कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियाको सदरमुकाममा बाढी पस्यो, ५० बढी घर विस्थापित

कमल पन्थी

(बर्दिया) — मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीका कारण सदरमुकाम गुलरिया—५ वालापुर डुबानमा परेको छ । बिहान साढे ११ बजेसम्म करिब ५० घर डुबानमा परिसकेका छन् ।

बर्दियाको सदरमुकाममा बाढी पस्यो, ५० बढी घर विस्थापित

बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन् । डुबान बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर उद्दार कार्य भैरहेको छ । बाढी थप दर्जनौं घरमा पस्ने क्रममा छ । बबईको जलस्तर हाल ७ दशमलव ५ मिटरमाथि रहेको छ । बबईमा जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको मानिन्छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढीसँगै कटानले गुलरियाको प्रयागपुर, वालापुर र हरियाली टोलमा कटान भइरहेको बताए । कटान क्षेत्रबाट सुहेलवा, वालापुरबाट बाढी पसेको छ,’ उनले भने, ‘जलस्तर बढिरहेकोले बाढीको खतरा टरेको छैन । बाढीको पानी पसेर धानखेत डुबानमा पर्दै गइरहेका छन् । तटीय क्षेत्रका बासिन्दा त्रासले घरका सामान सारिरहेका छन् ।’



पानी लगातार परिरहेकोले साँझसम्म बाढीले थप क्षति पर्‍याउने जोखिम बढेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी जहरसिंह बुढामगरले बताए । धनजनको क्षति नहोस् भन्दै थप सुरक्षा बल त्यहाँ परिचालन गरिएको उनले जनाए ।

बबई नदीमा खतराको चिन्हमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेका छन् । जल तथा मौसम पूर्वनुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधरणलाई सजक रहन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

तटीय क्षेत्रका पालिकास्थित वडा अध्यक्षसँग सम्पर्क गरेर सतर्कता रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरेको प्रजिअ बास्तोलाले जनाए ।



तस्बिरहरु : कमल पन्थी/कान्तिपुर

प्रकाशित : आश्विन २०, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?