कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

झोलुंगे पुलमा भर्‍याङ

तुलाराम पाण्डे

कालीकोट — धेरैलाई अचम्म लाग्छ– पुलमा भर्‍याङ ! बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा झोलुंगे पुल भत्काएपछि स्थानीयले बचेको पुलको बीचमा काठको भर्‍याङ बनाएर आवतजावत सहज बनाएका हुन् । 

झोलुंगे पुलमा भर्‍याङ

दसैंलगत्तैको अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित झोलुंगे पुल क्षतिग्रस्त बनाएको थियो । वारपार गर्नै गाह्रो भएपछि स्थानीयले २ लाख रुपैयाँ खर्च गरेर तिलानदीबाट आएको भँगालो र कर्णाली तर्न पुलको बीचमा काठको भर्‍याङ बनाएका हुन् ।

नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलातालाई जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रुलाई हिँड्न समस्या परेको थियो । स्थानीय नगरजंग मल्लका अनुसार तिलानदीको भँगालोमा लाप्को (फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुल) र पुल बगाउन बाँकी रहेको बीचभागमा काठको भर्‍याङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको छ ।

काठको झर्‍याङ बनाउन यातायात समिति र स्थानीय व्यवसायीले सहयोग गरेका छन् । तिलानदीको शिव मन्दिरनजिक र कर्णालीको लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुंगा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘पुलमा पुग्न भर्‍याङ बनाउनु अन्यथा होइन,’ उनले भने, ‘पुल जोखिमपूर्ण भएपछि तत्कालका लागि नदी वारपार गर्ने उपाय अपनाइएको हो ।’

बेमौसमी वर्षाले कालीकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइलगायत संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । कालीकोटका पाँचवटा स्थानीय तहसहित हुम्ला र बाजुराबाट आउने यात्रुको सहजताका लागि जितेगडाको क्षतिग्रस्त पुलमा भर्‍याङ बनाइएको स्थानीय नरजंग मल्लले बताए । उनका अनुसार वर्षाले जिते बजारका करिब ४० वटा घरटहरा बगाएको छ । नदीमा तटबन्ध नहुँदा बजारसहित पुलमा क्षति पुगेको उनको भनाइ छ ।

कर्णाली करिडोरको खुलालुमा पक्की पुल नबन्दासम्म जितेबजार गुल्जार थियो । कर्णालीपारिका साविकका १७ गाविसका बासिन्दाको मुख्य हाटबजार मानिने खुलालु सदरमुकाम मान्मपछिको दोस्रो व्यापारिक केन्द्र हो । अचेल बाढीले बजार र पुल क्षतिग्रस्त बनाएपछि सुनसान छ ।

यसअघि दैनिक झन्डै ५ सय जनाले आवतजावत गर्ने पुलमा अहिले दैनिक करिब एक सय जनाले मात्र वारपार गरिरहेका छन् । त्यही पुलबाट कर्णाली राजमार्गको छहराबाट सुर्खेत जाने र मान्म आउने सयौं यात्रुहरू ओहोरदोहोर गरिरहेको बस समितिको संयुक्त काउन्टरका प्रतिनिधि खेमराज विष्टले बताए । वर्षाले क्षतविक्षत भएको कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु सडक अझै सञ्चालनमा आउन सकेको छैन । रकुलुसाको दलदले पहिरो निरन्तर बगिरहेकाले यातायातका साधन चल्न नसकेका हुन् ।

करिडोरको बीचबीचमा स्थानीय तहले डोजरमार्फत पहिरो हटाउने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले बताए । उनका अनुसार बगिरहने पहिरो सुकेपछि मात्र सडक सुल्ने सम्भावना छ । करिडोरमा यातायातका साधन बन्द भएपछि बाजुरा, हुम्ला, मुगुसहित कालीकोटमा पाँच स्थानीय तहमा जाने सयौं यात्रु सास्ती भोग्न बाध्य छन् ।

प्रकाशित : कार्तिक १६, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×