चुनावी मैदानमा चिकित्सक

केहीलाई दलले उम्मेदवार बनाएका छन् भने धेरैजसो स्वतन्त्र उम्मेदवार बनेका छन् 
प्रशान्त माली

काठमाडौँ — संसदीय निर्वाचनमा चिकित्सक पनि उठेका छन् । देशका विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन गराएका चिकित्सकहरू चर्चित नेताहरूसँग प्रतिस्पर्धा गर्दै छन् । केहीले विभिन्न दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका छन् भने केही भने स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।

भरतपुर अस्पतालको अध्यक्षबाट राजीनामा दिएर डा. भोजराज अधिकारी चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रबाट उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धा राप्रपा नेता विक्रम पाण्डेसँग हुने भएको छ । उक्त निर्वाचन क्षेत्रमा अघिल्लो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए । डा. अधिकारी जनताले चुनेर पठाएमा स्वास्थ्यमन्त्री बनेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने इच्छा राख्छन् ।

‘संविधानले स्वास्थ्यलाई मौलिक अधिकार भने पनि व्यवहारमा छैन,’ उनी भन्छन्, ‘शिक्षा, स्वास्थ्य, स्वरोजगार, सामाजिक सुरक्षा सुनिश्चित गर्न मेरो उम्मेदवारी हो ।’ समाजमा स्थापित पेसामा लागेकाहरूले राजनीतिमार्फत पनि देशको बेथिति हटाउन योगदान गर्न सक्छन् भन्ने सन्देश दिन चुनावी मैदानमा आएको उनी बताउँछन् । डा. अधिकारीलाई भने चुनाव सहज छैन । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कोइराला पनि स्वास्थ्य क्षेत्रमा गर्न सकिने मुद्दामा प्रस्ट बोल्छन् । स्वास्थ्य क्षेत्रका मुद्दामा पनि स्पष्ट छन् । ‘जनताले चुनेर पठाएमा स्वास्थ्य, शिक्षा निःशुल्क गर्छौं,’ उनले भने ।

मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार डा. सुनील शर्मा विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक हुन् । उक्त क्षेत्रमा एमालेबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, राप्रपाबाट अभिनेत्री रेखा थापालगायत छन् । शर्मा र ढकाल पुरानै प्रतिद्वन्द्वी हुन् । २०७४ को चुनावमा ढकाल ४२ हजार ४ सय १३ मत ल्याएर निर्वाचित भएका थिए भने शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका थिए ।

त्यस्तै सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यमा डा. फरेन्द्र साहले उम्मेदवारी दिएका छन् । बाल रोग विशेषज्ञ डा. साहले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उनले स्वास्थ्य क्षेत्र सुधार गर्ने उद्देश्यले उम्मेदवारी दिएको जनाएका छन् । ‘नीति निर्माण बनाउने ठाउँसम्म पुग्न राजनीतिबाट मात्र सम्भव छ,’ उनले भने, ‘चुनाव जितेर नीति निर्माण तवरबाट स्वास्थ्य र शिक्षा क्षेत्र आमूल परिवर्तन ल्याउने योजना छ ।’ डा. साहले सुनसरी क्षेत्र नम्बर २ मा एमाले नेता भीम आचार्य र कांग्रेसका सीताराम मेहतासँग प्रतिस्पर्धा गर्नेछन् । आचार्य प्रदेश १ मा पूर्वमुख्यमन्त्री हुन् ।

त्यस्तै डा. तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रतिनिधिसभा सदस्यका लागि ललितपुर–३ बाट उम्मेदवारी दिएकी छन् । घर–घरमा स्वास्थ्यको पहुँच, महिला सशक्तीकरण, घर–घरमा प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यमा उनले उम्मेदवारी दिएको जनाएकी छन् । उनले ललितपुर–३ मा सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता ऊर्जामन्त्री पम्फा भुसाल र एमालेका अमृत खड्का उठेका छन् ।

डा. सुदिन शाक्यले ललितपुर–२, डा. रामप्रसाद उप्रेती काठमाडौं–५ र डा. अर्चनशमशेर राणा काठमाडौं–४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । छाला तथा यौन रोग विशेषज्ञ डा. प्रसन्नकुमार झा जनमत पार्टीबाट धनुषा–३ (१) बाट मधेस प्रदेशसभा उम्मेदवार छन् । प्रतिनिधिसभामा डा. रक्षा न्यौपाने बारा–२, डा. नवीन मण्डल सप्तरी–३, डा. राजेन्द्रप्रसाद साह रौतहट–१, डा. रित्तोद आलम रौतहट–२, डा. मधु गुप्ता पर्सा–३, डा. प्रवीण यादव सिरहा–३ बाट उम्मेदवार छन् । गण्डकी प्रदेशसभाका लागि स्याङ्जा २ (२) बाट एमालेको टिकटमा उठेका डा. बुद्धिमान श्रेष्ठ जितेमा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने दाउमा छन् ।

चिकित्सकहरूको उम्मेदवारीलाई स्वास्थ्य क्षेत्रका विज्ञहरू सकारात्मक ठान्छन् । शिक्षित र समाज बुझेको हुने भएकाले चिकित्सकले राजनीतिमा प्रतिनिधित्व गर्दा जनताको भलो हुने भनाइ उनीहरूको छ । स्वास्थ्यविद् डा. बाबुराम मरासिनी राजनीतिक दलबाट आश्वासन पूरा नहुँदा विभिन्न पेसा र जिम्मेवारीमा रहेकाहरू राजनीतिमा आउन बाध्य बनेको बताउँछन् । ‘डाक्टरको पेसा गरिब र दुःखीको पैरवी गर्ने काम हो । तर, आफ्नो कर्तव्य मात्र पूरा गरेर चाहेजस्तो परिवर्तन सम्भव नभएपछि चुनावी मैदानमा आउन बाध्य बनेका हुन्,’ उनले भने, ‘मुलुकमा चुनावमा उठ्न लायक ५ प्रतिशत पनि छैनन् ।’

त्यस्तै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला चिकित्सकहरू राजनीतिमा आउनुलाई सकारात्मक मान्नुपर्ने बताउँछन् । सरकारी सुविधा र लाभ लिएकाहरूबाहेक हरेकले नागरिक अधिकारका हिसाबले चिकित्सकहरूलाई पनि राजनीतिमा आउन छेकबार नरहेको उनको जिकिर छ । ‘सरकारी जागिर र लाभ लिने पदमा रहेकाले उम्मेदवार बन्न मिल्दैन, त्यस्तो भेटिएमा कारबाही हुन्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक ३, २०७९ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

८९ पालिकामा अझै बनेन प्राथमिक अस्पताल

एक पालिका एक अस्पताल योजनाअन्तर्गत २० पालिकामा मात्र अस्पताल तयार 
अमृता अनमोल

बुटवल — संघीय सरकारले चार वर्षअघि हरेक स्थानीय तहमा एक प्राथमिक अस्पताल बनाउने योजना ल्याएको थियो । तर, लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये अहिलेसम्म ८९ वटाले अस्पताल नबनाएको प्रदेश सरकारको तथ्यांक छ ।

कतिपयमा जनप्रतिनिधिबीच अस्पताल कहाँ बनाउने भन्नेबारेको विवाद छ भने कतिपयमा अपनत्व नलिंदा काम अगाडि बढेको छैन । यसले नजिक अस्पताल नभएका पहाडी जिल्लाका ग्रामीण क्षेत्रबासी सामान्य उपचारका लागि पनि टाढाटाढा जानुपर्ने बाध्यता छ ।

‘अस्पताल बन्छ भनेर भाषण सुनेको धेरै भयो तर बनेन,’ प्यूठान बाग्दुलाकी सीता सुनारले भनिन्, ‘नजिकमा अस्पताल छैन । सानोतिनो बिमार लुकाएरै बस्नुपर्छ ।’ लुम्बिनी प्रदेशमा पछिल्लो समय स्वास्थ्य उपचारका नयाँ–नयाँ प्रविधि सुरु भएका छन् । अस्पतालहरूको संख्या बढेसँगै नागरिकको पहुँच पनि बढ्दो छ ।

तर, ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी खोलिएका अस्पताल पूरा नहुँदा उनीहरूले फरकपन महसुस गर्न पाएका छैनन् । प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले एउटा सरकारले सुरु गरेका योजनामा अर्कोले आवश्यक समन्वय गर्ने र अपनत्व लिने नगर्दा स्वास्थ्य क्षेत्रमा अपेक्षित सफलता प्राप्त नभएको बताए ।

लुम्बिनी प्रदेश मातहतमा १३ वटा अस्पताल र १३ वटा आयुर्वेद चिकित्सालय छन् । तिनका लागि प्रदेश सरकारले बर्सेनि करिब ४ अर्ब रुपैयाँ विनियोजन गर्दै आएको छ ।

प्रदेश सरकारले स्वास्थ्य नीति, २०७६ बनाएर त्यस अनुसार क्रियाकलाप गरिरहेको छ । प्रदेश मातहतका अस्पतालमा पूर्वाधार विकास र उपकरण थपिरहेको छ । यद्यपि, अस्पतालहरूमा ५४ प्रतिशत दरबन्दी रिक्त छ । अर्थात् १ हजार २ सय ४९ जनामध्ये ६ सय ७६ को स्थायी पदपूर्ति हुन सकेको छैन ।

विज्ञ जनशक्ति एक व्यक्ति बराबर १ लाख ४ हजार ७ सय ९, एक नर्स बराबर ३ हजार ५ सय ३९ जना, मेडिकल अधिकृत एक जनाले ५४ हजार ६ सय २५ जना, पारामेडिक्स एक जनाले २ हजार ६ सय ८ जना बिरामी हेर्नुपर्ने बाध्यता छ । स्वास्थ्य निर्देशक विनोदराज गिरीले चिकित्सक भर्नाको लोकसेवा आयोग नखोलिंदा पहाडि जिल्लाका स्वास्थ्य संस्थामा विज्ञ चिकित्सक पठाउन समस्या भएको बताए ।

‘मुलुक संघीयतामा गयो । स्वास्थ्य संस्था बढे । चिकित्सकहरू संघ र प्रदेशमा बाँडिए,’ उनले भने, ‘तर, स्वास्थ्य संस्था र तिनमा सेवा बढेसरह चिकित्सक बढाउने काममा ध्यान गएको देखिंदैन ।’ यसले छिटोछरितो सेवा प्रवाहमा समेत समस्या भएको निर्देशक गिरीले बताए ।

प्रदेश तथा संघ मातहतका अस्पतालमा गरी लुम्बिनीमा १ हजार ५ सय ३० शय्या छन् । पूर्वाधार अभावले कतिपय अस्पतालमा भएका उपकरण पनि चलाउन सक्ने अवस्था छैन ।

कोभिडको संक्रमणका बेला ल्याइएका आईसीयू, एचडीयूलगायत उपचारका धेरै पद्धति र उपकरण कतिपय अस्पतलाले अझै उपयोगमा ल्याएका छैनन् । पूर्वाधार हुनेमा जनशक्ति नहुँदा र जनशक्ति हुनेमा पूर्वाधार नहुँदा पनि अप्ठ्यारो भएको निर्देशक गिरीले बताए ।

संघीय सरकार मातहतका तीन अस्पतालका लागि पनि सरकारले बर्सेनि करिब १ अर्ब बजेट उपलब्ध गराउने गरेको छ । तर पनि जनशक्ति तथा उपकरण अभावमा सर्वसाधारण निजीमै जानुपर्ने बाध्यता छ ।

संघ मातहतका अस्पतालको बेहाल

संघीय सरकार मातहतका भेरी अस्पताल, राप्ती विज्ञान प्रतिष्ठान, खजुरा क्यान्सर अस्पतालमा पनि पछिल्ला वर्षमा उपचार सेवा र भौतिक पूर्वाधार सुधारिएको छैन । संघीय सरकारले बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज खोल्ने प्रक्रिया थाले पनि काम सुरु भएको छैन ।

नगरस्तरका सबै वडामा सहरी स्वास्थ्य केन्द्र बनाउने अभियान धेरै नगरमा पुग्न सकेको छैन । स्थानीय तह मातहतका प्राथमिक स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा उपकरण र सेवा थपिएका छन् ।

तर, जनशक्ति अभावले उपचार सेवा प्रभावकारी बन्न सकेको छैन । जनशक्ति नहुँदा कतै सहयोगी त कतै कनिष्ठ स्वास्थ्यकर्मीका भरमा स्वास्थ्य संस्था चलाउनु परेको छ । सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य प्रमुख मुन्सीप्रसाद माझीले जनशक्ति नथपिंदा उपचार सेवा थपिए पनि सेवा दिन नसकेको बताए ।

प्रदेशमा सरकारी स्तरका विशिष्टीकृत अस्पतालको अभाव

प्रदेशको रुकुमपूर्व बाहेकका १२ जिल्लामध्ये ११ जिल्लामा शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालन भएको छ । संस्थागत सुत्केरी ९१ र दक्ष प्रसूतिकर्मीबाट सुत्केरी हुने ८७ प्रतिशत छन् । यद्यपि, मातृशिशु मृत्युदर लुम्बिनी प्रदेशमा देशको भन्दा बढी छ ।

नवजात शिशु मृत्युदर प्रतिहजार जीवितमा ३०, शिशुमृत्युदर प्रतिहजार जीवितमा ४२ जना पाँच वर्षमुनिका प्रतिहजारमा ४५ जनाको मृत्यु हुने गरेको छ । पछिल्लो समय सुरक्षित सुत्केरीका लागि ग्रामीण क्षेत्रका घरघरमा पुगेर गर्भवती र सुत्केरीको परीक्षण गर्न पछिल्लो समय अल्ट्रासाउन्ड तालिम प्राप्त नर्स खटाइएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बिरामीलाई आकस्मिक सेवा दिन आफूमातहत १ सय २० वटा एम्बुलेन्स सञ्चालन गरेको छ । १२ वटै जिल्ला कोभिडविरुद्ध पूर्ण खोप घोषणा जिल्ला बनेका छन् । निजीतर्फ रूपन्देही र बाँके स्वास्थ्य उपचारका लागि हब बन्दै गएका छन् ।

प्रदेशभर निजी र सामुदायिक स्तरका १ सय २५ अस्पताल छन् । सरकारी अस्पतालबाट रेफर भएका धेरै बिरामी त्यतै जान्छन् । तर, प्रदेशमा सरकारी स्तरका विशिष्टीकृत अस्पताल छैनन् । यसले कतिपय नागरिक अझै पनि उपचारका लागि प्रदेशबाहिर जान बाध्य छन् ।

‘प्रदेशमा सरकारी स्तरका छुट्टै ट्रमा, महिला, बालबालिका, प्रसूति, मुटु, क्यान्सर, मानसिक रोगलगायतका अस्पतालको खाँचो छ,’ लुम्बिनी प्रादेशिक अस्पतालका पूर्वअध्यक्ष सूर्यप्रसाद भट्टराईले भने, ‘सस्तो र सहज रूपमा सर्वसाधारणले उपचार गर्न पाउने वातावरण बनाउनुपर्छ । उपचारमा अन्त जानुपर्ने बाध्यता पनि घट्छ ।’

प्रकाशित : कार्तिक ३, २०७९ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×