कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बयलगाडा दर्शनशास्त्रले देश काण्डैकाण्डमा मुछियो : अध्यक्ष नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओली पतन भएर जाने दाबी गरेका छन् । संविधानलाई धुजाधुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकताबद्ध भएर आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

बयलगाडा दर्शनशास्त्रले देश काण्डैकाण्डमा मुछियो : अध्यक्ष नेपाल

सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै अध्यक्ष नेपालले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिमगनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकताबद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई पुनः आग्रहसमेत गरेका छन् ।

अध्यक्ष नेपालले ओलीले संविधान, कानुनसमेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारुढ गठबन्धन बनेको दोहोर्‍याउँदै त्यसलाई कायमै राखेर अघि बढनुपर्ने बताए । 'एकखालका मानिस थिए– नेपालमा राजतन्त्रलाई फाल्नु बयलगाडा चढेर वासिङ्गटन पुग्नु उस्तैउस्तै कुरा हो भन्थे । बयलगाडाका सिद्धान्तकारहरू अहिले पनि ज्युँदै छन् । त्यो बयलगाडाको दर्शनशास्त्र, त्यो दर्शन शास्त्रमा किताब लेख्नुपर्ने छ, बुद्धिजीवी साथीहरूले । त्यो बयलगाडाले कहाँ–कहाँ पुर्‍याउँछ ? त्यो यथास्थिति हो, प्रतिगमनकारी हो । त्यो दर्शनलाई अंगाल्ने हो भने राप्रपासँग एकता हुन्छ । त्यो दर्शनलाई अंगीकार गर्ने हो भने देशघातीहरूसँग एकता हुन्छ । त्यो दर्शनलाई आत्मासात गर्ने हो भने यथास्थितिमा रमाउनुपर्ने हुन्छ,' उनले भने, 'त्यो परिवर्तनमा पक्षपोषक हुन सक्दैन । राष्ट्रियताको हिमायती हुन सक्दैन । समाजवाद आम जनताको जीवनलाई सुःखी बनाउनका लागि, न्याय र समानताको बाटोमा अघि बढाउनका लागि, समृद्धिको बाटोमा अघि बढाउनका लागि त्यसले सहयोग गर्न सक्दैन ।'

ओली प्रधानमन्त्री भएको बेला मुलुक भ्रष्टाचारमा डुबेको नेपालको आरोप थियो । त्यस्तो कार्यकाल देखेर जनताले अरु राजनीतिक दलहरूप्रति पनि प्रश्न उठाइरहेको उनको भनाइ थियो । 'त्यही दर्शनशास्त्रका कारण देश काण्डैकाण्डमा मुछियो । भ्रष्टाचारमा चुर्लुम्म डुब्यो । त्यसो हुनाले जनताले अझै पनि आवाज के उठाइरहेका छन् भने अहिले सबै पार्टीहरू, तपाईं नेताहरू सजग हुनुहोस् । एक किसिमले भन्ने हो भने एउटा युवा पंक्तिमा राजनीतिप्रति निराशा जागेको, वितृष्णा फैलिएको देखिन्छ । ती युवाहरूमा कसरी आशा जगाउने, कसरी उनीहरूलाई उत्साहित गर्ने, कसरी उनीहरूको विश्वास हामीले जित्ने हो ? यस सन्दर्भमा हाम्रो दायित्त्व हो,' उनले भने ।

अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनले जनतालाई ठग्ने काम मात्रै गरिरहेको आरोप समेत लगाए । उनले ओली नेतृत्वको सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लम्म डुबाएको उल्लेख गर्दै त्यस्ता खालको गतिविधि गर्नेलाई राष्ट्रियताको हिमायती भन्न नसकिने जिकिरसमेत गरे ।

प्रकाशित : कार्तिक ७, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?