२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

नारायणकाजीको टिप्पणी- 'कहिलेकाहीँ कांग्रेस एउटा हैन, ३ पार्टीजस्तो लाग्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा निर्वाचन क्षेत्र नं २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने दाबी गरेका छन् ।

नारायणकाजीको टिप्पणी- 'कहिलेकाहीँ कांग्रेस एउटा हैन, ३ पार्टीजस्तो लाग्छ'

बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा उनले गोरखा २ मा अध्यक्ष दाहालको जित सुनिश्चित भएको दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उनी एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसैमा डुबिरहने संसद्‍वादको मान्यतालाई लागू नगर्न हरेक निर्वाचनमा फरकफरक क्षेत्रबाट उठेको पनि बताए । अध्यक्ष दाहाल युवा अवस्थामा गोरखामा शिक्षण पेसामा आवद्ध भएको, जनयुद्ध सुरु गर्ने पहल गोरखाबाटै भएको, नेपालको एकीकरण गर्ने थलो गोरखा भएको लगायत विभिन्न भावनात्मक कारणले दाहाल गोरखाबाट उम्मेदवार बनेको पनि उनले बताए ।

त्यस्तै समृद्धि र समाजवादको मोडेल तयार गर्ने उपयुक्त थलो गोरखा भएकाले अध्यक्ष दाहालले गोरखा रोजेको पनि उनको भनाइ छ । ‘नेपालको राजनीतिमा प्रचण्ड मात्रै त्यस्तो नेता हुनुहुन्छ, जसले पुँजीवादी संसदवादको एउटा मान्यता कि एउटै निर्वाचन क्षेत्र बनाउने र त्यहीँ डुबिरहने । त्यसलाई व्यवहारमा लागू नगर्ने । त्यो बाटो नहिँड्ने एउटै मात्र नेता हुनुहुन्छ प्रचण्ड । उहाँ काठमाडौं, सिरहा, काठमाडौं चितवन लड्नुभयो । संसदवादको दलदलबाट माथि उठ्नको लागि एउटै निर्वाचन क्षेत्रमा केन्द्रित नहुने सोचको साथ उहाँ बाहिर जान चाहनुहुन्थ्यो । त्यस अन्तर्गत अहिले गोरखा जानुभएको छ । अब हाम्रो अहिलेको कार्यभार सामाजिक न्यायसहितको समृद्धि हो भने त्यो समृद्धिको मोडेल र समाजवादको मोडेल तयार गर्ने ठाउँको उपयुक्तता पनि गोरखामा नै छ भनेर गोरखाबाट समाजवादी क्रान्तिको नयाँ मोडेलको सुरुवात गर्नको निम्ति, समाजवादको भ्रुण तयार गर्नका निम्ति, समाजवादको नमुना थलो तयार गर्नका निम्ति उहाँले गोरखा छान्नुभयो,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।

यस्तै उनले अध्यक्ष दाहालसँग असाधारण एकतामा रहेको भन्दै पार्टीभित्र रहेका गुट उपगुट अन्त्यको प्रयास गरेको बताए । यसका लागि वरिष्ठ नेताहरूसँग बहस गरिरहेको नेता श्रेष्ठले बताए ।

नेता श्रेष्ठले भनेका छन्, 'जति गुट, उपगुट छन् ती पनि हामी अन्त्य गर्न सबै सिनियर कमरेडसँग बहस गर्दैछौं । नत्र कसरी पार्टी बन्छ ? मेरो पनि नेता, तपाइँहरू सबैको नेता अहिले अध्यक्ष प्रचण्ड नै हो । त्यहीँ केन्द्रीत र एकीकृत हुने हो । तर अध्यक्ष प्रचण्डलाई नेता मान्न वरिष्ठ उपाध्यक्षको विरोध गर्नुपर्छ भन्ने प्रवृत्ति पनि घातक हो । अध्यक्ष मूल नेता हो । अध्यक्षपछिको नेता वरिष्ठ उपाध्यक्ष नै हो । दुइवटा नेतृत्व मिलेर पदाधिकारीहरू एकतावद्ध गरेर, स्थायी कमिटी पनि एकतावद्ध भएर यो पार्टीलाई रुपान्तरण र पुनर्गठन गरिन्छ ।’

श्रेष्ठले विगतमा एमसीसी पारित नगर्न सघाउने सर्तमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीले प्रधानमन्त्री बनाउन तयार रहेको दाबीसमेत गरेका थिए । उनले ओलीलाई प्रधानमन्त्री र चुनावी तालमेलको प्रस्तावसहित एमसीसी पारित नगर्न प्रस्ताव गरेको भए पनि ओलीले सो प्रस्ताव अस्वीकार गरेको उनले बताए । चुनावमा वाम तालमेलको प्रस्ताव पनि ओलीबाट अस्वीकार भएको श्रेष्ठले बताए ।

‘अध्यक्षको नेतृत्वमा हामी त्यतिखेर एमसीसी पारित नहुँदा नेकपा (एमाले) का केपी ओली सहितको टोलीसँग वार्ता गर्न गयौं । हामीले नै प्रस्ताव राख्यौं त्यतिखेर तपाइँहरू एमसीसी असफल गर्न साथ दिनुहोस् हामीलाई । हामीले भन्यौं यो धेरै संवेदनशील मुद्दा हो एमसीसी भन्ने हामीलाई लाग्छ । यो शुद्ध आर्थिक सहयोगको परियोजना मात्रै होइन । त्यसकारणले यो एमसीसीलाई असफल पारौं । हिजो तपाइँहरूले जेसुकै भनेको भए पनि अब राष्ट्रियताको मुद्दामा फेरि मिलौं । एमसीसीलाई असफल पार्न साथ दिनुहोस् । त्यसपछि यो गठबन्धन टुट्छ । तपाइँ नै प्रधानमन्त्री हुनुस् । चुनावमा फेरि वाम तालमेल गरेर जाऔं भनेकै हो । तर त्यतिखेर केपी ओलीले फेरि एमसीसी ? के राष्ट्रघात ? भनेर भन्नुभयो । र हाम्रो प्रस्तावलाई अस्वीकार गर्नुभयो,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भनेका छन् ।

यस क्रममा उनले चार पार्टीको गठबन्धन भए पनि नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गरेका थिए । कांग्रेसभित्र शेरबहादुर देउवा बाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको उनले बताएका थिए ।

गठबन्धनको सीमा र जटिलता रहेको भन्दै उनले गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको स्वीकार गरेका थिए । यद्यपि सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद् भएको उनको भनाइ छ । नेता श्रेष्ठले भनेका छन्, ‘यो गठबन्धनको आफ्नै सीमा र जटिलता छन् । कसले बुझेको छैन र ? कांग्रेस कांग्रेस नै हो । हामी क्रान्तिकारी कम्युनिस्ट हौं । कम्युनिस्टभित्रै पनि संघीयता विरोधी शक्तिहरू पनि हुनुहुन्छ । हाम्रो विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम सबै मिलेको मोर्चा त होइन नि त्यो । संविधान विरोधी प्रतिगामी कदमलाई असफल पार्न जम्मा भएका शक्तिहरू अहिलेको परिस्थितिको कारणले संविधान र लोकतन्त्रको रक्षाको आवश्यकता अहिल्यै पनि महसुस भएर एकतावद्ध भएर जानुपरेको स्थिति छ । त्यही गठबन्धन अहिले पनि निर्वाचनमा जाँदैछ । कहिलेकाहीँ यो चार पार्टीको अहिलेको गठबन्धन चार पार्टी होइन ६ पार्टीजस्तो लाग्छ हामीलाई । चुनावको सिट तालमेलको बारेमा महिनौँ छलफल गर्नुपर्‍यो । छलफलबाट सहमति गरेको पनि कतिपय लागू गर्न समस्या पर्‍यो । किनभने कांग्रेस एउटा पार्टी होइन कहिलेकाहीँ हामीलाई तीनवटा पार्टी जस्तो लाग्छ । त्यसकारण ६ पार्टीसँग वार्ता हुन्छ क्या हाम्रो त्यहाँ । शेरबहादुरजी भन्नुहुन्छ कहिलेकाहीँ मैले भनेर हुन्न क्या यो रामचन्द्रजीलाई भन्नुपर्छ । त्यसपछि अर्कोपटक आउँछ । यो शेखर र गगनलाई भन्नुपर्छ क्या उहाँहरूसँग कुरा गर्नुस् भन्छ । एउटा पार्टीसँग कुरा गरेर धर छैन कांग्रेसलाई । तैपनि खुसीको कुरा के भने अन्ततः आधारभूत रुपमा तालमेलको सिट बाँडफाँटमा र अहिले निर्वाचनमा विजय अभियानमा अगाडि बढ्ने कुरा मुलभूतरुपमा सहमति हासिल गर्न सफल भइएको छ ।’

प्रकाशित : कार्तिक २, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?