कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच दलका शीर्ष नेता भन्छन्- 'संविधानको रक्षा गर्न गठबन्धन'

घनश्याम गौतम

रूपन्देही — सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनाव जिताउने तालमेल मात्र नभएर संविधानको रक्षा र परिवर्तनका उपलब्धी जोगाउने अभियान भएको बताएका छन् । प्रतिगामीहरूले अर्को गठबन्धन नै बनाएर संविधान नै खल्बल्याउने प्रयास गरिरहेकाले त्यसविरूद्ध अग्रगामी गठबन्धन बनेको नेताहरूको दाबी छ ।

पाँच दलका शीर्ष नेता भन्छन्- 'संविधानको रक्षा गर्न गठबन्धन'

पाँच दलीय गठबन्धनको लुम्बिनी प्रदेश भेलालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा दलहरुको प्रमुख दायित्व भएकाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरेका छन् । मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने उनले बताए ।

उनले संविधान सिध्याउन खोज्नेहरुले अझै पनि प्रतिगामी गठबन्धन गरेर अघि बढेकाले अझै केही वर्ष गठबन्धन जरुरी भएको बताए । ‘यो गठबन्धन चुनावसम्मका लागि मात्र होइन, धेरै वर्ष रहनुपर्छ,’ उनले भने, ‘यसलाई बचाउने भनेकै आगामी निर्वाचनले हो, त्यसैले गठबन्धनमा शंका उपशंका र यताउता गर्ने छुट कसैलाई छैन ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान क्षतविक्षत गरेर संविधानलाई समाप्त पार्ने प्रयास भएपछि गठबन्धन गरेर अघि बढेको बताए । ‘हामीले जोखिम नउठाएको भए, प्रतिकार नगरेको भए आज संविधान नै क्षतविक्षत हुने थियो, लोकतन्त्र खल्बलिने थियो,’ उनले भने, ‘हामीले त्यही संविधान रक्षा गर्न यो जोखिम मोलेका थियौं । आज यो लोकतान्त्रिक गठबन्धन त्यही जोखिमको निरन्तरता हो ।’

प्रशिक्षण कार्यक्रममा एमाले छोडेर गठबन्धनको समर्थनमा स्वतन्त्रबाट रूपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल पनि उपस्थित थिए । नेता नेपालले भुसाल प्रति ब्यंग्य गर्दै केपी ओलीलाई सुधार्न नसकेपछि अहिले छोडेर गठबन्धनमै आएको बताए । ‘घनश्यामजीले साबुन पानीले धोएर सुधार गर्ने प्रयत्न गर्नुभयो तर सक्नु भएन, उहाँले मात्र होइन कसैले पनि सुधार्न सक्दैन,’ नेता नेपालले भने, ‘त्यो प्रयास मैले र कमरेड प्रचण्डले पहिल्यै गरेका थियौं ।’

प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस पटकको निर्वाचनको विशेष अर्थ र महत्त्व रहेको बताए । दुईतिहाइको सरकार ध्वस्त पारेर देशलाई अराजकता र अस्थिरतातिर धकेल्ने र लोकतन्त्र सिध्याउने प्रयास भएपछि गठबन्धन गर्नुपरेको उनको भनाइ थियो ।

उनले दुईतिहाइ प्राप्त सरकारले देश र जनताको पक्षमा काम गर्न छोडेर सुनियोजित रूपमा भ्रष्टाचार र कोभिडको चरम संक्रमणको बेलामासमेत त्यही कोभिडको उपकरण र औषधिमाथि भ्रष्टाचार गर्न थालेपछि जनताको रक्षा गर्न पनि गठबन्धन बनेको बताए ।

‘भ्रष्टाचार नियन्त्रण गरौं, सुशासन कायम गरौं भन्दा उल्टै हामीलाई काम गर्न दिएनन् भन्ने आरोप लगाइयो,’ दाहालले भने, ‘भ्रष्टाचारको विरोध गर्दा उल्टै सार्वभौम सत्ता नै समाप्त गर्ने प्रयास भएपछि त्यसबाट देश, संविधान र लोकत्न्त्र जोगाउन हामीले यो गठबन्धन बनाएका हौं ।’ पाँच दलीय गठबन्धन नबनेको भए गणतन्त्र उल्टिने निश्चित भएको पनि उनले ठोकुवा गरे ।

‘त्यो खतरा अझै जारी छ,’ दाहालले भने, ‘त्यसैले त्यसलाई परास्त गर्ने मंसिर ४ को निर्वाचनले नै हो ।’ त्यसैले आफूभित्रको हरेक असन्तुष्टिलाई बिर्सेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले अपिल गरे ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो चुनावमा मुलुकमा दुई गठबन्धन होइन अग्रगामी र प्रतिगमन पक्षधरबीचको प्रतिस्पर्धा भएको बताए । ‘हामीले अग्रगमन पक्षधरको नेतृत्व गर्दै लोकतान्त्रिक गठबन्धन गरेका छौं,’ उनले भने, ‘त्यसलाई जिताउन हरेक किसिमका प्रयास गर्नुहोला ।’ गठबन्धन सामान्य तालमेल र सत्ता बनाउनका लागि नभई व्यवस्था बचाउनका लागि भएको उनको दाबी थियो ।

‘त्यसलाई खल्बलिन दिनु हुँदैन । त्यही अनुसार सबै दलले अलिकति घन्चमन्च सहेर भए पनि एकताका साथ अघि बढनु होला,’ पौडेलले भने ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले सहमति, सहकार्य र एकताले नै संविधान जारी भएको उल्लेख गर्दै त्यही संविधानको रक्षाका लागि अहिले पनि पाँच दल सहमति, सहकार्य र एकताका साथ अघि बढेको बताए । ‘गठबन्धनभित्रको आवश्यकता र एकताले नै संविधानको रक्षा गर्नेछ,’ उनले भने, ‘त्यसैले तपाइँहरूको लगनशिलता, क्रियाशिलता र दृढता संविधानको रक्षाका लागि मंसिर ४ गतेको चुनावमा देखिनु जरुरी छ ।’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रेश्मीराज नेपाली, लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष पाण्डेय लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : कार्तिक ४, २०७९ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?