२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कांग्रेसलाई बागीभन्दा अन्तर्घातको चिन्ता

टिकट वितरणमा संस्थापनले बलमिच्याइँ गरेकाले कतिपय क्षेत्रमा शेखर कोइराला पक्षले अन्तर्घात गर्ने आशंका
कलेन्द्र सेजुवाल

काठमाडौँ — विगतका निर्वाचनमा आफ्नै पार्टीका बागी उम्मेदवारको चुनौती झेल्दै आएको कांग्रेसले यस पटक बागीको सामना कम गर्नुपर्ने भएको छ तर टिकट वितरणका क्रममा देखिएको तीव्र असन्तुष्टि र गुटगत प्रतिस्पर्धाका कारण कांग्रेसमा अन्तर्घातको संशय छ । टिकट वितरणमा संस्थापन पक्षले बलमिच्याइँ गरेकाले कतिपय क्षेत्रमा शेखर कोइराला पक्षले अन्तर्घात गर्ने आशंका छ ।

कांग्रेसलाई बागीभन्दा अन्तर्घातको चिन्ता

सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार कांग्रेसले प्रतिनिधिसभाका ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये चार ठाउँमा मात्र कांग्रेसका आफ्नै बागी उम्मेदवार छन् । कञ्चनपुर–३ मा रमेश लेखकविरुद्ध दीपकबहादुर सिंह र शारदा चन्दले बागी उम्मेदवारी दिएका छन् । निर्माण व्यवसायीसमेत रहेका सिंह कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

कांग्रेसकी जिल्लास्तरीय कार्यकर्ता रहेकी चन्द भने पछिल्लो समय सामाजिक क्षेत्रमा कार्यरत छिन् । आफ्नै दुई जना बागी रहे पनि प्रमुख प्रतिस्पर्धी एमालेको भन्दा गठबन्धनको झन्डै दोब्बर मत रहेकाले कांग्रेसको आत्मबल बलियो देखिन्छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतलाई आधार मान्दा कञ्चनपुर–३ मा कांग्रेसको २१ हजार ७ सय ७२, एमालेको १६ हजार १ सय १७, राप्रपाको ६ हजार ५ सय ३, माओवादीको ५ हजार ९ सय ८१ र एकीकृत समाजवादीको ३ हजार १२ मत छ ।

सिन्धुपाल्चोक–२ मा मोहनबहादुर बस्नेतविरुद्ध बद्री चौलागाईंले उम्मेदवारी दिएका छन् । उनी पार्टीका पूर्वक्षेत्रीय सभापति हुन् । विगतमा बस्नेत समूहमा रहेका चौलागाईं पछिल्लो समय संस्थापनइतर समूहमा छन् । सिन्धुपाल्चोक–१ मा माओवादीका माधव सापकोटाविरुद्ध पनि सोही पार्टीका बागी उम्मेदवार छन् । आफ्नै पार्टीका बागी भए पनि गणितीय रूपमा बस्नेत बलियो देखिन्छन् । सिन्धुपाल्चोक–२ मा पहिलो दलका रूपमा रहेको एमालेको मत ३१ हजार ७ सय ७६ छ भने कांग्रेसको २९ हजार ३ सय २, माओवादीको १६ हजार ७९, राप्रपाको ५ हजार ९ सय ३२ र एकीकृत समाजवादीको १ हजार ६ सय ६३ मत छ ।

धादिङ–२ मा जिल्ला सभापति रामनाथ अधिकारीविरुद्ध कांग्रेसकै टीकाराम काप्री बागी उठेका छन् । काप्री जिल्लास्तरीय नेता हुन् । उक्त क्षेत्रमा कांग्रेस पहिलो दल हो । स्थानीय तह निर्वाचनमा कांग्रेसले २९ हजार ९ सय ६५, एमालेले २५ हजार ९ सय ३८, माओवादीले १४ हजार ३ सय ८०, राप्रपाले ५ हजार २ सय ८७, एकीकृत समाजवादीले ३ हजार ४ सय ५६ र जसपाले १ हजार ६० मत पाएका छन् । आफ्नै बागी उम्मेदवार रहे पनि गठबन्धनको मत प्रमुख प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर रहेकाले कांग्रेसले खासै ठूलो चुनौती महसुस गरेको छैन ।

सर्लाही–४ मा भने कांग्रेसका लागि चुनौती छ । जिल्ला सभापति नागेन्द्रकुमार रायविरुद्ध कांग्रेसकै निवर्तमान सांसद अमरेशकुमार सिंह र माओवादीका मधुमलाकुमारी यादव बागी उम्मेदवार छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी र लोसपा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले २३ हजार १ सय ३१, माओवादीले १८ हजार ६ सय १५, लोसपाले १४ हजार ७ सय ३१, एमालेले ११ हजार ६ सय ७४ र जसपाले ६ हजार ४ सय ३३ मत पाएका थिए । पहिलो र दोस्रो ठूलो दलबाटै प्रभावशाली नेता बागी उठेकाले परिणामबारे कांग्रेस ढुक्क हुने अवस्था छैन ।

कांग्रेसलाई कारबाहीमा परेका पार्टीका पूर्वनेताहरू पनि चुनौती बनेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी (तनहुँ १) ले उम्मेदवारी दिएका छन् । पौडेल र पूर्वकांग्रेस नेता जोशीबीच लामो समयदेखि द्वन्द्व छ । गत स्थानीय निर्वाचनमा पनि जोशीले आफ्ना छोरा दीपकराज जोशीलाई कांग्रेसविरुद्ध उम्मेदवार बनाएका थिए । त्यस्तै कैलाली ५ मा कांग्रेसका आधिकारिक उम्मेदवार डिल्लीराज पन्तविरुद्ध कांग्रेसकै पूर्वसांसद पुष्करनाथ ओझा उम्मेदवार बनेका छन् । ओझा त्यहाँका पुराना नेता हुन् । ओझा २०७४ को निर्वाचनमा देउवापत्नी आरजु राणाविरुद्ध उम्मेदवार भएपछि कांग्रेसले कारबाही गरेको थियो ।

कांग्रेसविरुद्ध गठबन्धन दलका बागी पनि नगन्य छन् । कांग्रेसको भागमा परेका तीन स्थानमा मात्र माओवादीका बागी उम्मेदवार छन् । सर्लाहीबाहेक धनकुटा र सप्तरी–१ मा कांग्रेसविरुद्ध माओवादीका बागी उम्मेदवार छन् । धनकुटामा कांग्रेसले केन्द्रीय सदस्य सुनीलबहादुर थापालाई उम्मेदवार बनाएको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर करिब २ वर्षअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनीविरुद्ध माओवादीका हेमराज भण्डारी बागी उठेका छन् । उनी पार्टीका पोलिटब्युरो सदस्य हुन् । भण्डारीको उम्मेदवारीले थापालाई चुनौती बढाएको छ ।

धनकुटामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत जोड्दासमेत प्रमुख प्रतिस्पर्धी एमालेको भन्दा कम छ । स्थानीय तह निर्वाचन परिणाअनुसार धनकुटामा एमालेको ३६ हजार ३ सय ३६, कांग्रेसको २८ हजार १ सय ८२, माओवादीको ५ हजार ४ सय ५८, जसपाको २ हजार २ सय ९३, एकीकृत समाजवादीको १ हजार ७ सय २८ र राप्रपाको ३ सय ४ मत छ । धनकुटामा एमालेबाट निवर्तमान सांसद राजेन्द्रकुमार राई उम्मेदवार छन् । ०७४ को निर्वाचनमा राईले थापालाई करिब १० हजार मतान्तरले पराजित गरेका थिए ।

सप्तरी–१ मा कांग्रेसका जिल्ला सभापति रामदेव साहविरुद्ध माओवादीका जिल्ला इन्चार्ज अशोककुमार मण्डल बागी उठेका छन् । माओवादीले उनलाई प्रदेशसभामा उम्मेदवार बनाउन खोजे पनि उनी प्रतिनिधिसभामा बागी उठेका हुन् । सप्तरी–१ मा एमालेको समर्थनमा जसपाका नवकिशोर साह उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनभन्दा एमाले–जसपाको मत बढी छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले २१ हजार ४ सय ५६, एमालेले १७ हजार १ सय ५८, जसपाले १७ हजार १ सय ३७, जनमत पार्टीले ९ हजार ४ सय ३३, माओवादीले ८ हजार ४ सय ९६, लोसपाले १ हजार ६ सय ४६, एकीकृत समाजवादीले ७ सय ४२ र राप्रपाले ७ सय २९ मत ल्याएका थिए ।

कांग्रेसको भागमा परेका अन्य क्षेत्रमा सत्ता गठबन्धन दलका बागी उम्मेदवार छैनन् । धनुषा–२ मा एकीकृत समाजवादी र काठमाडौं–१० मा माओवादीले आफ्ना आधिकारिक उम्मेदवार उठाएका छन् । धनुषा–२ मा कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा उम्मेदवार छन् । काठमाडौं–१० कांग्रेसका राजेन्द्रकुमार केसी र माओवादी केन्द्रकी अन्जना विशंखे उम्मेदवार छन् । यी दुई क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा हुने भएको छ ।

स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा बागी उम्मेदवार रहेका ६ मध्ये ३ ठाउँमा कांग्रेसका उम्मेदवार बलियो अवस्थामा छन् । कञ्चनपुर–३, सिन्धुपाल्चोक–२ र धादिङ–२ मा बागी उम्मेदवार रहे पनि गठबन्धनका बलमा सहजै जित्न सकिने कांग्रेसको विश्वास छ । धनकुटा, सर्लाही–४ र सप्तरी–१ मा भने बागीको प्रभाव पर्ने कांग्रेसको आकलन छ । पार्टीको तर्फबाट गठित केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठ बागीहरूको उम्मेदवारी निस्तेज गर्न पार्टीभित्र र गठबन्धनका शीर्ष नेताले प्रयास गरिरहेको बताउँछन् । ‘कांग्रेसका बागी उम्मेदवारको कारण गठबन्धनका सहयात्री दलहरूको भोट कांग्रेसका उम्मेदवारलाई नखस्नेमा हामी सचेत छौं,’ उनले भने, ‘त्यसैले कांग्रेसविरुद्ध कम बागी भए पनि कांग्रेसले गठबन्धन दलविरुद्धका बागीलाई बसाल्ने प्रयास गरिरहेको छ ।’

बागी उम्मेदवार कम रहे पनि कांग्रेसका उम्मेदवारहरू अन्तरघातको जोखिमबाट भने मुक्त हुन सकेका छैनन् । यही जोखिमका कारण पार्टीभित्र प्रभावको हिसाबले प्रत्यक्षतर्फ सहजै टिकट पाउने सम्भावना भएका गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, विमलेन्द्र निधि, आरजु राणा देउवा, जीवन परियारलगायत नेता समानुपातिकमा बसेका थिए । ‘अहिले पनि पार्टीभित्र प्रतिस्पर्धी गुटका ठूला नेतालाई हराउन पार्टीभित्रै अन्तर्घात हुन सक्ने सूचना आएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘देखिने बागीभन्दा नदेखिने अन्तर्घातको चुनौतीले पिरोल्ने गरेको छ ।’

गठबन्धन दलका उम्मेदवारविरुद्ध रहेका कांग्रेसका बागीलाई बेलैमा व्यवस्थापन गर्न नसकिएमा चुनावमा परिणाम सोचेजस्तो आउन नसक्ने उनले बताए । चितवन–३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको बागी उम्मेदवारीले यो संशयलाई थप बलियो बनाएको छ । माओवादीको भागमा परेको उक्त क्षेत्रमा बागी उठेका कोइराला अर्को समूहका नेता हुन् । उनलाई एमालेले समर्थन गरेको छ ।

संस्थापनइतर समूहका एक नेताका अनुसार कोइरालाको उम्मेदवारी एमाले नेतृत्वसँगको संवादपछि तय भएको हो । ‘माओवादीका उम्मेदवारलाई जसरी पनि हराउने रणनीतिअनुसार एमाले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गर्ने सम्भावनातर्फ अघि बढिरहेको थियो,’ ती नेताले भने, ‘तर एमाले नेतृत्वसँग काठमाडौंमा कुरा भएपछि कोइरालाले समर्थन पाएका हुन् ।’ पार्टीभित्रै अन्तर्घात हुने सम्भावना र कांग्रेसका बागीका कारण गठबन्धन दलको मत सर्लक्कै नआउने जोखिम रहेको ती नेताले बताए ।

प्रदेशका ६ स्थानमा कांग्रेसकै बागी

कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध प्रदेशसभाका ६ स्थानमा कांग्रेसकै बागी उम्मेदवार छन् । कैलाली ४ (२) मा प्रकाशबहादुर बमविरुद्ध प्रेम शाह र भगवती पाठक बागी उठेका छन् । कैलाली ५ (२) मा प्रकाशबहादुर देउवाविरुद्ध पूर्वविद्यार्थी नेता क्षितिज भण्डारी उठेका छन् ।

कर्णाली प्रदेश सभापति ललितजंग शाही उम्मेदवार रहेको जुम्ला प्रदेशसभा (१) मा महाधिवेशन प्रतिनिधि देवेन्द्र शाही बागी छन् । उनी ०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट जुम्लामा प्रतिनिधिसभा उम्मेदवार थिए । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीविरुद्ध मोरङ ६ (२) मा कांग्रेसकै प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी बागी छन् । मोरङकै प्रदेशसभा ४ (१) मा युवा नेता गुरुराज घिमिरेविरुद्ध कांग्रेसका जिल्लास्तरीय नेता नन्दु सरदारले स्वतन्त्र उम्मेदवारी हालेका छन् । उनी विजयकुमार गच्छदारसँगै पार्टी एकताबाट कांग्रेस प्रवेश गरेका हुन् । बैतडीको प्रदेशसभा (१) मा कांग्रेस जिल्ला उपसभापति वीरबहादुर विष्टविरुद्ध महासमिति सदस्य हरिमोहन भण्डारी बागी उठेका छन् ।

कांग्रेसका बागीले अन्य दल चिन्तित

सत्ता गठबन्धनका अन्य दलका उम्मेदवार रहेका ठाउँमा कांग्रेसका बागी धेरै छन् । कांग्रेसका बागीका कारण गठबन्धन दलहरू चिन्तित देखिएका छन् । माओवादीविरुद्ध १०, एकीकृत समाजवादीविरुद्ध ७ र लोसपाविरुद्ध १ स्थानमा कांग्रेसका बागी छन् ।

माओवादी उम्मेदवार रहेका गोरखा–२ मा पुष्पकमल दाहालविरुद्ध गणेश देवकोटा, चितवन–३ मा भोजप्रसाद अधिकारीविरुद्ध दिनेश कोइराला, रुकुमपश्चिममा जनार्दन शर्माविरुद्ध तारक केसी, कपिलवस्तु–१ मा चक्रपाणि खनालविरुद्ध ललित गुरुङ, कैलाली–३ मा कृष्णकुमार चौधरीविरुद्ध नवीन बोहोरा, बैतडीमा नरेन्द्र कुँवरविरुद्ध केशबहादुर चन्द, मोरङ–४ मा अमनलाल मोदीविरुद्ध नवीन खवास, मोरङ–५ मा शिव मण्डलविरुद्ध मोहम्मद रेजा हुसेन, झापा–२ मा हरि रानामगरविरुद्ध कुमार भट्टराई र दोलखामा गंगा कार्कीविरुद्ध विश्वनिधि पाख्रिन बागी छन् ।

एकीकृत समाजवादीले उम्मेदवारी दिएका २० मध्ये ७ स्थानमा कांग्रेसका बागी उम्मेदवार छन् । ती क्षेत्रमा एकीकृत समाजवादीको अवस्था तुलनात्मक रूपमा कमजोर हुनु र मुख्य गरी कांग्रेसको बलमा जित्नुपर्ने भएकाले बागीले चुनौती थपेका छन् । इलाम–१ मा झलनाथ खनालविरुद्ध विक्रम पाण्डे, उययपुर–२ मा जगन्नाथ खतिवडाविरुद्ध रामकुमार राई, गुल्मी–२ मा रामकुमारी झाँक्रीविरुद्ध दामोदर भुसाल, कास्की–२ मा श्रीनाथ बरालविरुद्ध महादेव गुरुङ, सल्यानमा प्रकाश ज्वालाविरुद्ध रवीन्द्रबहादुर शाह, डोटीमा प्रेमबहादुर आलेविरुद्ध नरेन्द्रबहादुर खड्का र अछाम–१ मा शेरबहादुर कुँवरविरुद्ध राजन कुँवर कांग्रेसका बागी छन् ।

प्रकाशित : कार्तिक ५, २०७९ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?