३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५९

सोमबारसम्म वर्षाको सम्भावना

कान्तिपुर संवाददाता

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ । हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाउँदै विभागले असोज २४ गतेसम्मको मौसम पूर्वानुमान गरेको छ । विभागको पूर्वानुमानअनुसार लुम्बिनी,कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ ।

सोमबारसम्म वर्षाको सम्भावना

हाल प्रदेश नम्बर १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । शनिबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागको प्रक्षेपण छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्वारा जारी सूचनामा उल्लेख छ । सोमबार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोमबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सुदूरपश्चिम र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । ती क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको जनाइएको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने, कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

प्रकाशित : आश्विन २२, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?