कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो निगमको दिल्ली उडान

उडान अनुमति थिएन : विमानस्थलका महाप्रबन्धक
भैरहवामा व्यापार छैन‚ जाँदैनौं : निगमका उपनिर्देशक
सुरज कुँवर

काठमाडौँ — २ सय ५४ जना यात्रु लिएर भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडीको आरए-२१७ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । नागरिक उड्डयन प्राधिकरणले जाडो यामका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिका (अक्टोबर ३० देखि मार्च २७ सम्म) मा निगमको आइतबार र शुक्रबार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाडौंबाट हुने उडान कटौती गरेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आइतबार उडान रोकिदिएको निगमका उपनिर्देशक रमेश पौडेलले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो निगमको दिल्ली उडान

‘हामी ग्रीष्मयामको तालिका (मार्च २८ देखी अक्टोबर २९ सम्म) मा दिल्लीका लागि हप्तामा सातै दिन दिउँसो उडान गर्दै आएका थियौं,’ वाणिज्य विभागका उपनिर्देशक पौडेलले भने,‘आजदेखि सुरु हुने ५ महिना लामो विन्टर सेड्युलमा आइतबार र शुक्रबारको उडान प्राधिकरणले कटौती गरिदिएछ ।’

उनले प्राधिकरणले निगम र हिमालय एयरलायन्सलाई भैरहवाबाट पनि उडान सुरु गर्न भनेको तर आफूहरूले त्यहाँ यात्रु अभावका कारण तालिका नराखेकाले काठमाडौंमा दिउँसो सातै दिन दिल्लीका लागि हुँदै आएको उडानमा दुईवटा उडान प्राधिकरणले कटौती गरिदिएको पौडेलले बताए ।

उता विमानस्थलका महाप्रबन्धक ठाकुरले अनुमति नलिई यात्रु बोर्डिङ गरेकाले निगमको उडान रोक्नुपरेको बताए । ‘प्राधिकरणबाट उडान अनुमति नलिई निगमले किन टिकट बिक्री गरेछ‚ यो त यात्रु ठगी हो,’ ठाकुरले भने, ‘यसरी अनुमति नै नलिई यात्रु बोर्डिङ गरिहाले पनि एयर ट्राफिकले नै जहाजलाई उड्न अनुमति दिँदैन । निगमले किन दादागिरी गरेको हो ?’

उनका अनुसार आइतबारका लागि निगमले २ सय ७३ जना यात्रुलाई टिकट बिक्री गरिसकेको थियो । उनले बोर्डिङ पास जारी भइरहेको थाहा पाएपछि रोकेको बताउँदै ७३ जना यात्रुहरू बोर्डिङ पास लिई सुरक्षा चेकमा गइसकेको बताए । बोर्डिङ पास लिइसकेका यात्रुले नाराबाजी गरिरहेको निगमको विमानस्थलमा रहेका एक अधिकृतले बताए ।

यस विषयमा जानकारी लिन सम्पर्क गर्दा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको फोन उठेन भने उनले एसएमएसको जवाफ पनि दिएनन् ।

उपनिर्देशक पौडेलेले भारतीय वायुसेवाहरूलाई सातामा २१ वटा उडान अनुमति दिँदै प्राधिकरणले निगमलाई डुबाउन र भारतीय वायुसेवालाई कसैको स्वार्थमा पोस्न खोजिएको आरोप लगाए । उनले व्यापार नहुने भैरहवामा जान नसकिने बताए ।

प्रकाशित : कार्तिक १३, २०७९ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?