कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेको चुनावी चहलपहल : पहिले जितेकाहरू नै प्रदेशको प्रतिस्पर्धामा

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेमा प्रदेशसभातर्फका चारवटै निर्वाचन क्षेत्रमा चुनावी माहोल रोचक देखिएको छ । चारवटै क्षेत्रमा अघिल्लो निर्वाचनमा निर्वाचित उम्मेदवारहरू यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्दैछन् ।

काभ्रेको चुनावी चहलपहल : पहिले जितेकाहरू नै प्रदेशको प्रतिस्पर्धामा

२०७४ मा भएको प्रदेशसभा निर्वाचनका ३ जना विजयी उम्मेदवारहरू यस पटकको निर्वाचनमा सोही क्षेत्रबाटै प्रतिस्पर्धामा छन् । २०७० सालको संविधानसभामा निर्वाचित पनि प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाका २ निर्वाचन क्षेत्रका २/२ गरी ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा ३१ जना चुनावी मैदानमा छन् ।

२०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा–१ अन्तर्गत प्रदेशसभा (१) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रहेका प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर (सीबी) लामा पराजित भएका थिए । अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएका ढकालले यस पटकको निर्वाचनमा भने सत्तारुढ गठबन्धनबाट प्रतिनिधित्व गर्दै एमालेका दिलबहादुर तामाङ (दिलिप)सँग प्रतिस्पर्धा गर्दैछन् ।

आफू निर्वाचित भएपछि सो क्षेत्रमा विकास भित्र्याएको दाबी गर्दै ढकालले सोही एजेण्डालाई आफ्नो जितको आधार मानेका छन् । अघिल्लो निर्वाचनमा जनतासँग प्रतिबद्धता गरे अनुसार यहाँ भएका विकासका कामले मतदाताहरूको मन जित्न सफल भएकाले पनि जितको सुनिश्चित रहेको उनको दाबी छ ।

एमालेका लामाले पनि विकासलाई नै मूल आधार बनाएका छन्। गठबन्धनको चुनौतीलाई सहज रुपमा लिएको भन्दै लामाले भौगोलिक हिसाबले काभ्रेको विकट मानिने उक्त क्षेत्रमा विकासका कामले नै जनताको मन र मत जित्न सक्ने दाबी गरे । ‘विकास चाहने यस क्षेत्रका मतदाताले चिनेका छन् । मतदाताले विकासकै लागि मतदान गर्नेछन्, त्यसकारण पनि जितप्रति पूर्ण रुपमा विश्वस्त छु,’ उनले भने ।

२०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा–१ अन्तर्गतको प्रदेशसभा (२)मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार एवं प्रदेशका पूर्व कृषि तथा पशुपन्छी विकासमन्त्री चन्द्रबहादुर लामा विजयी भएका थिए । उनले कांग्रेसका उम्मेदवार गणेश लामालाई पराजित गरेका थिए । लामाले यस पटकको निर्वाचनमा पनि सोही क्षेत्रबाटै उम्मेदवारी दिएका छन् । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामासँग प्रतिस्पर्धा गर्दैछन् । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ मा हार बेहोरेका तीर्थ र प्रदेश सभाका निवार्चित चन्द्रबीचको प्रतिस्पर्धाले यस क्षेत्रमा चुनावी माहोल रोचक बन्ने अनुमान गरिएको छ ।

जनताले संविधानको रक्षा, विकास र स्थायीत्व चाहेकोले गठबन्धन दलका उम्मेदवारलाई जिताउनेमा तीर्थ विश्वस्त छन् । गठबन्धनले राजनीतिक स्थिरता, संविधानको रक्षा र विकास र समृद्धिलाई आफ्ना विकासी एजेण्डामा पहिलो प्राथमिकतामा राखेको उनले बताए । ‘विकास र समृद्धिको नाममा आफूले कुनै खोक्रो आश्वासन दिन नजानेको भन्दै उनले बताए, ‘जनताका समस्या समाधान गर्न यस क्षेत्रकोे विकासका लागि चुनावी मैदानमा उत्रिएको छु, कुराले होइन कामले जनताको विश्वास जित्नेछु र जनताले जिताउनुहुनेछ भन्नेमा ढुक्क छु ।’

अघिल्लो निर्वाचन जस्तै यस पटकको निर्वाचनमा आफूले जित हासिल गर्ने चन्द्र लामालाई पनि विश्वास छ । आफ्नो नेतृत्वमा भएका स्वास्थ्य, शिक्षा, सिँचाइ, खानेपानी, पर्यटन, कृषि, पूर्वाधार लगायत विकास कामको सही मूल्याङकन गर्दै यस निर्वाचनमा पनि जनताले जिताउनेमा उनी विश्वस्त छन् । ‘जितको आधार भनेको विकास र समृद्धि हो, जसलाई मैले त्यो क्षेत्रको जनता र त्यहाँको माटोलाई शीरमा राखेर काम गरेको छु, विकास गरेको छु’, उनले भने, ‘जनताले कुन दलबिच गठबन्धन भयो वा भएन हेर्दैनन् र बुझ्दैनन् पनि । जनताले हेर्ने भनेको विकास, समृद्धि र सुशासन नै हो ।’

त्यस्तै काभ्रेको अर्को निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (१)को चुनावी अवस्थामा पनि १ को भन्दा फरक छैन । प्रतिनिधिसभा निर्वाचनको क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (१) मा पनि २०७४ मा निर्वाचित उम्मेदवार नै सोही क्षेत्रमा यस पटक पनि उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट एमालेका उम्मेदवार लक्ष्मण लम्साल कांग्रेसका सुन्दरमणि आचार्यलाई पराजित गर्दै विजयी भएका थिए ।

२०७४ मा वाम गठबन्धन अन्र्तगत एमालेबाट प्रतिनिधित्व गरी निर्वाचित भएका लम्सालले एक पटकको निर्वाचनमा सत्तारुढ गठबन्धन दल अन्र्तगत एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका छन् । उनले एमालेका उम्मेदवार एवं नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य कुमार खकुरेलसँग प्रतिस्पर्धा गर्दैछन् । यसअघि निर्वाचित भएको क्षेत्रमा विगतका प्रतिस्पर्धीको साथसहित पुनः उम्मेदवारी दिएका लम्सालसँग खकुरेललाई कठिन हुने मतदाताको अनुमान छ ।

राष्ट्रिय स्वाधिनता र रक्षाको निम्ति हामीले खेलेको नेत्तृत्वदायी भूमिकाहरू एकदम खुल्ला किताबझैँ सबैसामु छर्लङ भएको खकुरेलले बताए । ‘स्पष्ट एजेण्डाका साथ हामी जनतामाझ आएका छौँ,’ उनले भने, ‘हाम्रो लागि यो निर्वाचन कुनै पद प्राप्ति मात्र हैन, हामीसँग मुलुक निर्माणको स्पष्ट मिसन छ । मुलुकलाई विकासकै रुपमा रुपान्तरण गर्ने अवधारणा छ, यही अवधारणा नै निर्वाचन जित्ने आधार पनि हो ।’

अघिल्लो निर्वाचन जितेका लम्साल पनि जनताका बीचमा आफ्नो नेत्तृत्वमा भएका विकासका कामहरू नै आफ्नो जितको पहिलो आधार देखाउँछन् । विकास र समृद्धि कुरामा मात्रै सिमित होइन काम गरेर देखाउनुपर्ने बताउँदै उनले भने, ‘जनतासँगको साक्षात्कार, जनताको समस्या र जनताको विकासको चाहना र आकंक्षालाई कुनै न कुनै रुपले सम्बोधन गर्नु, राष्ट्रिय स्तरको गठबन्धनको बलियो साथ, पार्टीभन्दा पनि जनतालाई पहिलो स्थान दिइएको, प्रदेशसभा सदस्यले खेल्नुपर्नेमा भूमिका र कर्तव्यनिष्ठ जिम्मेवारी बहन गर्नु, सुशासन कायम गर्न सक्नु नै निर्वाचन जितको आधारहरू हुन् ।’

अन्य क्षेत्रभन्दा प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा (२) मा भने अलि फरक अवस्था छ । यस क्षेत्रमा पनि अघिल्लो निर्वाचनमा निर्वाचित उम्मेदवारसँगै प्रतिस्पर्धा हुदैँछ । २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार वसुन्धरा हुमागाईंसँग हार व्यहोरेका काँग्रेसका उम्मेदवार एवं पूर्वराज्यमन्त्री कञ्चनचन्द्र बादेले यस पटक पनि सोही क्षेत्रबाटै उम्मेदवारी दिएका छन् । एकिकृत समाजवादीतर्फ लागेका प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री हुमागाईले यस पटक बादेलाई सघाउदैछन् । २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा एमालेका उम्मेदवार गोकुल बास्कोटालाई पराजित गरेका बादले यस निर्वाचनमा एमालेका उम्मेदवार एवं एमालेका प्रदेश कमिटी सदस्य कुमार थापासँग प्रतिस्पर्धा गर्दैछन् ।

जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर जनतालाई विश्वास दिलाउन काम गरिएकाले पनि निर्वाचनमा जितको सुनिश्चितता भएको उनले दाबीले गरे । हिजोको कामका अनुभवका हिसाबले जनताको विश्वास जित्नु र मन जित्नु नै हाम्रो जितको पहिलो मूल ढोका भएको बताउँदै एमालेका उम्मेदवार थापाले भने,‘थोरै समयमै धेरै काम गरेका छौं, सुखी नेपाली समृद्ध नेपाल भन्ने अवधारणासहित विकासमा अघि सरेका छौं, हाम्रो जित्ने आधार पनि यही हो, जनतालाई विश्वास दिलाउने आधार पनि त्यही हो ।'

जनताले विकास समृद्धि, संविधानको रक्षा र सुशासन चाहेकाले त्यसको प्रत्याभूति दिलाउन पनि जनताले आफूलाई जिताउनेमा बादे विश्वस्त देखिन्छन् । यस क्षेत्रमा धेरै विकासका कामहरू हुन बाँकी छन् र केही अधुरै छन्, ती कामलाई प्राथमकिता राख्दै समग्र काभ्रेको विकासमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

वाम गठबन्धनका कारण २०७४ सालको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेले २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा त्यो हैसियत गुमायो । माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएको कांग्रेस स्थानीय तहको निर्वाचनमा भने काभ्रेमा पहिलो पार्टीको रुपमा देखिएको छ । एमालेले एकल रुपमा सत्तारुढ गठबन्धन दल (कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र) का उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (१) मा चौंरीदेउराली, तेमाल, महाभारत र रोशीका ७ वटा वडा पर्छन् । यस क्षेत्रका ३३ वटा वडामा ४ वटा वडामा एमाले र २९ वटा वडामा गठबन्धनका उम्मेवार विजयी भएका थिए । सो क्षेत्रमा सदर मतमध्ये १८ हजार ७ सय १९ मत गठबन्धन र २ हजार १ सय ११ मत एमालेका उम्मेदवारले पाएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (२) मा खानीखोला गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक १ वटा वडा, पनौती नगरपालिकाको ७ वटा वडा र धुलीखेल नगरपालिकाको ५ वटा वडा पर्छन् । यस क्षेत्रका ३६ वटा वडामा १४ वटा वडामा एमाले, २१ वटा वडामा गठबन्धन र एउटा वडा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (१) मा भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिकाको ६ वटा वडा र धुलीखेल नगरपालिकाको ७ वटा वडा पर्छन् । यस क्षेत्रका ३६ वटा वडामध्ये २३ वटा वडामा गठबन्धन, १२ वटा वडामा एमाले, १ वटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेवार विजयी भएका छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिकाको ६ वटा वडा, पनौती नगरपालिकाको ५ वटा वडा र बेथानचोक गाउँपालिकाको ५ वटा वडा पर्छन् । यस क्षेत्रका ३० वटा वडामा १५ वटा वडामा गठबन्धन, १४ वटा वडामा एमाले र १ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला र अन्य २ जना गरी बढीमा ३ लाख १० हजार ६३ नागरिकले मतदान गर्ने भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता संख्या एक लाख ५२ हजार ६ सय २१ रहेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ कोे प्रदेशसभा (१) ७६ हजार ४ सय ७५ मतदाता छन् भने प्रदेशसभा (२) मा ७६ हजार १ सय ४६ मतदाता छन् ।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन् । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (१)मा ७७ हजार १ सय ९ मतदाता छन् भने प्रदेशसभा (२) मा ८० हजार ३ सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रले जनाएको छ ।

प्रकाशित : कार्तिक १४, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?