
काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरू आइतबार गठबन्धनको पहिलो चुनावी सभामा सहभागी भए । काठमाडौं क्षेत्र नं. २ मा गठबन्धनले गरेको सभामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरे ।

गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको भन्दै संविधानको रक्षा, विकास र आर्थिक समृद्धिका लागि देशभर गठबन्धनलाई जिताउनुपर्ने नेताहरूको जोड थियो ।
रोचक त के भने गठबन्धनको पहिलो चुनावी सभामा बोलेका माओवादी केन्द्रका अध्यक्ष दाहाल र समाजवादीका अध्यक्ष नेपालले सम्बोधन गर्दा ‘लाल सलाम’ सँगै ‘जय नेपाल’ भनेर सम्बोधन सुरू गरे । प्रधानमन्त्री देउवाले भने सम्बोधनमा अभिवादन गरेनन्, बरू दाहाललाई हँसिया हथौडा र नेपाललाई कलम चुनाव चिन्ह भनेर चिनाए ।
सभामा बोल्दै देउवा, दाहाल र नेपालले सत्ता गठबन्धन र सरकारको गुणगान त गाए नै, तर त्योभन्दा धेरै यहाँबाट उम्मेदवार बनेकी ओनसरी घर्तीलाई जिताउन आग्रह गरे, उनको प्रशंसा गरे, मन्त्री बनाउने वचन समेत दिए । नेताहरूको बोलीमा रोल्पाबाट काठमाडौं आएर उम्मेदवारी दिएकी घर्तीलाई जिताउन जोडबल प्रष्टै झल्किन्थ्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेका थिए । ‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ । उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो,’ देउवाले भने, ‘मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो ।’
देउवाले घर्तीले माओवादी केन्द्रबाट निर्वाचित भएपनि कहिल्यै पार्टीको आशीर्वाद नखोजेको चर्चा गरे । राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्ने गरेको भन्दै देउवाले घर्तीलाई भारी मत दिएर जिताउन अपिल समेत गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने काठमाडौं–२ गठबन्धनको जितको लागि आफूहरूको उपस्थिति नै महत्वपूर्ण रहेको बताए । ‘प्रधानमन्त्री र हामी पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताहरू हामी यहाँ आइपुगेका छौँ, यो हाम्रो उपस्थिति मात्रै होइन, आगामी निर्वाचनकोलागि गठबन्धन गरिसकेपछिको यो पहिलो कार्यक्रम हो,’ उनले भने, ‘यसलाई महत्वका साथ बुझ्न आग्रह गर्दछु ।’
उनले ओनसरीलाई जिताएर पठाउन आग्रह गर्दै उनलाई मन्त्री बनाउने प्रतिवद्धता समेत जनाए । ‘तपाईहरू निर्धक्कसँग उहाँलाई मत दिनुस् । उहाँले जे प्रतिवद्धता जनाउनुहुन्छ, त्यो पूरा गर्नुहुन्छ । उहाँलाई जिताएर पठाउनुस्, राम्रो विकासेमन्त्री बनाएर काम गर्ने मौका म दिलाउँछु,’ दाहालले भने ।
कांग्रेसका नेता कार्यकर्ताले हँसिया हथौडामा मत नदिने भनेर टिप्पणी गरेकाप्रति दाहालले अर्को टिप्पणी गरे ।
‘हँसिया हथौडाले रुखमा कसरी भोट हाल्ने ? रुखले हँसिया हथौडामा कसरी भोट हाल्ने ? अहिले यस्तो आग्रह–पुर्वाग्रह हुने गरेको कुरा सुनेको छु । तर यो अर्थहीन छ,’ दाहालले अघि भने, ‘म तपाईहरूलाई स्मरण गराउन चाहान्छु कि हामीले धेरै पहिले नै रुख र हँसिया हथौडालाई एक बनाइसकेका हौँ । जति बेला हामीले शान्ति सम्झौता गर्यौँ, त्यो बेला सात दलको तर्फबाट कांग्रेसबका सभापति गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेको थिएँ । त्यो भनेकै मैले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो ।’
गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि यसपटक काठमाडौं–२ ले झन् योग्य उम्मेदवार पाएको बताए । ‘देशको सभामुख भइसकेको ओनसरीजी यहाँबाट तपाईहरूको उम्मेदवार हुनुहुन्छ । उहाँले यहाँबाट चुनाव लड्नु र जनप्रतिनिधि बन्छु भन्नु आफैँमा गौरवको विषय हो,’ नेपालले भने ।
सभामा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार घर्तीले जोरपाटी–साँखु सडकखण्ड आफू निर्वाचित भएपछि दुईवर्षभित्र कालोपत्रे नभए पदबाट राजीनामा दिने घोषणा गरिन् ।
उनले साँखु बजार र शालीनदीको पर्यटकीय विकासमा ध्यान दिने घोषणा गरिन् । ‘दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउनेछु, व्यवसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ,’ घर्तीले भनिन् ।
उनले मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको कामसमेत छिट्टै सम्पन्न गराउने बताइन् ।
काठमाडौं–२ मा प्रदेशसभातर्फ भने क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका ध्रुव केसी र क्षेत्र नं. २ मा नेकपा एकीकृत समाजवादीका भरतप्रसाद फुयाल उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेले यो क्षेत्रबाट मणिराम फुयाललाई उम्मेदवार बनाएको छ ।