘उच्चस्तरीय सत्र’ सुरु भएको छ । कोप–२७ को दोस्रो दिन उच्चस्तरीय बैठकका दौरान सहभागी १२५ देशका सरकार प्रमुखहरुले सम्बोधन गर्नेछन् । 

जलवायु विपद् रोक्न आवश्यक सम्झौता गर्न वार्ताकारहरूलाई विश्वनेताको ध्यानाकर्षण 

सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनले खडेरी, बाढी र गर्मीको लहरलाई तीव्र बनाउँदै लगेको र मानवलाई जीवनको लडाइँमा पुर्‍याएको बताए । उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायु विपद्लाई रोक्न जस्तोसुकै सम्झौता गर्न विश्वभरका वार्ताकार (नेताहरूलाई) चेतावनी दिए । उनले मानव हितका लागि जस्तोसुकै प्रणका लागि तयार हुन आह्वान गरे । उनले भने, ‘सहयोग गर्नुहोस् वा नष्ट गर्नुहोस्, यो या त जलवायु एकता सम्झौता हो, वा सामूहिक आत्महत्या सम्झौता हो ।’

गुटेरसले धनी देशहरू र उदीयमान अर्थतन्त्र बोकेका मुलुकहरूलाई ऐतिहासिक सम्झौताका लागि आह्वानसमेत गरे । उनले जलवायु अराजकताको अन्त्यका लागि एक हुनसमेत आह्वान गरे । उनले सबैका लागि नवीकरणीय र किफायती ऊर्जा उपलब्ध गराउने लक्ष्य राख्नुपर्ने बताउँदै उच्च उत्सर्जन गर्ने मुलुक अमेरिका र चीनलाई विशेष गरी पहल गर्न आग्रह गरे । उनले थपे, ‘हामी हाम्रो पाइला अझै एक्सेलेटरमा राखेर नर्कको मौसमको राजमार्गमा छौं ।’

कोप–२७ स्थल इजिप्टका राष्ट्रपति अब्देल फतेह अल सीसीले सम्बोधनका क्रममा युक्रेन र रुसको ९ महिने लामो युद्धका कारण विश्वभर भोकमरी र खाद्य संकट परेकाले त्यसको अन्त्यका लागि आग्रह गरे । उनले भने, ‘नौ महिना पुरानो द्वन्द्वले कालो सागरको मल, गहुँ, प्राकृतिक ग्यास र अन्य वस्तुहरूको आपूर्ति श्रृंखलामा ठूलो अवरोधहरू निम्त्याएको छ, जसले धेरै आधारभूत वस्तुहरूको विश्वव्यापी मूल्यहरू पठाएको छ र युरोप र अन्य ठाउँहरूमा उर्जा संकट उत्पन्न गरेको छ ।’

सम्बोधन गर्दै संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले आफ्नो मुलुकले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग जारी राख्ने उल्लेख गर्दै अर्को वर्ष कोप–२८ मार्फत विगतमा भएका सम्झौताहरूलाई कार्यान्वयन गर्न पहल गर्ने बताए । अर्को वर्ष दुबईमा कोप २८ हुँदैछ ।

बार्बाडोसकी प्रधानमन्त्री मिया मोटलीले आफ्नो देशलाई अन्यको तुलनामा इलेक्ट्रिक कार र ब्याट्रीजस्ता चीजहरूमा अघि बढाउन गाह्रो भएको बताउँदै ऊर्जा साझेदारीमा सहयोग आदानप्रदान हुनुपर्ने उल्लेख गरिन् ।

इजिप्टका लागि संयुक्त राष्ट्रसंघका जलवायु च्याम्पियन महमूद मोहिल्डिनले विकासोन्मुख देशहरूमा, विशेष गरी अफ्रिकामा जलवायु कार्यका लागि ‘निष्पक्ष र प्रभावकारी’ वित्तपोषणको लागि आह्वान गरे ।

‘विश्व कोभिड–१९ र युक्रेनमा भएको युद्धको प्रभावबाट ग्रस्त भएको समयमा, विकासशील देशहरूलाई जलवायु संकटको मूल्य तिर्न भनिएको छ,’ उनले भने, ‘उनीहरूले यसमा योगदान नगरेको तथ्यका बाबजुद यसले जलवायु कार्यलाई वित्तीय बनाउँछ । आईएमएफ र विश्व बैंकका अनुसार ऋण संकटबाट ग्रस्त देशहरूको बढ्दो संख्यालाई विचार गर्दै विकासशील देशहरूमा अनुचित छ ।’

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले संयुक्त राज्य अमेरिका, चीन र अन्य गैर–युरोपियन धनी राष्ट्रहरूलाई वार्ताका माध्यामबाट गरिब देशहरूलाई जलवायु परिवर्तनसँग लड्न मद्दत गर्नका लागि उचित हिस्सा लिन आग्रह गरे । ‘संयुक्त राज्य अमेरिका र चीनले उत्सर्जन कटौती र आर्थिक सहायतामा कदम चाल्न आवश्यक छ,’ म्याक्रोंले भने, ‘युरोपेलीहरूले लगानी गरिरहेका छन्, जलवायु संकट टार्न हामीले मात्र पैसो तिर्ने हो ?’

सोमबार लगभग ५० देशका राष्ट्र वा सरकार प्रमुखहरूले कोप–२७ को ‘उच्चस्तरीय सत्र’मा भाग लिँदै जलवायु प्रकोप अन्त्य गर्न आह्वान गरेका छन् । उच्चस्तरीय सत्र मंगलबार पनि जारी रहनेछ । नेपालको नेतृत्व गर्दै कोपमा सहभागी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मंगलबार सम्बोधन गर्नेछिन् ।

प्रकाशित : कार्तिक २१, २०७९ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?