कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

सर्लाही- १ मा एमाले, कांग्रेस र माओवादी केन्द्रको छुट्टै गठबन्धन

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्लाही- १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताहरूले केन्द्रको गठबन्धनविरुद्ध संयुक्त प्यानल बनाएका छन् । स्थानीय नेताहरूले लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका छन् । खड्का एमालेका नेता हुन् । प्यानलबाट प्रदेशसभातर्फ  ‘क’ मा माओवादी केन्द्रमा रामचन्द्रसिंह कुशवाहा र  ‘ख’मा कांग्रेसका राजन श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

सर्लाही- १ मा एमाले, कांग्रेस र माओवादी केन्द्रको छुट्टै गठबन्धन

‘प्रमुख सबै राजनीतिक दल स्थानीय कमिटीको सहमतिमा हामीले उम्मेदवारी दिएका छौं,’ खड्काले ईकान्तिपुरसित भने, ‘केन्द्रमा बसेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू माथि ठालु पल्टिने र तल्लो तहको संगठनलाई कुनै पनि वास्ता नगर्ने भएकाले सबै पार्टीको नेतृत्व हुने गरी पार्टीहरूलाई चुनौतीको रुपमा मेरो उम्मेदवारी हो । यो सामुहिक विद्रोह हो ।’

निर्वाचन क्षेत्रको सबै पक्षमा समर्थन रहेकाले मंसिर ४ गते हुने चुनावमा सहज रुपमा जित्ने दाबी खड्काले गरे । खड्का २०७४ सालमा एमालेको तर्फबाट लालबन्दी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । श्रेष्ठ कांग्रेसको नगर कमिटीका सदस्य हुन् भने कुशवाहा प्रदेश कमिटीका सदस्य हुन् ।

केन्द्रमा भएको सहमतिअनुसार सत्तारुढ गठबन्धनको प्रतिनिधिसभा लोकतान्त्रिक सामजावादी पार्टी (लोसपा) र विपक्षी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा)को भागमा उक्त क्षेत्र परेको छ । त्यसैगरी प्रदेशसभाको ‘क’ नेपाली कांग्रेस र ‘ख’ नेकपा एकीकृत समाजवादीको भागमा परेको छ, जसमा प्रतिनिधिसभामा लोसपाका रामप्रकाश चौधरी उम्मेदवार बनेका छन् ।

त्यसैगरी जसपाले निर्वतमान सांसद प्रमोद साहलाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ सत्तारुढ गठबन्धनको तर्फबाट ‘क’ मा कांग्रेसका उपेन्द्र महतो र ‘ख’ मा एकीकृत समाजवादीकी निवर्तमान प्रदेशसभा सांसद बेची लुंगेली उम्मेदवार रहेका छन् ।

विपक्षी गठबन्धनको तर्फबाट प्रदेशसभा ‘क’ बाट किशुनदेव राय र ‘ख’ बाट शान्तिकुमारी लामा उम्मेदवार रहेका छन् । उनीहरू दुवै जना एमालेका उम्मेदवार हुन् ।

प्रकाशित : आश्विन २४, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?