कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पाँचदलीय सत्तारुढ गठबन्धन हो, जसपा-एमालेको चुनावी तालमेल : मन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारमा को रहने र को बाहिरिने भन्नेबारे निर्णय लिने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई रहेको बताएका छन् । उनले जसपाले सत्तारुढ गठबन्धन छाडेर एमालेसँग गठबन्धन नगरेको दाबी गरेका छन् ।

पाँचदलीय सत्तारुढ गठबन्धन हो, जसपा-एमालेको चुनावी तालमेल : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले पाँचदलीय सत्तारुढ गठबन्धन कायम रहेको र जसपाले केही निर्वाचन क्षेत्रमा एमालेसँग चुनावी तालमेल गरेको हुनाले सरकारबाट आफूहरू बाहिरिन आवश्यक नभएको बताए । सोमबार ईकान्तिपुरसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सरकार गठनका क्रममा भएको न्यूनतम साझा कार्यक्रमको जगमा जसपा सरकारमा सहभागी रहेको बताए ।

'हाम्रो प्रधानमन्त्री शेरबहादुरजीसँग कुनै मतभिन्नता भएको होइन । गठबन्धन छोडेको घोषणा गरेको पनि होइन । सरकार त्यतिबेला विघटनपछि संसद् र संविधान जोगाउनका लागि गरिएको सहमतिअनुसार गठन भएको हो । त्यसको आफ्नै न्यूनतम साझा कार्यक्रम छ,' उनले भने, 'हामीले आधिकारिक रूपमा गठबन्धनबाट निस्किएको घोषणा गरेका छैनौं, उहाँहरूले निस्किनुस् पनि भन्नुभएको छैन ।'

एमाले उम्मेदवार भएका विभिन्न ३५ निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवार नउठाउने सहमति भएको थियो । त्यस्तै, जसपाले उम्मेदवार उठाउने १७ निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार नहुने एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमति भएको थियो । असोज २१ मा भएको उक्त सहमतिमा बाँकी निर्वाचन क्षेत्रमा दुवै पार्टीले उम्मेदवार उठाउन सक्ने र निर्वाचनपछि पनि सहकार्य निरन्तर रहने उल्लेख छ ।

ओली र यादवबीच भएको उक्त सहमतिलाई मन्त्री श्रेष्ठले 'भोट आदानप्रदान गर्ने सम्झौता' भएकाले सत्तारुढ गठबन्धनबाट जसपा बाहिरिएको भन्न नमिल्ने बताए । 'ओलीसँग भएको गठबन्धन ७७ जिल्लामध्ये १२ मा मात्रै भएको छ । सबैमा सिट तालमेल पनि हुन सकेन । यो त भोट आदानप्रदान गर्ने मात्रै हो, गठबन्धन होइन,' उनले भने ।

मन्त्री श्रेष्ठले सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद् पुनर्गठन हुन नसक्ने भएकाले आफूहरू पदमा रहने बताए । उनले प्रधानमन्त्री देउवाले कुनै कदम नलिएको अवस्थामा पदमा रहने बताए । 'सर्वोच्च अदालतको आदेशले पनि चुनाव घोषणा भएपछि सरकार काम चलाउ हुन्छ र काम चलाउ सरकारले केही महत्त्वपूर्ण निर्णय गर्न पाउँदैन र मन्त्रिपरिषद्समेत पुनर्गठन गर्न नपाउने भनेको छ । यो विषयमा पार्टीभित्र र सरकारको नेतृत्वसँग पनि कुराकानी भएको छैन,' उनले भने, 'सरकारको सन्दर्भमा प्रधानमन्त्रीले के गर्नुहुन्छ भन्ने नै हो । उहाँले भनेको काम मन्त्रीले गर्नैपर्छ ।'

२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि सरकारमा रहेको माओवादीले तत्कालीन प्रतिपक्ष एमालेसँग गठबन्धन गरेको थियो । पार्टी एकताका लागि र एउटै चुनावी घोषणापत्रमा अगाडि बढेपछि त्यतिबेला प्रधानमन्त्री देउवाले माओवादीबाट मन्त्री भएकाहरूको विभाग खोसेका थिए ।

सरकारमा सहभागी जसपाका नेता उम्मेदवार भएकामध्ये वन तथा वातावरणमन्त्री प्रदीप यादवको क्षेत्रमा एमालेसँग तालमेल भएको छ भने सामान्य प्रशासनमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईको निर्वाचन क्षेत्रमा तालमेल भएको छैन । श्रेष्ठ काठमाडौं- ७ र राई बाँके- २ बाट उम्मेदवार छन् । जसपाबाट कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव भने राष्ट्रिय सभा सदस्य छन् ।

प्रकाशित : आश्विन २४, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?