कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीसँग फरक मत राख्ने नेता दण्डित

मणि दाहाल

काठमाडौँ — फेरि एक पटक सिंगो देशको नेतृत्व गर्ने योजनामा अघि बढेको एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको छ ।

ओलीसँग फरक मत राख्ने नेता दण्डित

राप्रपालाई सिट छाड्ने मात्र होइन, विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरूलाई टिकट दिए पनि अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरूसहित थुप्रै अनुभवीलाई भने प्रतिनिधिसभा उम्मेदवारीबाट वञ्चित गरिएको छ । एमालेले पूर्वउपाध्यक्ष भीम रावल, पूर्वउपमहासचिव घनश्याम भुसालसहित १४ जनाको टिकट काटिएको छ । १० बुँदे सहमति गर्दै पुरानो विवाद बिर्सन तयार भएका नेताहरूको पनि बफादारिता परीक्षण गरेर मात्र टिकट वितरण भएको छ ।

अछाम–१ बाट एकल सिफारिस भएका पूर्वउपाध्यक्ष रावलको नाम नेतृत्वले काटेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोरा यो क्षेत्रबाट उम्मेदवार हुने भएका छन् । १० बुँदे सहमतिको पहल गरेका रावलले एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए ।

अघिल्लो पटक भुसाल निर्वाचित रूपन्देही–३ यसपालि भने एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ । शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई दलबीच भएको वार्तामा रूपन्देही–३ सहित तीनवटा निर्वाचन क्षेत्र राप्रपालाई दिने टुंगो लागेको छ । राप्रपाले रूपन्देहीबाट दीपक बोहोरालाई उम्मेदवार बनाउनेछ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए । रूपन्देहीबाहेक झापा–३ र बाँके–२ पनि राप्रपाले पाउने भएको छ । झापा–३ बाट अध्यक्ष लिङ्देन र बाँके–२ मा धवलशमशेर राणा चुनाव उठ्ने तयारीमा छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सिट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो ।

ओलीले प्रतिनिधिसभा विघटन गर्दा विरोध गरेका अन्य नेताहरूको पनि टिकट काटिएको छ । सिन्धुली–१ बाट गणेश पहाडी, कञ्चनपुर–३ बाट दीपकप्रकाश भट्ट, झापा–२ बाट पवित्रा निरौला खरेल, दैलेख–२ बाट राजबहादुर बुढासहितका निवर्तमान सांसदहरूको टिकट काटिएको छ । उनीहरू आआफ्नो निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका थिए । पहाडीले लगातार दुई पटक जितेको सिन्धुली–१ मा प्रदीप कटवाललाई उम्मेदवार बनाइएको छ । कञ्चनपुर–३ मा नीरुदेवी पाल, झापा–२ मा देवराज घिमिरे र दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाइएको छ ।

अध्यक्ष ओलीलाई साथ दिँदै आएका कतिपय नेताहरू पनि यसपालि पछि परेका छन् । दोलखाबाट पूर्वमन्त्री पार्वत गुरुङको सट्टा व्यापारी बालकृष्ण सिवाकोटीले टिकट पाएका छन् । मकवानपुर–१ का कृष्णप्रसाद दाहाल, पाल्पा–१ का दलबहादुर राना, बाँके–३ का नन्दलाल रोकाया, सुर्खेत–२ का नवराज रावत, म्याग्दीका भूपेन्द्र थापा, बझाङका भैरवबहादुर सिंह, बाजुराका लालबहादुर थापाले पनि उम्मेदवारी पाएनन् । बाजुरामा कर्णबहादुर थापा, बझाङमा अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरलाई उम्मेदवार बनाइएको छ । एमालेले प्रदेशसभाको उम्मेदवार सूची औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

प्रकाशित : आश्विन २२, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?